नाम विनम्रकली र वेदगज। जन्मस्थल एउटै, उमेर एक महिनाको फरक छ। झट्ट हेर्दा उनीहरू उत्रै अनि उस्तै देखिन्छन्।
चितवनस्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा धेरै हात्तीहरू छन्। विनम्रकली र वेदगजलाई अरूको पर्वाह छैन। आफ्नै संसारमा मस्त छन् उनीहरू। कहिले विनम्रकली लखेट्छिन्, कहिले वेदगज। फेरि लपक्कै टाँसिन्छन्। कहिले सुँडले एकअर्कालाई मुसार्छन्। कहिले एकले अर्कालाई लात्ताले हान्छन् अनि कुँद्छन्।
बेला–बेलामा उनीहरूका बीचमा प्रतिस्पर्धा पनि बेजोडको चल्छ। कहिले विनम्रकली मुन्ट्याउँछिन्, कहिले वेदजगले न्याँक्छन्। मान्छेहरूका बीचमा कुस्ती खेल भइरहेको जस्तो लाग्छ उनीहरूको चकचकी।
उनीहरूको गतिविधि हेरेर पर्यटकहरू मख्ख नपर्ने कुरै भएन। सबैका क्यामेरा उनैकातिर तेर्सिन्छन्।
हात्ती प्रजनन् तथा तालिम केन्द्रमा अहिले एक वर्षभित्र जन्मिएका ७ वटा छावाहरू छन्। उनीहरूमध्ये विनम्रकली र वेदगजको जोडी खुब मिलेको छ।
गत जेठ ३० गते जन्मिएकी थिइन् विनम्रकली। वेदगज असार २८ गते जन्मिएका थिए। हात्तीलाई विनम्रताको प्रतीक मान्दै तीर्थमानकलीको तेस्रो सन्तानको नाम विनम्रकली राखिएको हो।
चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा महत्वपूर्ण योगदान गरेका दिवंगत पूर्वसंरक्षण अधिकृत वेदकुमार खड्काको सम्मानमा लोकतन्त्रकलीको तेस्रो सन्तानको नाम वेदगज राखिएको हो।
खड्काले संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा लामो समय बिताएका थिए। उनको गत जेठमा निधन भएको थियो।
हात्तीका छावाहरूको वैदिकविधिअनुसार न्वारन गरेर नामकरण गरिन्छ। पोथीको नामको पछाडि ‘कली’ र भालेको नामको पछाडि ‘गज’ वा ‘प्रसाद’ राख्ने चलन छ।
-1754379167.jpg)
-1754379169.jpg)
केन्द्रमा रहेको रेकर्डअनुसार विनम्रकली र वेदगज दुबैका बाबु रोनाल्डो हुन्। यो रेकर्ड अनुसार यी दुई दिदी–भाइ हुन्। राष्ट्रिय निकुञ्जभित्र रहेको प्रजनन् केन्द्रमा रहेका पोथी हात्तीहरू जंगली हात्तीको संसर्गबाट गर्भवती हुन्छन्। रोनाल्डो नामको जंगली हात्ती चितवन निकुञ्जमा हाल रहेका अन्य जंगली हात्तीको तुलनामा शक्तिशाली मानिन्छ। ऊ बाहेक ध्रुबे र गोबिन्दे नामका जंगली हात्ती पनि पोथी हात्तीसँग सम्बन्ध बनाउन प्रजनन् केन्द्र धाइरहन्छन्।
विनम्रकलीकी आमा तीर्थमानकली गणेशकलीकी छोरी हुन्। गणेशकलीले ‘रोमियो’ नामको जंगली हात्तीसँगको सहवासबाट तीर्थमानकलीलाई जन्म दिएकी थिइन्। ५७ वर्षीया गणेशकलीका ७ वटा सन्तान भइसकेका छन्। चितवन निकुञ्जमा रहेका हात्तीहरूमा सबभन्दा बढी छावा जन्माउने गणेशकली नै हुन्। उनी रूपकली र गणेशगजबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा जन्मिएकी थिइन्।
वेदगजकी आमा लोकतन्त्रकलीलाई लक्ष्मीकली नामको हात्तीले २०६३ वैशाख ११ गते जन्माएकी हुन्। २०६२/०६३ को जनआन्दोलन सफल भई लोकतन्त्र प्राप्तिको घोषणा गरिएको दिन जन्मिएकाले उनको नाम लोकतन्त्रकली राखिएको थियो। त्यसअघिसम्म छावाको नाम दरबारले राख्ने चलन थियो। राजतन्त्रको अन्त्यपछि निकुञ्जका प्रमुख संरक्षण अधिकृतले राख्ने चलन सुरू भएको हो। लोकतन्त्रकलीको बाबु ‘नानापाटेकर’ नामको जंगली हात्ती रहेको प्रजनन् केन्द्रको रेकर्डमा उल्लेख छ।
रोनाल्डो, ध्रुबेको युग सुरू हुनुअघि चितवन निकुञ्जमा रोमियो र नानापाटेकरको राज चल्थ्यो। हलिउड फिल्म टाइटानिकका पात्र रोमियो चर्चामा रहेको समयमा र बलिउडमा नानापाटेकर चलेको समयमा देखिएका यी जंगली भाले हात्तीको नाम राखिएको थियो।
उनीहरूको मृत्युपछि रोनाल्डो प्रजनन् केन्द्रका पोथीहरूको मुख्य प्रेमीकारूपमा उदाएको थियो। पालुवा हात्ती प्रजननका लागि महत्वपूर्ण हुने भएकाले प्रजनन् केन्द्रका कर्मचारी पनि भाले हात्तीलाई खाने कुराहरू दिए पल्काउने गर्छन्।
-1754379167.jpg)
-1754379166.jpg)
नेपालका चारवटा एक सिंगे गैंडा लगेर त्यसको बदलामा भारत सरकारले १६ वटा हात्ती दिएपछि २०४४ सालमा खोरसोरमा हात्ती प्रजनन् केन्द्र स्थापना गरिएको थियो। नेपाललाई बर्मा र थाइल्याण्डले पनि २/२ वटा हात्ती उपहार दिए। विगतमा सौराहामा एउटा मात्रै हात्तीसार थियो।
२०५४ सालबाट हालसम्म प्रजनन् केन्द्रमा ६९ वटा छावा जन्मिएका छन्। गत आर्थिक वर्षमा मात्रै यहाँ ५ वटा छावा जन्मिएका थिए। आर्थिक वर्ष २०८२/०८३ लागेपछि साउन ७ गते नयाँ छावा जन्मिएको छ। तमरकली नामको हात्तीले जन्माएको छावाको नाम चितवन निकुञ्जका संस्थापकमध्ये एक पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा रामप्रित गत राखिएको छ।
अहिले यहाँ माउ–छावा गरेर २२ वटा हात्ती रहेको केन्द्रका प्रमुख मनपुरन चौधरीले जानकारी दिए। छावामध्ये ६ वटाले तालिम पाइसकेका छन्। ७ वटालाई तालिम दिन बाँकी छ। छावाहरू ३ वर्षको भएपछि तालिम दिने चलन छ।
प्रजनन केन्द्रसहित निकुञ्जका विभिन्न पोष्टहरूमा गरेर ५८ वटा हात्तीहरू रहेको चौधरीले बताए। यहाँ जन्मिएर तालिम पाएका हात्तीहरूलाई सरकारले विभिन्न स्थानमा गस्ती तथा अन्य कामका लागि खटाउँछ।