ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेको छ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले शुक्रबार नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सुरूवाती ६ महिनामा ६ वटा अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गरेकाले उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने बताएकी हुन्।
'राष्ट्रपति ट्रम्पले ६ महिनामा ६ वटा अन्तर्राष्ट्रिय द्वन्द्व समाधान गरिसक्नुभयो। यस्तो उपलब्धि विश्व इतिहासमै दुर्लभ छ। उहाँलाई नोबेल शान्ति पुरस्कार पाउन अब ढिलो भइसक्यो,' लेभिटले भनेकी छन्।
प्रेस सेक्रेटरी लेभिटले ट्रम्पले समाधान गरेको ६ वटा अन्तर्राष्ट्रिय द्वन्द्वको सूची पढेर पनि सुनाएकी थिइन्।
उनले हालैको कम्बोडिया र थाइल्याण्डबीचको द्वन्द्व समाधान गरेको बताइन्।
त्यस्तै इसराइल- इरान, रूवान्डा-कंगो, भारत-पाकिस्तान,सर्विया-कोसोभो र इजिप्ट- इथियोपियाबीचको द्वन्द्व राष्ट्रपति ट्रम्पले नै समाधान गरेको दाबी गरिन्।
यद्यपि भारत र पाकिस्तानबीचको द्वन्द्व समाधान गरेको ट्रम्पको दाबीलाई भारतले यसअघि नै खण्डन गरिसकेको छ।
भारतले दुई देशबीचको द्वन्द्व दुई देशका सेना प्रमुखहरूले टेलिफोन संवाद गरेर सुलह गरेको दाबी गर्दै आएको छ।
पाकिस्तानले भने द्वन्द्वको समाधान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै गरेको बताउँदै आएको छ।
युद्ध सकिएपछि पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई ट्रम्पले ह्वाइट हाउसमै बोलाएर भेटेका थिए।
त्यतिबेला युद्धविराम गर्न मध्यस्थता गरेकाले ट्रम्पलाई धन्यवाद दिँदै नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प उपयुक्त पात्र रहेको बताएका थिए।
बिहीबार मात्रै ट्रम्पले विश्वभरका आफ्ना व्यापारिक साझेदारहरूलाई नयाँ भन्सार दर घोषणा गरेका छन्।
त्यसमा भारतलाई २५ प्रतिशत र पाकिस्तानलाई १५ प्रतिशत भन्सार दर तोकेका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, गाबोनका राष्ट्रपति र पाकिस्तानका सेना प्रमुखले ट्रम्पले विश्वशान्तिका लागि ऐतिहासिक योगदान दिएको बताएर ट्रम्प नोबेल शान्ति पुरस्कारका वास्तविक हकदार रहेको बताउँदै आएका छन्।
यता विश्लेषक र आलोचकहरूले भने ह्वाइट हाउसको दाबीलाई अतिशयोक्तिपूर्ण र राजनीतिक उद्देश्यसहित गरिएको प्रतिक्रिया भन्दै अस्वीकार गरेका छन्।
ट्रम्पलाई पनि नोबेल शान्ति पुरस्कार पाउने उत्कट चाहना छ। रूस–युक्रेन युद्ध रोक्ने योजना सफल नहुने देखेपछि नोबेल पुरस्कारको आशमै ट्रम्पले इसराइल-इरान युद्ध हुँदा सुरूमै इरानमाथि हमला नगरेको भनिन्छ। पछि अमेरिकाले इरानमाथि आक्रमण गरेपछि इसराइल-इरान युद्धविराम गर्ने सम्झौता भएको थियो।