गएको आइतबार दिउँसो लाङटाङ निकुञ्जको लौरिबिनाको ठाडो उकालो चढेर गोसाइँकुण्ड नुहाउन तालमा पसेका मोरङका दुई युवा त्यहीँ बिलाए।
२६ वर्षीय सुजन ढकाल र २८ वर्षीय मनोज न्यौपानको शव सोमबार बिहान मात्रै काठे–डुंगा चढेर ताल किनार खोतलेका नेपाली सेनाका जवानले फेला पारे।
त्यो दुर्घटनाले दुई होनहार केटा गुमाएका परिवारलाई के-कति चोट पुर्यायो होला— त्यो तपाईं हामी कल्पना पनि गर्न सक्दैनौं। किनभने, त्यो शोक बयान गरी साध्य छैन।
बिना कुनै चेतावनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाइएको त्यो घटनाको भिडिओले डुबाइका कारण आफन्तजन गुमाएका परिवारजन मात्र होइन, जोकोहीलाई पनि विचलित तुल्याइदिन्छ।
त्यो भिडिओ हेर्दा शुक्रबार बिहानदेखि म आफै निकै विचलित भएँ।
कसरी भयो दुर्घटना?
गोसाइँकुण्ड, त्रिशुलधारा। तस्बिरः सुरेन्द्र फुयाल
लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाह पनि मोरङकै हुन्।
उनका अनुसार ती युवाको टोली दुई दिन लगाएर समुद्र सतहदेखि करिब २००० मिटरमा रहेको रसुवा सदरमुकाम धुन्चेदेखि हिँडेर आइतबार दिउँसो ढिलो गोसाइँकुण्ड पुगेको थियो। लगत्तै तालदेखि पूर्वतर्फ रहेको त्रिशुलधारा जाने बाटोको छेउबाट करिब ४ बजेतिर स्नान गर्न तालमा पसे।
'यो अत्यन्तै दुःखद दुर्घटना हो, मोरङकै भाइहरू परेछन्। झनै दु:ख लाग्यो,' शाहले सेतोपाटीसँग भने।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार एक जना डुबेपछि उनलाई बचाउन दोस्रो व्यक्ति पानीमा गएछन्। ती व्यक्ति विफल भएपछि तेस्रो व्यक्ति पानीमा गए। पहिलो र तेस्रो व्यक्ति भने त्यहीँ बिलाए।
तत्कालै सुरक्षाकर्मी खटाइए पनि रात परेकाले उद्धार हुन सकेन। ती दुई युवाको शव भोलिपल्ट बिहान, सोमबार मात्र टुप्पोमा हुक जडित लाठोको सहायताले निकालियो।
प्रजिअ पौडेलले भने, 'भिडिओमा देखिए अनुसार कम्मरसम्म पानी आएको देखिन्छ र डुबुल्की मारेपछि अचानक हराएको देखिन्छ। अलिअलि पौडी जान्ने दोस्रो युवाले पिठ्युँमा बोक्दा पनि तान्न विफल भएपछि फर्किन्छन्। तेस्रो युवा उनलाई तान्न पसेपछि उनी पनि हराउँछन्। यस्तो कसरी भयो होला भनेर हामी अचम्मित छौं।'
कतिपय धार्मिक विश्वास राख्ने मानिस ठान्छन् — गोसाइँकुण्ड कालकुट विष पिएका शिवजीले त्रिशुल गाडेपछि सिर्जना भएको थियो। गोसाइँकुण्डको बीच भागमा शिवजीको जटा अझै देख्न सकिन्छ। शिवजीको गलाको नागले अझै पनि स्नान गर्न गएका मानिसलाई तानेर भित्र लान्छ!
इत्यादि।
के गोसाइँकुण्डले साँच्चै मानिस तानेर भित्र डुबाउँछ?
त्यसो भए आउने जनै पूर्णिमामा हुने मेलाअघि के कस्तो सुरक्षा तयारी हुँदैछ?
यसको चर्चा एकैछिन पछि गर्छु। पहिले पानीमा डुबेर मर्ने महामारीबारे चर्चा गरौं।
यो साता गोसाइँकुण्डको दुर्घटनाले धेरैको ध्यान ताने पनि नेपाली समाज यस्ता घटनाबाट पीडित मात्र होइन, अत्यन्त प्रताडीत छ। त्यस्को कारण जान्न एक पटक यो संख्या विचार गरौं – पन्ध्र सय।
हो, सोधकर्ताहरूका अनुसार पानीमा डुबेका कारण नेपालले वर्षमा कम्तीमा एक हजार पाँच सय जनाको ज्यान जाने गरेको छ।
अझ चिन्ताजनक तथ्य यस्तो छ — पानीमा डुबेर ज्यान गुमाउनेमा अधिकांश कलिला बालबालिका वा किशोरहरू हुन्छन्।
'युरेसियन रिभ्यु' मा हालै प्रकाशित एक जर्नलका अनुसार पानीमा डुब्नु नेपालका एकदेखि चार वर्षसम्मबका बालबालिकाको मृत्यु हुनुको दोस्रो प्रमुख कारण हो। पाँचदेखि ९ वर्ष उमेरका बालबालिका र दसदेखि १४ वर्ष उमेरका किशोरकिशोरी मृत्युको तेस्रो प्रमुख कारण हो।
समाचारहरू केलाउँदा, पानीमा डुबेर मृत्यु भएका खबर पहाडभन्दा तराई–मधेस भेगबाट बढी आउने गरेका छन्। अचाक्ली गर्मी भएका बेला पौडिन नजान्ने बालबालिका घर नजिकैको गहिरो पोखरीमा फाल हाल्दा वा बाढी आएका बेला नदीमा जाँदा प्रायः दुर्घटना हुने गरेका छन्।
पानीमा डुबेका कारण बर्सेनि सैयौं कलिला बालबालिका वा युवाको ज्यान जाने क्रम कम गर्न यो समस्याबारे जनचेतना फैलाउन विभिन्न प्रयास थालिएका छन्। विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि जनचेतना जगाउन छुट्टै दिवस आयोजना गर्न थालिसकेको छ। त्यस्ता प्रयासले अझै आशातीत प्रतिफल भने दिन सकेका छैनन्।
त्यसको एउटा उदाहरण गोसाइँकुण्डको पछिल्लो दुर्घटना हुन सक्छ।
गोसाइँकुण्डको रहस्य
जाडो यामको गोसाइँकुण्ड। तस्बिरः सुरेन्द्र फुयाल
अब चर्चा गरौं गोसाइँकुण्डले स्नान गर्न गएका मानिस तान्न सक्छ भन्ने रहस्यबारे।
गोसाइँकुण्ड ताल हिउँदमा पूरै जम्छ र सेतै देखिन्छ। गर्मी र बर्षाको बेला तालको पानीको तापक्रम करिब ५ देखि १० डिग्री सेल्सियस हुन्छ। यसको अर्थ, ताल छेउको मन्दिर अगाडिको सुरक्षित र कम गहिरो स्थानमा समेत डुबुल्की मार्न मुस्किल हुन्छ।
ज्ञानेन्द्र न्यौपाने रसुवालाई कर्मथलो बनाएका पुराना पत्रकार हुन्। उनले २०४२ सालदेखि काम गर्दा अहिलेसम्म, कुण्डमा नुहाउँदा ७ जना जतिले ज्यान गुमाएको सम्झना छ। यसअघि २०७४ साल जेठमा काठमाडौं नैकाप घर भएकी एक ४० वर्षीया महिलाको डुबुल्की मार्ने क्रममा ज्यान गएको उनलाई सम्झना छ।
उनको बुझाइमा गोसाइँकुण्डको पानी अत्यधिक चिसो भएकाले दुर्घटना भइरहेको हुन सक्छ।
'डुबुल्की मार्ने क्रममा मानिसहरू चिसोका कारण कक्रक्क परेर शिथिल हुने र अचानक गहिरो स्थानमा पुगेर डुब्ने गरेको हुन सक्छ,' उनले भने।
लाङटाङका वार्डेन श्यामकुमार शाह 'गोसाइँकुण्डले नुहाउने मानिस तान्छ' भन्ने भनाइमा कुनै वैज्ञानिक आधार नभएको बताउँछन्।
'यदि त्यसो हो भने कुनै वैज्ञानिक अध्ययन, अनुसन्धान हुनुपर्छ जुन अहिलेसम्म भएको छैन,' उनले भने।
म आफै पनि पटक पटक गोसाइँकुण्ड गइसकेको छु।
गत जनै पूर्णिमामा पनि पुगेको थिएँ। तालको बीचको भाग निकै गहिरो हुने नै भयो। त्यहीँ शिवजीको जटा देखिन्छ भन्ने कतिपयको विश्वास छ। तालको पूर्वतिरको भागमा छेउमै गहिरो भएकाले डुबुल्की जोखिमपूर्ण लाग्यो। तर मन्दिर अघिको निर्धारित स्नान गर्ने तालको कुनामा सुरक्षित रूपमा डुबुल्की मारेको थिएँ।
मेलाको तयारी
जनै पूर्णिमाको गोसाइँकुण्ड। तस्बिरः सुरेन्द्र फुयाल
पछिल्लो समय गोसाइँकुण्डमा बाह्रै महिना पदयात्री र तीर्थारूको चहलपहल हुन्छ। जनै पूर्णिमा मेलामा भने सर्वाधिक भिड हुन्छ। पछिल्लो जनै पूर्णिमामा करिब १५ हजार मानिस गोसाइँकुण्ड पुगेका थिए। यसपालि पनि करिब करिब त्यति नै मानिस आउने अनुमान छ।
आइतबारको दुर्घटनापछि रसुवा र लाङटाङका अधिकारीहरूले गोसाइँकुण्ड र आसपासका अन्य ताल क्षेत्रमा सुरक्षा तयारीलाई तीव्रता दिइसकेका छन्। शाहका अनुसार तालमा मानिस नुहाउने र डुब्न सक्ने स्थानमा डोरी लगाएर सीमांकन गर्ने काम भइसकेको छ।
प्रजिअ अर्जुन पौडेलले पनि डुब्न लागेका मानिस उद्धार गर्न आवश्यक काम गरिएको बताए।
'ट्युब, डोरी लगायत सामग्रीसहित सुरक्षाकर्मी तालमा तैनाथ गरिएका छन्,' उनले भने।
सुरक्षित रहने उपाय
सुन्दरीजलस्थित स्यालमती झरना। तस्बिरः सुरेन्द्र फुयाल
गर्मीको समयमा चिसो पानीमा नुहाउन वा झरनामा थापिन धेरै मानिस उत्साहित हुन्छन्। तर आवश्यक सावधानी नअपनाउँदा दुर्घटना हुने गरेका छन्।
त्यस्तो दुर्घटना काठमाडौंको सुन्दरीजलस्थित बागमती र स्यालमती झरना वरपर पनि विगतमा भएका थिए। हालै त्यस क्षेत्रमा तारबार तथा फलामे बार लगाइएकाले मानिस पानीमा डुब्ने घटनामा कमी आएको छ।
युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्ड ब्रिस्टोल, ब्रिटेनस्थित चोटपटक शोधकर्ता डा. पुष्पराज पन्तका विचारमा मानिसहरूलाई पानीमा डुब्नबाट बच्न हरेक घरघरबाटै प्रयास थालिनुपर्छ। सम्भव भएमा सबैले पौडी खेल्न सिक्नुपर्नेमा उनको जोड छ।
उनले सेतोपाटीसँग भने, 'अहिले हामीले कुरा गर्दै गर्दा पनि कपिलवस्तुमा दुई बालकको खोलामा डुबेर मृत्य भएको दुःखद खबर आएको छ। साना बालबालिका घरभित्र बाल्टिनमा डुबेर मरेको समेत उदाहरण हाम्रा सामु छन्।'
'त्यसैले घर नजिकैका पानी जम्ने खाल्डाहरू पुर्नुपर्छ। बालबालिकाका गतिविधि निरन्तर हेर विचार गरेर पनि पानीमा डुब्नबाट मानिसलाई बचाउन सकिन्छ,' उनले भने।
यो पनि पढ्नुस्ः
(लेखक सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal