कपिलवस्तुको एउटा घरबाट नगद र गरगहना गरी २५ लाख बराबरको चोरी गरेको आरोपमा दाङका एक युवक पक्राउ परेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका – ५ प्रगति टोलका दीपक न्यौपानेको घरमा साउन ६ गते बिहान ३ बजेतिर नगद र सुनका गरहगना गरी २५ लाख बराबरको धनमाल चोरी भएको थियो ।
घटना अनुसन्धानका क्रममा दाङको लमही नगरपालिका – ४ अर्नवाका ३२ वर्षीय टोपेन्द्रसिंह ठकुरी पक्राउ परेको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रितेन्द्रकुमार सिंहले बताए।
संकित व्यक्तिहरूले हुलियाको आधारमा खोज तलास गर्ने क्रममा ठकुरी पक्राउ परेका हुन्। यो चोरीको घटना अनुसन्धानमा विभिन्न प्रविधिको प्रयोग गरिएको डिएसपी सिंहले बताए।
आरोपित ठकुरी कपिलवस्तुको शिवराज नगरपालिका – १ बनकट्टाबाट साउन ८ गते पक्राउ परेको प्रहरी प्रवक्ता सिंहले बताए ।
कपिलबस्तुको शिवराज नगरपालिका – ५ प्रगति टोलका दीपक न्यौपानेको घरबाट चोरी भएका विभिन्न सुनका गरगहना ठकुरीको लमही – ४ अर्नवास्थित घरमा लुकाइ छिपाइ राखेको अवस्थामा बरामद भएको डिएसपी सिंहले जानकारी दिएका छन्।
दाङ लमहीको अर्नवास्थित ठकुरीको घरबाट प्रहरीले रानी हार १ थान, सिक्री १ थान, झुम्का १ जोडा, ब्रासलेट १ थान, टप ३ जोडा, हार १ थान, मुन्द्रा १ जोडा बरामद भएको डिएसपी सिंहले बताए ।
प्रहरीले खान तलासी गर्दा भने लमहीको अर्नवास्थित घरमा ठकुरीकी श्रीमती मात्रै थिइन्।