काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका चक्रे मिलन भनिने मिलन गुरूङहित पक्राउ परेकाहरूलाई १९ जनालाई प्रहरीले म्याद थप्ने तयारी थालेको छ।
बिहीबार मध्यराति महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलनको समूहमाथि अनुसन्धान गर्न म्याद थप गर्ने तयारी गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार १९ जनाविरूद्ध म्याद थप गर्न लागेको हो। उनीहरूमाथि अभद्र व्यवहार कसुरमा म्याद थप हुन लागेको हो।
प्रहरीले गएराति ४७ जनालाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी टेक तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेशकुमार बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीसँग छलफल गरेका हुन्।
छलफलको क्रममा अनुसन्धानको लागि म्याद थप गर्ने निर्णय भएको हो। उनीहरूलाई अहिले म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ।
केही दिनदेखि चक्रे मिलनको बर्थडे सेलिब्रेसनको नाममा आतंक फैलाएको भन्दै प्रहरीले सर्च अपरेशन चलाएको हो।
बाटो छेकेर गाडीहरू चलाएको, होहल्ला गरेको, आतंकित बनाएको भन्दै प्रहरीले बिहीबार चक्रे मिलनको समूहलाई खोजी गरेको थियो।
महाराजगन्जको साम्बाला होटलमा बर्थ-डे सेलिब्रेसन गरिरहेको थाहा पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली राति साढे ११ बजे त्यहाँ पुगेको थियो। त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जको टोली पुगेर होटलबाट ४७ जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूको गाडी तलासी लिँदा दुई वटा खुकुरी, एउटा पेपर स्प्रे र एउटा रड समेत फेला परेको थियो।
यो पनि: मध्यरातमा चक्रे मिलनलाई समात्न प्रहरीले यसरी चलाएको थियो 'सर्च अपरेसन'