थाप्लामाथि कालो बादल मडारिनेबित्तिकै युगबहादुर गुरूङको छातीमा चस्का पस्छ।
काभ्रेपलाञ्चोक, पनौती–१२ भूमिडाँडाका बासिन्दा उनी ८२ वर्षका भए।
उमेरले एक युग नै बाँचेका युगबहादुरसँग सुनाउन जिन्दगीका बेहिसाब व्यथा छन्। आफ्नै पैतालाले टेकिआएका कथाजस्तो लाग्ने जिन्दगीको लामो यात्राका कति विस्मयकारी क्षण त विस्मृतिको गर्तमा मिसिइ पनि सके।
गत सालको त्रासदी भने उनको मानसपटलमा भयानक दुःस्वप्न बनेर बसेको छ। दुःस्वप्नले बेलाबेला फणा उठाइरहन्छ। र, डसिरहन्छ।
'हिजो रातभरि पनि सुत्न पाइएन। सानो पानी पर्नेबित्तिकै खोला गड्गडाएजस्तो लाग्छ, जमिन हल्लिन थालेझैं हुन्छ, कसरी निदाउनू,' त्रासदीमा बितिरहेका दिनहरू सुनाउँदै युगबहादुरले भने, 'यो बर्खा कसरी काट्ने होला? भन्न पनि कसलाई भन्नू, कतिलाई भन्नू, क–कसलाई मात्र सुनाउनू! हामी त साह्रै आपतमा पो छौं।'
गत साल असोज १० देखि १३ गतेसम्म भीषण वर्षा भयो। जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार बनेपादेखि दक्षिणी भेगमा 'रेकर्ड ब्रेक' वर्षा भयो। खोपासी केन्द्रका अनुसार त्यस अवधिमा त्यहाँ २४ घन्टामा ३३१.६ मिलिमिटर पानी परेको थियो। त्यसअघि सन् २०१५ सेप्टेम्बर ३ (२०७२ भदौ १७) मा २७६.९ मिलिमिटर पानी परेको थियो।
नौ वर्षपछि पोहोर खनिएको भीषण वर्षाले युगबहादुरको थातथलो नै उखेल्यो।
बाढीले छिमलेर खण्डहर बनाएको उनको घर रोशीको बीच बगरमा उभिएको छ। ढल्नका लागि अर्को बाढीको प्रतीक्षामा रहेको उनको यही घरले रोशी किनार र आसपासका क्षेत्रको वीभत्स कथा सुनाइरहेको छ। बसोबास उखेलिएका करिब दुई सय घर–परिवारको दारूण व्यथा सुनाउनकै लागि यो घर त्यत्तिकै छाडिएजस्तो लाग्छ!
आफ्नो पाँच पुस्तालाई ओत दिएको घर क्षतविक्षत भएको सुनाउँदा युगबहादुरले भावुक भए।
सोमबार सेतोपाटी समूह रोशी बगर पुग्दा उनी आँखा त्यही घरमा अडिएका थिए।
'घर मात्र कहाँ हो र, २०–३० मुरी धान फल्ने खेत पनि बाढी–पहिराले लगिदियो,' उनले भने, 'विपत्तिले आँखा लगाएपछि त एकपछि अर्को गरी आउने रहेछ!'
युगबहादुर धेरै हिँडडुल गर्न सक्दैनन्। मझेरीदेखि आँगनसम्मकै दुरी लामो लाग्न थालिसक्यो। बुढेसकालमा दुःखको भ्रामरी खनिएपछि उनी गरिबीको गर्तमा आइपुगेका छन्।
वरिपरि खोलाले घेरिएको, बीचमा उठेका थुम्काथुम्की र त्यसैको फेदीमा बसेका चिटिक्कका किनाराका बस्ती — कुनै बेला यो क्षेत्र भूस्वर्ग थियो।
रोशी खोला बस्तीको जीवनदायिनी थियो।
तर त्यसैले आँखा लगाएर बस्ती ताकेपछि कसको के लाग्छ र!
'सरकारले पानी पर्छ भनेर दुई–चार दिनदेखि भनेकै थियो। तर यहाँ १० गतेसम्म घाम चर्किएको थियो। त्यही साँझदेखि सिमसिम पानी पर्न थाल्यो। भोलिपल्टदेखि अलि ठूलो पर्यो। यो ११ गतेको कुरा थियो। त्यही रातदेखि दर्किएर पर्यो। रातिदेखि नै खोला गड्गडाउन थालिहाल्यो नि!,' गत साल आँखैअगाडि भएको घटनाको इतिवृत्तान्त सुनाउँदै गए, 'वन नै फुटेर ठुल्ठूला मुढा, रूखका जर्बुटाहरू बगाउँदै ल्याएर। ती काठपातले गर्दा ठाउँठाउँमा खोला थुनिँदै खोलिँदै भए। भयानक रूप लिइहाल्यो नि!'
युगबहादुरको घरबाट रोशी खोलो झन्डै पचास मिटरको दुरीमा छ। राति २ बजेतिर खोलाको धार उनको आँगनतिर सोझिएछ। खोलाले घरको दायाँतर्फको पाखो खसाल्न थालिहाल्यो।
उनकी श्रीमती चम्पाको खुट्टाको हड्डीमा चोट लागेकाले प्लास्टर गरिएको थियो। युगबहादुर आफै पनि शरीरभरि घाउ–खटिरा आएर आक्रान्त थिए।
लेदोसहितको भेल आँगनकै बाटो सोझिएर दैलो नै ढक्ढक्याउन थालेपछि उनी परिवारसहित ज्यान जोगाउन हारगुहार गर्न थाले। भाग्दै उनीहरू घरभन्दा भित्तातर्फको पहरोछेउ पुगे।
त्यही बेला खोलाबाट भित्तातर्फ पनि ठूलो पहिरो खस्यो।
'हामी त लेदोमा पो भासिन पुग्यौं। खै कसरी हो, त्यहाँबाट उम्किएर कान्लैकान्ला चिहान पुगेर रात कटाइयो,' उनले भने, 'हाम्रो दुःख सकिएका रहेनछन्। भोलिपल्ट तल झरेको त, हेरिसक्नु थिएन। बाढीले रोशी खोला किनारका सबै बस्ती छोपेर रोशी खोलो त घरको धुरीधुरी पो बगिरहेको रहेछ!'
रोशी, भूमिडाँडाका बाढी प्रभावित क्रमशः युगबहादुर गुरूङ, दुर्गा केसी र मीरा केसी।
तीन–चार दिने लगातार झरीपछि रोशी–कलाँती क्षेत्रमा २०३८ सालमा पनि बाढी आएको थियो। तर यस्तै अकल्पनीय क्षति गरेको थिएन। मानिसहरूको हताहती पनि भएको थिएन। अलिअलि खेतबारी कटान गरेको थियो। केही वर्ष नबित्दै रोशी किनारको जीवनले लय समातिहाल्यो।
फूलचोकीको पानीढलोको रूपमा रहेको रोशी–कलाँती क्षेत्रमा वर्षायाममा बढी नै वर्षा हुन्छ। दर्के झरी पर्दा रोशीमा सामान्य भल आउँथ्यो। वर्षा थामिनासाथ बाढी पनि साम्य भइहाल्थ्यो। वर्षा पर्याप्त हुने भएकाले आसपासका गाउँ रसिलोभरिलो छन्। आयस्ता पनि प्रशस्तै हुन्छ।
अहिले मनसुन याम चलिरहेकाले रोशी आसपासका गुरूङ, मगर गाउँका करेसाबारीमा काँक्रा, फर्सी लगायत तरकारी प्रशस्तै फलेका छन्। स्थानीयहरू आफ्नो खेतबारीमा फलेका काँक्रा, फर्सी, इस्कुस आदि तरकारी डोकामा हालेर बजारसम्म पुर्याइरहेका भेटिन्छन्।

खोला किनारका रूग्ण बस्ती भने भेलबाढीकै त्रासमा अनिँदै रहेको भूमिडाँडाकै मीरा केसीले बताइन्।
निदाऊन् पनि कसरी!
घरको आँगनबाट खोला गेग्रानसहित बगिरहेकै छ। एकाध ठाउँमा जाली भरेर तटबन्द गरिनुबाहेक खोलाको बहाव नियन्त्रणको मूर्त काम भएको छैन। घरको करेसा–रछ्यानमा पर्वतकाय बाढीले छाडेका ढुंगा पल्टिरहेकै छन्। त्यसको व्यवस्थापन गरिएको छैन। खोला खारेर ढुंगा–गेग्रान किनारमै उरूङ लगाइएकाले सानै भेल आए पनि बगाएर ठूलो भेलबाढी बन्ने जोखिम छँदैछ।
आइतबार राति रोशी–कलाँती क्षेत्रमा मध्यम वर्षा भएको थियो। खोलामा भेलबाढी देखिन थालिहाल्यो। अहिले रोशी बगरका अधिकांश प्रभावितहरू विस्थापित भइसकेका छन्। त्यसैले गत सालको बाढीले क्षतविक्षत बनाएका घरहरूका भग्नावशेष समेत पन्छाइएको छैन। बाढीले सामान्य क्षति पुर्याएका अधिकांश घरमा मानिसहरू बस्दैनन्। पनौती, बनेपा र कतिपय काठमाडौंमा डेरा सरेका छन्।
बचेखुचेका मानिसहरू आइतबार रातैभर जागै बसेको केसीले बताइन्। मीरा पनि बाढी–पहिरोबाट विस्थापित भएर छरछिमेकीकहाँ आश्रय लिइरहेकी छिन्।
'मेरो त श्रीमान पनि मानसिक हिसाबले विक्षिप्त हुनुहुन्छ। उपचारको अभावमा उहाँलाई घरभित्रै थुनेर राख्नुपरेको छ। यस्तो श्रीमानलाई छाडेर आफू रातभर बाहिर बस्नुपर्यो,' उनले भनिन्, 'म मात्रै होइन रोशी–कलाँती क्षेत्रका कोही पनि सुत्न पाएनन्। सानो पानी पर्दा पनि उनीहरू बाहिरै बस्छन्।'
आइतबार राति सिंगै बस्तीका मानिसहरू उठेर खोला हेर्न पुगेको उनले बताइन्। खोलाले धार बदल्ने संकेत पाएपछि वडाका प्रतिनिधिलाई भनेर राति नै डोजर लगाएर बहाव व्यवस्थित बनाएको पनि मीराले बताइन्।
भूमिडाँडाको रोशी किनार क्षेत्रमध्ये १२ नम्बर वडा कार्यालय छेउछाउ मात्रै गुलजार छ। त्यसभन्दा माथि एकाथ घरमा मानिसहरू जोखिमको पर्वाह नगरी बसेका छन्। बाँकी घरमा कुनैमा ताल्चा झुन्ड्याइएको छ, कुनैमा खोलालाई नै जिम्मा लगाएझैं असरल्ल छाडिएको छ।

खोलाबाट एक–डेढ सय मिटर माथिसम्मको बस्ती क्रमशः खाली हुँदै गइरहेको स्थानीयले सुनाए।
'खोलाको भर नै भएन, कुन बेला उर्लिएर आउँछ,' मीराले भनिन्, 'मानिसहरू ज्यान जोगाउन, घर–सम्पत्ति, खेतबारी अलपत्रै छाडेर बसाइँ सरेका छन्। रून मन लाग्ने दृश्य छ यहाँ।'
गत सालको विपत्तिले मीराको १८–२० मुरी धान फल्ने खेत बगर बनाइदियो। मानसिक समस्या झेलिरहेका श्रीमान स्याहार्नुपर्ने बाध्यता छ। परिवारमा कमाउने मान्छे कोही नभएकाले उनी दिनादुन निःसहाय बन्दै गइरहेकी छन्।
'यस्तो बेलामा सरकारको आश हुँदो रहेछ। वडा, नगरपालिकाले केही गर्छन् कि भन्ने लाग्दो रहेछ! तर हाम्रो त नामै टिपाउन छुटाएछन्,' मीराले पीडा पोखिन्, 'भेलबाढीले कसैलाई बाँकी राखेको छैन। राजनीति गर्नेहरू चाहिँ यो तेरो पार्टीको, यो मेरो पार्टीको भनिरहेका छन्। उदेक लाग्छ!'
उनले राहतका लागि वडादेखि जिल्ला विपद कार्यालयको ढोकासम्म ढक्ढक्याइसकेकी छिन्। कतैबाट केही उपाय नलागेपछि ज्याला–मजदुरीमा फर्किएकी छन्।
'यत्रो भेल–पहिरोमा त बाँचियो भने हातखुट्टा जोतेर खाऊँला नि भन्ने लागेको छ। तर सरकारले चाहिँ यहाँको अवस्था थाहा पाओस्,' उनले भनिन्।
पनौती नगरपालिका वडा नम्बर १२ को कार्यालयबाट करिब २ किलोमिटर माथि पुगेपछि क्रसर उद्योग सुरू हुन्छ।
स्थानीयहरूका अनुसार भूमिडाँडा आसपास क्षेत्रमा मात्रै १६ वटा क्रसर उद्योग तथा ढुंगा खानी छन्। तीमध्ये ११ वटा त अहिले पनि निर्वाध चलिरहेका छन्। रोशीको भेल छोपिने गरी तिनले माटो उरूङ लगाइरहेका थिए। खोलाले त्यही माटो कटान गरेर होला, पानी नपरे पनि खोला लेदोसहितको देखिन्थ्यो।
खोलाको छेउमा बसेर डाँडैभरि टिपरहरू दौडिएको र डोजरले डाँडो खनिरहेको दृश्य हेरिरहेकी थिइन् स्थानीय दुर्गा केसी।
उनको घर दुईपट्टि खोलाले घेरिएको रहेछ। रोशी भने आँगनसम्मै आइपुगेको थियो। घरबाट खोलापारि पुग्न सानो कंक्रिट फड्के (पुल) हालिएको थियो। पारि दुइटा भत्किएका र एउटा सग्लो घर पूरै खाली थियो। मानिस नभएकाले त्यो निर्जन इलाकाजस्तो देखिन्थ्यो।
एक पाखो पूरै भत्किएको घरको आँगनको डिलमा बसेर उनी टोलाइरहेकी थिइन्।
दुर्गाका अनुसार रोशी खोलाछेउ बाढीबाट आक्रान्त छन्। ताछिएको डाँडाले यसपटक झन् ठूलो भेलबाढी आउने संकेत दिइरहेका छन्। खोलामाथिका बस्ती पहिरोको उच्च जोखिममा छन्।
'हामी मात्रै होइन, भूमिडाँडा, कोलाँती क्षेत्रकै गाउँबस्ती जोखिममा छन्। पोहोर त भाग्यले बाँचियो। यसपटक के हुने हो, यसै भन्न सकिँदैन,' उनले भनिन्, 'हामीलाई पनि भत्किएको घरमा बस्न कहाँ मन छ र! तर अन्त जाने ठाउँ छैन।'
उनले क्षतिग्रस्त घरको आँगन देखाउँदै अगाडि भनिन्, 'यो जग्गा पनि अर्कैको नाममा परेको छ।'
दुईतिर खोलाले घेरिएको ठाउँ भनेर वडा, पालिकाले क्षतिपूर्ति राहत सिफारिस गरेका छैनन्। उनले धाउनुपर्ने निकाय, ढकढक्याउनुपर्ने ढोका सबैतिर चहारिसकिन्।
'जहाँ गए पनि वडाबाट सिफारिस लिएर आउनु भन्छन्। वडाले यहाँ घर बनाउन मिल्दैन, बरू सरिहाल्नुस् मात्रै भन्छ। सर्नैपरे पनि वैकल्पिक व्यवस्था गरिदिए हुन्थ्यो नि,' उनले भनिन्।
दुर्गाले त्यही भत्किएको घरमा होटल, किराना पसलसमेत चलाएकी छिन्। आँगनभरि क्यारम खेल्ने युवा थिए। उनीहरूमा पनि जोखिमको भय थिएन।
'बाढी, पहिरामुनि बस्ने बानी नै परिसक्यो। भूकम्प, भेलबाढी–पहिरो सबै थेगेको ज्यान पो हो त!,' क्यारम खेलिरहेकामध्ये एक जना भन्दै थिए, 'अन्त जाने ठाउँ छैन। जे पर्छ, आफ्नै थातथलोमा बेहोर्ने हो।'
पनौती–१२ का वडाध्यक्ष जयराम केसीका अनुसार केही प्रभावितलाई राहत, पुनर्स्थापनाको काम बाँकी नै छ। जिल्ला विपद व्यवस्थापन समितिले मृतक घरपरिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराएको छ। सबैले पाइसकेका छन्। भूमिडाँडा–कलाँती क्षेत्रमा गत असोजको बाढी–पहिराले ५ जनाको निधन भएको थियो। करिब दुई सय घरमा क्षति पुगेको अनुमान छ।
ती सबै घरधुरीको सर्वेक्षण गरी राहत, पुनर्स्थापनाका लागि सूचीकृत गरिएको नगरपालिकाले बताएको छ।
वडाध्यक्ष केसीका अनुसार बाढी–पहिराले क्षति पुर्याएका घरहरूका लागि अस्थायी आवास अन्तर्गत ५० हजार रूपैयाँ प्रदान गरिनेछ। पहिलो किस्तावापत २५ हजार रूपैयाँ अधिकांश घरहरूलाई निकासा भइसकेको छ।
'केही छुटपुट हुनसक्छ। आएका निवेदनहरू हेरेर हामी सिफारिस गर्छौं,' उनले भने।
प्रभावितहरू भने गत सालको बाढी–पहिराको क्षतिपूर्ति नपाउँदै यस पटकको मनसुनको पनि मध्यमा पुगिसकेकाले अर्को विपत्तिको भयमा छन्।
'यस वर्ष बाँचियो भने न राहत र क्षतिपूर्ति थाप्ने हो! खोलाको चालढाल हेर्दा बाँच्न देलाजस्तो छैन,' युगबहादुरले अन्तिममा पीडा पोखे।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।













