जाडोयाम सुरू भएसँगै उत्तरतिरबाट चराका बथान दक्षिततर्फ आउने क्रम सुरू हुन्छ।
आफ्नो बासस्थान हिउँले छोपेपछि आहाराको खोजी गर्दै चराहरूको यात्रा सुरू हुन्छ। उनीहरू हजारौं किलोमिटर यात्रा गर्दै नेपाल लगायत दक्षिण एसियाका विभिन्न स्थानमा केही महिनाका लागि पाहुना बनेर पुग्छन्।
जाडो छल्न अक्टोबरतिर नेपाल आउने पाहुना चराहरू अप्रिल–मेसम्म मुख्य बासस्थानमा फर्किसक्छन्।
तर आइतबार (२७ जुलाइ) मा चितवनको दिव्यनगर फार्म क्षेत्रमा एउटा चखेवा देखापर्यो। त्यो फाँटमा एक्लो चखेवाले त्यहाँ पुगेका अवलोकनकर्ताको ध्यान मज्जैले तान्यो।
सामान्यतया चखेवा जोडी वा समूहमा देखिन्छन्। धान खेतमा देखिएको त्यो एक्लो चखेवा जल–अप्सरा (फिजेन्ट टेल्ड जाकाना), बकुल्ला र हुटिट्याउँको छेउमा टोलाइरहेको थियो।
नेपाल पन्छीविद संघका अध्यक्ष हठन चौधरीले चार दिन अघिमात्रै नवलपुरको नमूना मध्यवर्ती वनमा एउटा खडकडे हाँस (गडवाल) देखेका थिए। उनले केही दिनअघि नवलपुरमा एउटा चखेवा देखिएको जानकारी पनि पाएका रहेछन्।
'नवलपुरमा देखिएको भनिएको चखेवा नै यहाँ आइपुगेको पनि हुन सक्छ। गडवाल र चखेवा दुवै जाडो सुरू भएपछि आउने र सकिएपछि फर्किने चरा हुन्। उनीहरू अहिलेसम्म पनि यहाँ रहनु सामान्य कुरा होइन,' चौधरीले भने।


उनीहरू घाइते भएर वा अन्य कुनै कारणले राम्ररी उड्न नसकेर समूहसँग छुटेको हुन सक्ने उनले बताए।
'जाडो छल्न आएका चराहरूले फर्किनका लागि यहाँ रहँदा प्रशस्त आहारा खाएर शरीरमा बोसो जम्मा पार्छन्। बोसो उनीहरूको इन्धन हो। गर्मी लाग्न थालेपछि मुख्य बासस्थान जान उनीहरूको तयारी सुरू हुन्छ। तयारी सकिएपछि ठाउँ ठाउँमा आराम गर्दै, आहारा थप्दै गन्तव्य पुग्छन्,' चौधरीले भने, 'फर्किने बेलामा शारीरिक कमजोरीले गर्दा केही छुट्न पनि सक्छन्। उड्न नसक्नेलाई समूहले छाडेर जान्छ। यी त्यसरी नै छाडिएका होलान्।'
लामो समयदेखि चराको विषयमा अध्ययन गरिरहेका ददि सापकोटा चराको बसाइँसराइलाई म्याराथन दौडसँग तुलना गर्छन्। मान्छेले म्यारथनअघि व्यायाम गरेजस्तै लामो दुरीको यात्रामा निस्किनुअघि व्यायाम नगरे चरा पनि असफल हुने उनी बताउँछन्।
'अब यति समयपछि बसेको ठाउँ छाडेर अन्यत्र जानु छ भन्ने भएपछि बसाइँ सर्ने चराहरूको व्यायामका लागि धमर्धुस चल्छ,' सापकोटाले आफ्नो किताब 'जीवगाथा' मा लेखेका छन्।
उनले लेखेका छन्— चराहरू बसाइँ सर्नुअघि केही समय थोरैथोरै गरेर हरेक दिन जस्तो उड्छन्। पखेटा बलियो पार्छन्। पखेटाका मांसपेशी तन्काउँछन्। खुला ठाउँ वा नदी छेउछाउ हिँड्छन्। काम नलाग्ने, च्यातिएका, पुराना खस्ने बेला भएका प्वाँख र भुत्ला केलाउँछन्। दोब्रिएका मिलाउँछन्। उनीहरूको मलद्वारमा तेल ग्रन्थी हुन्छ। त्यसबाट तेल झिकेर प्वाँख र भुत्लामा घस्छन्। त्यसले प्वाँख र भुत्ला चिल्लो पार्छ। पानी ओत्छ। बलियो राख्छ। हावा छिर्नबाट बचाउँछ। शरीरलाई न्यानो राख्छ।
सापकोटाले अगाडि लेखेका छन्, 'उड्ने क्रममा कहिलेकाहीँ चराहरू बिरामी पर्न सक्छन्। बिरामी पर्नेलाई अन्य दुई चराले साथ लिएर ओर्लिन्छन्। सँगै बसेर हेरचाह गर्छन्। सन्चो भए उडेर अगाडि गइसकेको आफ्नो समूहलाई भेट्टाउँछन्। सन्चो भएन भने मरून्जेल कुर्छन्।'
चखेवा–चखेवीको जोडीको सम्बन्ध निकै गाढा हुन्छ। जोडीमा एउटाको मृत्यु भयो भने अर्कोले वियोगमा खानै छाड्ने कहावत पनि छ।
जल–अप्सरा
जल–कुखुरा (वाटर–कक)
पन्छीविद हठन चौधरी पनि चखेवाको जोडीको बन्धन अन्य चराको भन्दा कडा हुने बताउँछन्।
'जोडीबाट छुटेको यो चखेवाको स्वास्थ्य अहिले राम्रो देखिएको छ। अहिलेको अवस्था हेर्दा त घाइते भएर छुटेको जस्तो देखिँदैन,' उनले भने, 'जोडी र समूहसँग कसरी छुट्यो यसै भन्न सकिँदैन।'
सन् २०२५ जनवरीमा एकै समयमा गरिएको गणनामा चितवनको राप्ती नदीमा २ हजार ९ सय २३, रिउ नदीमा ३ सय ८४ र दिव्यनगर फार्म ७ सय ९३ वटा चखेवा–चखेवी भेटिएका थिए।
जाडो सुरू भएसँगै साइबेरिया, तिब्बत, लद्दाखतिरबाट उडेर आएका चखेवा–चखेवी गर्मी लागेसँगै उतै फर्किए। उनीहरू बच्चा जन्माउन आफ्नो मुख्य बासस्थानमै जान्छन्।
केही वर्षअघि चखेवाले मुस्ताङमा पनि बच्चा कोरलेको भेटिएको थियो। तर कम उचाइमा बच्चा कोरलेको भेटिएको छैन।
'गत जुनमा २७ मा नेपालमै पहिलो पटक चितवनमा चाइनिज पण्ड हेरन नामको चरा रेकर्ड गरिएको थियो। त्यो इन्डियन पण्ड हेरन (आस्कोटे बकुल्ला) सँग प्रजनन क्रियामा सहभागी भइरहेको अवस्थामा रेकर्ड भएको थियो,' चौधरीले भने, 'चराका दुई प्रजाति बीचको प्रजनन अध्ययनको विषय बनिरहेको छ। जोडीसँग छुटेको चखेवा पनि अन्य प्रजातिसँग घुलमिल भइरहेको देखिन्छ। यो पनि अध्ययनको विषय हुन सक्छ।'
आइतबार दिव्यनगर फाँटको धान खेतमा जाडो छल्न आएका वुड्स स्यान्ड–पाइपर (वन सुडसुडिया), ग्रिन्स स्यान्ड–पाइपर र स्यान्ड–पाइपर पनि एक/एक वटा भेटिएका थिए।
नेपालमा हरेक वर्ष १५० भन्दा बढी प्रजातिका चरा जाडो छल्न आइपुग्छन्। तीमध्ये खोया हाँस भनिने बार–हेडेड गुजहरू सगरमाथाभन्दा माथिल्लो उचाइमा उड्दै नेपाल आइपुग्छन्। नेपालमा कर्याङकुरूङ भनेर चिनिने कमन क्रेन साइबेरिया, मंगोलियाबाट उडेर चितवनको दिव्यनगरस्थित फाँटमा आइपुग्छन्। खेतमा झरेको धान र कीरा–फट्यांग्रा खाएर केही महिना यतै बिताउँछन्।
गर्मी छल्न भने ६० बढी प्रजातिका चरा नेपाल आइपुग्ने चौधरीले बताए। अहिले चराहरू गर्मी छल्न दक्षिणतिरबाट उत्तरतिर आउने समय हो।
मेघौली–घटगाईं नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश लिम्बूले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन तथा आसपासका खेतहरूमा बसाइँ सरेर आएका चराहरू प्रशस्त देखिन थालेको जानकारी दिए।
भुँडीफोर गरूड

अप्रिल–मेताका श्रीलंकातिरबाट आउने वाटर–कक (जल–कुखुरा), दक्षिण भाततिरबाट आउने ब्लु–टेल बिटर (निलो–पुच्छ्रे मुसी), विभिन्न प्रजातिका कोइलीहरू गर्मी छल्न यहाँ आएको उनले बताए।
'यी चराले यहीँ अण्डा पारेर चल्ला कोरल्छन्। जाडो सुरू हुने समयमा चल्ला पनि सँगै लिएर फर्किन्छन्,' उनले भने, 'कोइलीहरू अरू प्रजातिका चरालाई झुक्क्याउँदै उनैका गुँडमा अण्डा पारेर चल्ला हुर्काइवरी सँगै लिएर फर्किन्छन्।'
दिव्यनगरको धान खेतमा विश्वमै लोपोन्मुख ब्रिस्टेड–ग्रास बर्ड (काँसे–घाँसे चरी), नेपालमा लोपोन्मुख बन्दै गएको फिजेन्ट–टेल्ड जाकाना (जल–अप्सरा) लगायत चरा देख्न पाउँदा पर्यटक खुसी हुने उनी बताउँछन्।
काँसे–घाँसे चरी कम उचाइको क्षेत्रमा काँसघारीमा बस्छ। खेतमा उम्रिएको काँसमा पनि रहन सक्छ। जाडोमा मौन बस्ने भएकाले मान्छेहरू यो प्रजाति पनि गर्मीमा बसाइँ सरेर आउने चरा भनेर झुक्किन्छन्। तर यसको मुख्य बासस्थान नै नेपाल, भारत, बंगलादेश र पाकिस्तान हो।
प्रायः तालहरूमा देखिने जल–अप्सरा धान रोप्ने बेलामा आहारा खोजी गर्दै खेतमा पनि पुग्छन्। यिनले पानीमा फुल्ने कमल, लिलीमै गुँड लगाउँछन्। लामो पुच्छर हुने यो सुन्दर चरा फेवा र बेगनास तालमा समेत देखिन्छन्। यो प्रजातिको मुख्य बासस्थान दक्षिण एसिया हो।
'धान खेतमा पहिले धेरै चरा देखिन्थे। अचेल पहिलेजस्तो धेरै देखिँदैनन्। जलवायु परिवर्तन, कृषि क्षेत्रमा विषादी प्रयोग, पूर्वाधार विकासको असर बढिरहेको छ,' लिम्बूले भने, 'नदी क्षेत्रमा उत्खनन, प्रदूषण, सिकार, जलविद्युत, प्रसारण लाइन लगायतका कारण विश्वव्यापी रूपमै चराहरू जोखिममा पर्दै गएका छन्।'




