बुधबार ल्हेन्दे खोलामा भीषण लेदोसहितको बाढी आएको छ।
बिहान २ः१४ बजे केरूङ नाकामा भेलबाढी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले सेतोपाटीलाई जानकारी दिए। भेलबाढीको सूचना आउनेबित्तिकै केरूङतर्फको खोलामा बहाब बढेको हो कि भन्ने आशंका गरिएको उनले बताए।
तर ल्हेन्देमै बाढी आएको यकिन भइसकेको उनले बताए।
उनकाअनुसार केही दिनअघि तिब्बततर्फ ठूलो पानी पर्ने सम्भावना देखिएको भन्दै त्यहाँका अधिकारीहरूले नेपालतर्फ सतर्कताका लागि सूचना पठाएका थिए। तर मंगलबार, बुधबार बिहान रसुवा आसपास ठूलो वर्षा भएको छैन।
त्यसैले हिमताल विस्फोटकै आशंका गरेको उनले बताए। गत असार २४ गते ल्हेन्देमै भीषण भेलबाढी आएर केरूङको मितेरी पुल बगाउनुका साथै २८ जना बेपत्ता भएका थिए। ११ जनाको शव फेला परेको थियो। बाँकीको अवस्था अज्ञात छ।
त्यतिबेला केरूङबाट करिब ३६ किलोमिटर माथि ल्हेन्देको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहका विकास भएको सुप्राग्लेसियल लेक विस्फोट भएको प्राम्भिक आकलन गरिएको थियो।
अहिले पनि सोही प्रकृतिको घटना भएको हुन सक्ने प्रजिअ अर्जुन पौडेलले जानकारी दिए।
‘ल्हेन्देको माथिल्लो जलाधारमा अरू पनि त्यस्ता सुप्राग्लेसियल लेक बनेको हुनसक्ने उनीहरूले बताएका थिए। र, सतर्क रहन भनेका थिए। हामीले पनि त्यही आशंका गरेका छौं, यद्यपि यो पुष्टि भइसकेको विषय भने होइन,’ पौडेलले भने।
उनका अनुसार बाढीको सूचना आउनेबित्तिकै सुरक्षा निकाय परिचालन गरेकाले मानवीय क्षति भने भएको छैन। तर स्याफ्रुबेसीदेखि केरूङ जोड्ने करिब १६ किलोमिट बाटो ठाउँठाउँमा क्षति पुगेको छ। असार २४ गते करिब १४ सय मिटर सडक नदीले कटान गरेको थियो। त्यतिबेला बाढीले १२ ठाउँमा क्षति पुर्याएको थियो।अहिलेको बाढीले भर्खरै खनिएको ट्र्याकमा क्षति पुर्याएको छ।
‘स्याफ्रुदेखि माथिल्लो भेगको सम्पर्क टुटेको छ। रसुवागढी हाइड्रोमा यसअघि नै बाढीले क्षति पुर्याएको थियो। यसपटकको बाढीले हाइड्रोसम्म जोड्ने पहुँचको पुलको दायाँबायाँ व्यापक कटान गरेर जोखिममा पारेको छ। यसअघि हामीले त्यही हाइड्रोको उपकरण प्रयोग गरेर अस्थायी ट्र्याक खोलेका थियौं। यसपटक उपकरण पारि नै रहने अवस्था बन्यो,’ उनले भने।
रसुवागढीदेखि स्याफ्रुको बीचमा पर्ने स्थानमा केही टहराहरू बगाएको उनले बताए।
‘त्यहाँ मानवीय क्षति भएको छैन। तर टहराहरू बगेको छ,’ उनले भने।
उनका अनुसार खोलाले ठुल्ठूला ढुंगा बगाएर ल्याएको छ। बिहानको तुलनामा खोलाको बहाव केही घटेको छ।
रसुवागढीमा बुधबार बिहान खोलाको बहाव अधिकतम ४ मिटरसम्म पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले जानकारी दिए। असार २४ गते ८ मिटरसम्म पुगेको उनले बताए। त्यहाँ सामान्य अवस्थामा नदीको सतह डेढ मिटर हुने गर्छ।
‘असार २४ को तुलनामा बाढी ठूलो आएको त होइन कारणबारे हामी पनि खोजी गरिरहेका छौं,’ उनले भने।
भेलबाढीले तल्लो तटीय क्षेत्रमा व्यापक असर पुर्याएको छ। रसुवाको उत्तरगयाधाम डुबानमा पारेको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले जानकारी दिए। उनका अनुसार बाढीले त्रिशूली थ्रि बि हब स्टेसनका टावरहरूमा समेत असर पुर्याएको छ। क्षतिको यकिन विवरण भने आइसकेको छैन।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजको बाढीले टिमुरेस्थित भन्सार यार्डमा पुनः क्षति पुर्याएको छ। अघिल्लो पटक त्यहाँ रहेका ४ वटा सिनो ट्रक र ४२ वटा विद्युतीय गाडीहरू बगाएको थियो। यसपटक त्यहाँको धर्मकाँटा बगाएको प्राधिकरणले बताएको छ।
‘अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिन्छ। खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरु नगरिदिनुहुन पनि आग्रह गरिन्छ,’ प्राधिकरणले भनेको छ।