स्वस्थ रहन कम्तीमा दिनको १० हजार पाइला हिँड्नुपर्छ भन्ने मान्यता हामीले धेरै समयदेखि सुन्दै आएका छौं। विश्वव्यापी रूपमा प्रचलित यो मान्यता पछ्याउनेहरू नेपालमा पनि प्रशस्तै छन्।
काठमाडौं लगायत सहरी क्षेत्रमा धेरै कामकाजी महिला तथा पुरूषहरू दैनिक १० हजार पाइला हिँड्नुपर्छ भनेर लागिपरेको पाइन्छ। नियमित व्यायाम गर्न नभ्याउनेहरू पनि सकभर यति चाहिँ हिँडौं भनेर प्रयत्न गरिरहेका हुन्छन्। यसको निम्ति मोबाइल एपको मद्दतले पाइला गन्ती गर्ने चलन बढ्दो छ।
तर के यो मान्यता सही छ? वैज्ञानिक रूपले प्रमाणित छ?
एक नयाँ वैज्ञानिक अनुसन्धानले दिनको १० हजार पाइला हिँड्नुपर्छ भन्ने मान्यतामा प्रश्न उठाएको छ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नल 'द ल्यान्सेट पब्लिक हेल्थ' मा गत साता प्रकाशित वैज्ञानिक अनुसन्धानले भन्छ — हिँडाइले स्वास्थ्यलाई दिने फाइदा ७ हजार पाइलासम्म बढ्दै जान्छ, त्यसपछि स्थिर हुन्छ।
भन्नुको मतलब, मान्छेले स्वस्थ र तन्दुरूस्त रहन दिनको ७ हजार पाइला हिँडे पुग्छ। यो भनेको १० हजार पाइलाको तुलनामा सजिलै पूरा हुने लक्ष्य हो।
सामान्य गतिमा हिँड्ने मान्छेलाई ७ हजार पाइला पूरा गर्न १ घन्टा १५ मिनेटभन्दा बढी लाग्दैन। हिँड्नकै लागि ४० मिनेट समय छुट्ट्याएर बाँकी घर वा कार्यालयमा यताउता गर्दा पनि लक्ष्य सजिलै पूरा हुन्छ।
जबकि, १० हजार पाइला हिँड्न अलि बढी नै समय लाग्छ। किनभने, ७ हजारको दाँजोमा १० हजार पाइला हिँड्दा मान्छे स्वाभाविक रूपले बढी थाक्छ।
यहाँ तपाईंहरूलाई १० हजारको दाँजोमा ७ हजार पाइला हिँड्नु कसरी फाइदाजनक भन्ने लाग्यो होला!
यसका पछाडि केही कारण छन्।
पछिल्लो वैज्ञानिक अध्ययन अनुसार दिनको ७ हजार पाइला हिँड्ने मान्छेहरूमा पनि 'डिमेन्सिया' (स्मरण शक्ति कमजोर हुने) र मुटुसम्बन्धी रोगको जोखिम उल्लेख्य रूपमा कम पाइएको छ।
'दीर्घ जीवनका लागि १० हजार पाइला नै हिँड्नुपर्छ भन्ने छैन,' अध्ययनको निष्कर्षले भन्छ, 'दिनको २ हजार पाइला मात्र हिँड्ने मान्छेको तुलनामा ७ हजार पाइला हिँड्नेहरूमा पनि डिमेन्सिया र मुटुसम्बन्धी रोगको जोखिम ४७ प्रतिशत कम देखिन्छ।'
यति मात्र होइन, ७ हजार पाइला हिँड्नेहरूलाई डाइबिटिज (टाइप २) र क्यान्सरको जोखिम पनि कम पाइएको अध्ययनले देखाएको छ।
हुन त स्वास्थ्य क्षेत्रमा दशकौंदेखि हुँदै आएका वैज्ञानिक अनुसन्धानले हिँड्नु सबभन्दा राम्रो शारीरिक व्यायाम हो भनेर पुष्टि गरेकै छन्। मुटु स्वस्थ र बलियो राख्न, तौल घटाउन तथा कोलेस्ट्रोल र डाइबिटिज नियन्त्रणमा राख्न नियमित हिँड्नुपर्छ भनेर डाक्टरहरू पनि सल्लाह दिन्छन्।
तर यस्ता लाभ हासिल गर्न दिनको कति पाइला हिँड्ने भन्नेमा चाहिँ फरक फरक मत रहँदै आएको थियो। त्यसै क्रममा दैनिक १० हजार पाइलाको मान्यतालाई हामीले 'जादुयी अंक' का रूपमा लियौं।
यो मान्यता 'पेडोमिटर' (पाइला नाप्ने यन्त्र) बेच्ने जापानी कम्पनी यामासाको मार्केटिङ अभियानबाट सुरू भएको मानिन्छ।
सन् १९६४ मा जापानको राजधानी टोकियोमा ओलम्पिक आयोजना हुनुअघि यामासा कम्पनीले उक्त मार्केटिङ अभियान चलाएको थियो। पेडोमिटरको बिक्री बढाउने उद्देश्यले १० हजार पाइलालाई 'जादुयी अंक' का रूपमा प्रचार गरिएको भनाइ छ।
आखिरमा कम्पनीको उद्देश्य पूरा भयो।
व्यापक प्रचारप्रसारकै कारण दिनको १० हजार पाइला हिँड्नुपर्छ भन्ने मान्यता विश्वव्यापी 'स्वास्थ्य मन्त्र' बन्न पुग्यो।
ल्यान्सेटमा प्रकाशित अनुसन्धानपत्रका मुख्य लेखक डिङ डिङले भने यो 'मन्त्र' लाई पुष्टि गर्ने वैज्ञानिक आधार नभएको बताएका छन्।
'पेडोमिटर ब्रान्डको मार्केटिङ अभियानका रूपमा यो राउन्ड नम्बर आएको हो,' उनले द फाइनान्सियल टाइम्सलाई भनेका छन्, 'त्यो मार्केटिङ अभियान साँच्चिकै प्रभावशाली रह्यो। मार्केटिङ हथकन्डाका लागि सुरू भए पनि यसले जनस्वास्थ्यमा धेरै फाइदा पुर्यायो।'
आफ्नो टिमको नयाँ अनुसन्धानले भने स्वास्थ्य लाभ हासिल गर्न यति धेरै हिँड्नुपर्दैन भन्ने पुष्टि गरेको उनको भनाइ छ।
उनको अनुसन्धान अनुसार ७ हजार र १० हजार पाइला हिँड्दा प्राप्त हुने स्वास्थ्य लाभमा खासै अन्तर छैन। दिनको १० हजार पाइला हिँड्नेहरूमा क्यान्सर, डाइबिटिज (टाइप २) र मुटुसम्बन्धी रोगको जोखिम जति कम पाइएको छ, ७ हजार पाइला हिँड्नेमा पनि ती रोगको लगभग जोखिम उत्तिकै कम छ।
अनुसन्धान टोलीले १ लाख ६० हजारभन्दा बढी वयस्कहरूको तथ्यांक केलाएर यस्तो निष्कर्ष निकालेको हो।
वैज्ञानिकहरूले हिँडाइबाट प्राप्त हुने स्वास्थ्य लाभलाई कागती निचोरेर रस निकाल्ने प्रक्रियासँग तुलना गरेका छन्।
'सुरूमा कागती निचोर्दा मनग्गे रस निस्कन्छ। जति निचोर्दै गयो, त्यसबाट निस्कने रस कम हुँदै जान्छ। आखिरमा जति बल लगाएर निचोरे पनि एक थोपा आउँदैन,' उनीहरू भन्छन्, 'हिँडाइबाट प्राप्त हुने स्वास्थ्य लाभ पनि त्यस्तै हो। दिनको २ हजार पाइला हिँड्ने मान्छेको दाँजोमा ४ हजार पाइला हिँड्नेहरूमा मृत्युको जोखिम ३६ प्रतिशत कम हुन्छ। यही क्रममा दिनको ४ हजार पाइलाको तुलनामा ७ हजार पाइला हिँड्नेहरूमा मृत्युको जोखिम १७ प्रतिशत घट्छ। त्यसपछि भने जोखिमको अनुपात स्थिर रहन्छ।'
'बढी हिँड्दा बेफाइदा हुने त होइन, तर १० हजार पाइला हिँड्न सकिएन भनेर कसैले अफसोच नमाने हुन्छ,' अमेरिकाको वासिङ्टनस्थित मेडस्टार हेल्थ रिसर्च इन्स्टिच्युटका डा. हाना आरेमले भनिन्।
दैनिक हिँडाइ र कागती निचोर्ने प्रक्रियाबीच एउटा अन्तर भने छ।
कागती चार–पाँचचोटि निचोरेपछि रस आउन छाड्छ। यही कुरा हिँडाइमा लागू हुँदैन। यसलाई सरल ढंगमा बुझाउन वैज्ञानिकहरूले दैनिक कति पाइला हिँड्दा मृत्युको जोखिम कसरी घट्दै जान्छ भनेर विश्लेषण गरेका छन् —
जस्तो, दिनको २ हजार पाइला हिँड्नेहरूलाई भन्दा ७ हजार पाइला हिँड्नेहरूमा मृत्युको जोखिम ४७ प्रतिशत कम हुन्छ। यही जोखिम २ हजार पाइला हिँड्नेहरूको दाँजोमा १० हजार पाइला हिँड्नेमा ४८ प्रतिशत मात्र कम हुन्छ।
भन्नुको मतलब, दिनको ३ हजार पाइला बढी हिँडेर प्राप्त हुने स्वास्थ्य लाभ भनेको १ प्रतिशत विन्दुले मात्र बढी हो।
यसको अर्थ १० हजार पाइलाभन्दा बढी हिँड्नेहरूलाई पनि यति नै फाइदा हुन्छ भन्ने होइन। दिनको २ हजार पाइलाको दाँजोमा १२ हजार पाइला हिँड्नेहरूमा मृत्यु जोखिम ५५ प्रतिशत कम पाइएको छ।
त्यही भएर सिड्नी विश्वविद्यालयका जनस्वास्थ्य प्राध्यापक डा. डिङ भन्छन्, 'म दिनको १० हजार पाइला हिँड्नेहरूलाई ७ हजार पाइला मात्र हिँड्नुस् भनेर सिफारिस गर्दिनँ। म यति मात्र भन्न चाहन्छु, ७ हजार पाइलाभन्दा जति बढी हिँड्यो, त्यसबाट प्राप्त हुने स्वास्थ्य लाभको अनुपात कम हुँदै जान्छ। यसको अर्थ के भने, धेरै हिँड्दा समय र मिहिनेत धेरै लागे पनि फाइदा धेरै हुँदैन।'
यस आधारमा स्वस्थ र तन्दरूस्त रहन १० हजार पाइलाको 'जादुयी अंक' का पछाडि लाग्नुभन्दा ७ हजार पाइला मात्र हिँडे पर्याप्त हुने उनी बताउँछन्।
'यो भनेको धेरैका लागि सजिलो लक्ष्य हो,' उनले भने।
यो अध्ययनमा केही कमजोरी पनि छन्। जस्तो, अस्वस्थ मान्छेभन्दा स्वस्थ मान्छे तुलनात्मक रूपले बढी हिँड्न सक्छ। त्यही आधारमा यस्तो निष्कर्ष आएको हुन सक्छ भन्ने आलोचकहरूको भनाइ छ। तैपनि नियमित हिँडाइले धेरै किसिमका स्वास्थ्य समस्या हल हुन्छन् भन्नेमा कसैको दुईमत छैन।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)