जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दिएको निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ।
उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासमा भइरहेको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
अब यो सुनुवाइ आइतबार हुनेछ।
चैत १५ गते भएको तीनकुनेको घटनामा थुनामा रहेका प्रसाईंसहित सुशिल बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतमले आफूहरूलाई थुना भित्र राख्ने जिल्ला अदालतको आदेश बदर गर्नुपर्ने भन्दै निवेदन दिएका हुन्।
उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट उनीहरूविरूद्ध निवेदन दिएको छ। दुबै पक्षको निवेदन एउटै इजलासमा सुनुवाइ भइरहेको हो।
काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो।
दुर्गा प्रसाईंमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो।
प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। पत्रकार सुरेश रजकको रिपोर्टिङको क्रममा आगलागीबाट मृत्यु भएको थियो।
त्यस्तै प्रहरीको गोली लागेर कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो।