'मैले क्षतिपूर्ति पाउँछु होला त?' लठ्ठी टेकेर सिढी झर्दै गरेका युवकले आफूसँगै हिँडेका अर्का व्यक्तिलाई सोधिरहेका थिए।
अर्का व्यक्तिले पनि उस्तै स्वरमा जबाफ फर्काए- आफ्नो समस्या भनेका छौं, प्रहरीलाई विश्वास गर्यौं।
यस्तैयस्तै कुरा गर्दै बुधबार दिउँसो दुई व्यक्ति मानव बेचबिखन अनुसन्धान ब्युरोको पहिलो तल्लाबाट झर्दै थिए।
लठ्ठीले मात्र शरीर थाम्न नसकेपछि तल झर्दै गर्दा ३७ वर्षीय खिलबहादुर भुजेल बेलाबेलामा अर्का व्यक्तिलाई समात्न पुग्थे।
ती अर्का व्यक्ति भने खिलबहादुरको जेठो दाइ मानबहादुर भुजेल हुन्। दुई/तीन दिनदेखि उनीले नै न्याय माग्नका लागि विभिन्न निकायहरूमा ल्याउने, पुर्याउने गरिरहेका छन्।
'काम गरेर दुई-चार पैसा कमाउने लोभमा भारत गएको थियो,' उनले भाइको टिसर्ट माथि सार्दै भने, 'हेर्नुहोस् त मिर्गौला नै निकालिदिएछन्, आफ्नो शरीरको अंग नै निकाल्दासम्म पत्तो पाएनछ।'
खिलबहादुर आफूलाई जागिरको प्रलोभनमा पारेर भारत पुर्याइ मिर्गौला निकालिएको दाबी गर्दै ब्युरो आइपुगेका थिए।
त्यही क्रममा भेटिएका खिलबहादुरसँग सेतोपाटीले कसरी भारतसम्म पुर्याइयो र मिर्गौला निकालियो भनेर कुराकानी गरेको छ।
सिन्धुली दुधौली नगरपालिका-१ मा जन्मिएका खिलबहादुर घरका साइँला छोरा हुन्। उनका चार दाजुभाइ र दुई दिदीबहिनी छन्।
उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा पढ्न पाएनन्। बा-आमालाई खेतीपातीमा सहयोग पुर्याउँदै हुर्किए, बढे।
ठूलो भएपछि आफूले सक्ने ज्यामी काम गर्दै हिँड्न थाले। दिनभरको थकान मेटाउन उनलाई रक्सी पिउने बानी लाग्यो।
दिनभर काम गर्थे। रातमा रक्सी पिउँथे। त्यसरी नै उनको गुजारा चलिरहेको थियो। २१/२२ वर्षकै उमेरमा ज्यामी काममा जाँदाजाँदै एउटा युवतीसँग प्रेम विवाह गरे। तर लामो समय टिकेन।
उनी सधैं रक्सी खान थालेपछि पत्नीले सहन सकिनन्। सम्बन्ध टुट्यो। त्यसपछि उनले दोस्रो विवाह गरे। 'पहिलो श्रीमतीबाट १५ वर्षको छोरी छे,' उनले भने, 'दोस्रीबाट ६ वर्षको छोरा छ।'
धेरै रक्सी खाएर घर व्यवहार सम्हाल्न नसकेपछि अर्कीले छोडेर अन्तै गएको उनी बताउँछन्।
'कमाएको दुई/चार पैसा घरखर्च दिएको भए बस्थे। कमाउने रमाउने गर्यो अनि कहाँबाट बस्छन् त श्रीमती?,' उनका दाजु मानबहादुरले फ्याट्ट बोले।
खिलबहादुरले पनि यसलाई चुपचाप बसेर सहमती जनाए। दुवै श्रीमतीले आआफ्ना सन्तानलाई साथमा लिएर गएर छन्।
दुवै श्रीमतीले छोडेर गएपछि तीन वर्षअघि तेस्रो विवाह गरेका थिए। तेस्रो विवाह पनि लामो समय टिकेन्। उनले पनि छोडेर गएको खिलबहादुर सुनाउँछन्।
तेस्रो श्रीमतीले छोडेपछि उनी झन धेरै रक्सी पिउने भएका थिए। केही काम धन्दा नगरी गाउँमा डुल्ने र रक्सी पिउने गर्थे।
दिनहुँ खिलबहादुर नशामै झुमिरहने भएपछि घर परिवारले आग्रह गर्दा-गर्दा २०८१ फागुनतिर गाउँ छोडेर काठमाडौं छिरे।
काठमाडौंका उनका दाजुहरूले सडक निर्माणसम्बन्धी विभिन्न काम गर्थे। त्यसैले उनलाई काम पाउन त्यति गाह्रो भएन।
उनीहरूका मालिक ठेकेदारले ललितपुरको सुनाकोठी र जनकपुरमा ठेक्काको काम गर्न मजदुर खटाइरहेका थिए।
'सुनाकोठीमा काम गर्ने केही मजदुरलाई जनकपुर लगेर जानुभयो। म पनि गएँ,' खिलबहादुरले भने, 'त्यहाँ गर्मीले काम गर्न नसकेपछि २१/२२ दिनमै फर्किएँ।'
मानबहादुरले भने त्यहीँ काम गरिरहे।
खिलबहादुर काठमाडौं फर्किएसँग उसले फोन नबोक्ने भएकाले आफूसँग कुनै सम्पर्क नरहेको मानबहादुर बताउँछन्।
यता खिलबहादुर भने काठमाडौं फर्किने बेला विभिन्न ठाउँहरू घुम्दै फर्किए। आफू केही दिन पोखरासमेत काम खोज्न पुगेको उनको भनाइ छ।
पोखरामा काम नपाएपछि भने जेठको अन्तिमसातातिर काठमाडौं फर्किएका थिए।
काठमाडौं फर्किएपछि सुनाकोठीमै काम खोज्न गए। तत्काल त्यहाँ काम नपाएपछि उनी त्यही आसपास विभिन्न ठाउँ डुले। तर कतै काम भेटेनन्।
काम खोज्दै हिँड्ने क्रममा कोटेश्वरको आकासे पुलनजिकै एकजना निर्मल (नाम परिवर्तन) सँग उनको भेट भयो।
यस घटनामा अनुसन्धान भइरहेकाले खिलबहादुरले भेटेका व्यक्तिको नाम हामीले गोप्य राखेका छौं।
भेटमा खिलबहादुरले निर्मललाई आफू काम खोज्दै हिँडेको कुरा सुनाए। पुलमुनि बसेर निक्कैबेरसम्म उनीहरूले गफगाफ गरे।
'यसरी ज्यामी काम खोज्दै हिँड्नुभन्दा म होटेलमा काम लगाइदिन्छु सँगै हिँड भन्नुभयो,' खिलबहादुर भन्छन्, 'कुन ठाउँको होटेल हो भनेर सोधे। उहाँले भारतको भएको जानकारी दिनुभयो।'
खिलबहादुरका अनुसार उनलाई भारतको एक होटेलमा सरसफाइ र खाना बनाउने काम गरेबापत मासिक २० हजार रूपैयाँ दिने भनेर भनियो।
तत्काल कुनै काम नभएकाले बस्न खान दिएर २० हजार रूपैयाँ तलब आउँछ भनेपछि उनी पनि भारत जान सहमत भए।
खिलबहादुर सहमत हुनसाथ निर्मलले अर्का एक व्यक्तिलाई फोन गरेर तत्काल त्यही बोलाएका थिए।
'अर्का एक व्यक्ति आउनसाथ भारतका लागि तत्काल निस्किने भनेर ट्याक्सी बोलाए,' उनले भने, 'कोटेश्वरबाट ट्याक्सी चढेर हामी कलंकीसम्म पुग्यौं। ६ सय रूपैयाँ भाडा निर्मल आफैंले तिरे।'
कलंकी पुगेपछि निर्मलले त्यहाँको पेट्रोल पम्म नजिककै एक होटेलमा लिएर गए। त्यहाँ गएर निर्मलले क्यान बियर खाए। र आफूले गोल्डेनवाक नामको रक्सी पिएको उनी बताउँछन्।
अर्का व्यक्तिले भने चिसोमात्र खाए।
रक्सी खाइरहेका बेला निर्मलले गाडी छुट्न लाग्यो भन्दै होटलबाट निकालेर लगे। कंलकीबाट साझँ ५ बजेतिर आफूहरू बस चढेको उनी बताउँछन्।
उनलाई मिति भने ठक्कै याद छैन। जेठको अन्तिम साता भएको दाबी गर्छन्।
'बस चढ्दैगर्दा कहाँ जाने भन्दा निर्मलले बुटवलसम्म जाने भनेका थिए। नौविसेमा बस रोकिएपछि मैले पुन रक्सी पिएँ,' उनले भने, 'खाना खाने ठाउँमा रोक्दा मासुभातसँगै फेरि रक्सी खाएँ।'
उनलाई त्यसपछि भने कुनकुन ठाउँमा बस रोकियो, कुन बाटो हुँदै गएको थियो। यात्रामा केके भयो भन्ने केही पनि याद छैन।
उनी बस चढेको भोलिपल्ट दिउँसोको १२ बजे बुटवल पुगेका थिए। त्यहाँ झरेपछि मात्र उनी होसमा आएको सेतोपाटीलाई जानकारी दिए।
त्यहाँ झरेपछि पनि आफूलाई नजिककै होटेलमा खाजा खाना लगिएको थियो। त्यहाँ पनि आफूले रक्सी मात्र खाएको उनी सम्झन्छन्।
निर्मल र अर्का व्यक्तिले उनलाई रक्सी खान कुनै रोकतोक गरेका थिएनन्। दिनभर त्यहीँ बसेर साँझपख बुटवलबाट गाडी चढेको खिलबहादुरलाई हल्काहल्का याद छ।
'निर्मलले एउटा परिचयपत्र झिकेर देखाउँदै हामी भारतमा होटल लाइनमा काम गर्न जान लागेको भनेपछि बोर्डर पार गर्न दिनुभयो,' उनले भने, 'बोर्डर पार गरेसँगै सानो खालको गाडीमा चढाएर लैजानुभयो। रक्सीको नशामा थिएँ। त्यसपछि खासै याद छैन।'
बुटबलबाट हिँडेको तेस्रो दिन साँझतिर भारतको दिल्ली पुर्याइएको पुगिएको थियो। त्यहाँ आफूलाई एउटा ठूलो अपार्टमेन्टको एक कोठामा राखेको उनले सेतोपाटीलाई जानकारी दिए।
'पुगेको दिन हामी एकैठाउँमा बस्यौं, खाना खाएर सुत्यौं,' उनले भने, 'भोलिपल्ट त्यही कोठा नजिकै अर्का एक जना नेपाली भेटिए। उनी भने छुट्टै कोठामा बस्ने रहेछन्।'
त्यहाँ पुगेको दोस्रो दिन निर्मलको टिमले खिलबहादुरलाई डेढ घन्टा गाडी चढाएर लगे। कहाँ जाने भनेर पहिला भनेनन्।
अस्पताल पुगेपछि भने आफूलाई किन यहाँ लिएर आएको भनेर सोधेको उनी बताउँछन्।
'तिम्रो शरीर चेकअप गर्नुपर्छ भनेर रक्तसमूह, एक्स-रे लगायतका जाँच गर्नुभयो र हामी फर्कियौं। त्यहाँको पैसा कसले तिर्यो थाहा छैन,' उनले ती दिन सम्झिँदै भने, 'त्यतिबेलासम्म पनि किन जाँच गरिएको भन्ने मैले थाहा पाएको थिइनँ।'
अस्पतालमा जाँच गरेर फर्किएपछि उनलाई त्यही कोठामा राखियो। उनीसँगै गएका दुई जना पनि त्यही बसे।
बस्नका लागि आवश्यक सामान निर्मल आफैले किने ल्याउने गर्थे। खाना बस्नमा कुनै समस्या भएन्। दुई चार दिनसम्म खिलबहादुरले कामको बारेमा पनि केही सोधेनन्।
तर दुई सातासम्म काममा नपठाएपछि होटेलमा काम गर्ने भनेर ल्याएको होइन ? खोइ काम कहिलेबाट सुरू हुन्छ भनेर आफूले सोधेको उनले सुनाए।
निर्मलले अब हुन्छ बस्दै गर्नुन् भनेर थमथमाउने गरेको खिलबहादुर बताउँछन्।
आज, भोलि काम हुन्छ भन्दाभन्दै एक महिना बित्यो। तर खिलबहादुरले काम पाएनन्। त्यही कोठाभित्र बसिमात्र रहे।
'त्यहाँ आफूजस्तै थुप्रै नेपालीहरू थिएँ, हामीलाई रेखदेख गर्न एकजना नेपालीलाई नै राखिएको थियो। तर कसैले काम गर्दैनथिए,' उनले सेतोपाटीसँग भने, '२०८२ साउन दोस्रो सातातिर निर्मलले एक्कासि भोलि तिम्रो मिर्गौला निकाल्ने हो। त्यसवापत तिमीले ६ लाख रूपैयाँ पाउँछौं। नेपाल गएपछि पैसा दिन्छौं भन्नुभयो।'
उनी आत्तिए।
'म होटेलमा काम गर्न आएको हुँ। मिर्गौला दिन्न भन्दा तिमीहरूलाई यहाँसम्म ल्याउन खर्च भइसकको छ। थप ६ लाख रूपैयाँ पनि पाउँछौं। अब दिन्न भन्न पाउँदैनौ भन्नुभयो,' उनले भने, 'हुँदैन भन्दा धम्की दिइयो। कुटपिट गर्ने डरत्रास देखाइयो।'
त्यसपछि खिलबहादुर केही बोल्न सकेनन्।
एउटा कोठामा अन्य मानिसको रेखदेखमा राखिएका उनी बाहिर निस्किएर भाग्ने अवस्था थिएन। त्यो रात आफू निदाउन नसकेको उनी बताउँछन्।
भोलिपल्ट बिहानपख उनलाई जबरजस्ती एउटा गाडीमा हालेर लगियो। लगभग ४/ ५ घन्टाभन्दा बढी यात्रा गरेर एक अस्पतालमा पुर्याइएको उनको भनाइ छ।
उनले अस्पताल पुग्दासम्म आफूले मिर्गौला दिन नचाहेको भनेर भनिरहेको दाबी गर्छन्।
'अस्पताल पुर्याएपछि हातमा एउटा सुइ लगाएकोसम्म याद छ। त्यसपछि केही याद छैन,' उनले भने, 'चार/पाँच घन्टापछि होसमा आउँदा पेटको बाँया भाग बेस्सरी दुखिरहेको थियो। तत्काल हेर्न पनि सकिनँ। भोलीपल्ट थाहा भयो मिर्गौला निकालिएको रहेछ।'
उनलाई दुई दिनसम्म त्यही अस्पतालमा राखिएको थियो। अस्पतालमा राखिएको तेस्रो दिन उनलाई लिन निर्मल पुगेका थिए। उनलाई लिएर फर्किंदा निर्मलले पैसाको झोलासमेत बोकेर फर्किएको उनको भनाइ छ।
उनलाई अस्पतालबाट ल्याएर तीन दिनसम्म कोठामा राखिएको थियो। त्यहाँ बस्दा निर्मल लगायत सबै व्यक्तिहरूको आफ्नै जस्तो पेटको बायाँ भागमा चिरेको दाग देखाएको उनी बताउँछन्।
'त्यहाँ बस्ने बसै नेपालीको पेटको बायाँ भागमा मेरो जस्तै घाउको दाग थियो। तर कोही केही बोल्दैन थिए,' उनले भने, 'कोठा आएको तीनदिन पछि साउनको १२ गते घर फर्किने निश्चित भयो।'
निर्मलले खिलबहादुरसहित पाँच जनालाई दुई जना साथीहरूको जिम्मा लगाएर घर पठाइदिए।
उनका अनुसार घर फर्किनेबेलामा निर्मलले बाटो खर्च भनेर खिलबहादुरलाई १० हजार रूपैयाँ दिएका थिए। बाँकी रकम नेपाल पुगेपछि अर्थात सुनौली आएपछि सँगै फर्किन लागेका निर्मलको साथीले दिने भनेर भनेका थिए।
आफूसँगै आएका व्यक्तिहरूको नाम, ठेगाना भने खिलबहादुरलाई केही थाहा नभएको दाबी गर्छन्।
उनीहरू त्यहाँबाट एक दिनमै सुनौली आइपुगेका थिए।
सुनौली आइपुगेपछि जिम्मा लगाएका व्यक्तिसँग खिलबहादुरले पैसा मागे। तर उनीहरूले काठमाडौं पुगेपछि दिने भनेको उनको भनाइ छ।
निर्मलले साथीले सुनौलीबाट गाडी रिजर्भ गरेर काठमाडौंको नयाँ बसपार्कसम्म ल्याए। नयाँ बसपार्क आइपुगेपछि सबैजना झरेर आआफ्नो बाटो लागे।
साउन १५ गते साँझ काठमाडौं आइपुगेको उनी बताउँछन्।
'नयाँ बसपार्कमा झर्नसाथ निर्मलका साथीसँग पैसा मागे ५ सय रूपैयाँ दिएर भागिहाले। मेरो पेटको घाउ दुख्न थालेको थियो। बोल्न, हिँड्न सकेको थिइनँ, उनीहरू मैले बोलाउँदा बेलाउँदै फटाफट निस्किएँ,' उनले भने, 'उनीहरू छुट्टाछुट्टै ठाउँतिर हिँडे। मैले चिच्याउँदा पनि फर्केर हेरेनन्।'
उनी धेरै बोल्नसक्ने अवस्थामा थिएनन्। त्यसपछि उनलाई कहाँ जाने के गर्ने भनेर भेउ पाउन सकेनन्। घाउ धेरै दुखेकाले कपनस्थित चिनेजानेकहाँ जाने सोचे र त्यही गएको उनी बताउँछन्।
बसपार्कबाट चाबहिल र चाबहिलबाट अर्को गाडी चढेर कपन पुगे। चिनजानको साथीको कोठामा पुगेर उसलाई त्यो साँझ केही नभनी सुतेको उनी बताउँछन्।
'भोलीपल्ट बिहान उठ्दा साथमा एक रूपैयाँ पनि थिएन। त्यही साथीलाई घर जान पैसा सहयोग मागेर घर गएँ,' उनले भने, 'घर पुग्दा वाकवाक लाग्ने, रिगँटा लाग्ने, घाउ दुख्ने भयो। बेहोस नै होला जस्तो भएको थिएँ। त्यसपछि घर परिवारलाई टिसर्ट माथि सारेर देखाइदिएँ।'
पेटमा घाउ भएको भनेर देखाएपछि परिवारका सदस्यहरू आत्तिनु भयो। घटनाबारे विस्तृतमा जानकारी दिए। घाउ बेस्सरी दुखिरहेकाले उपचारका सिन्धुलीकै समिट माउन्ट अस्पताल गएको उनले बताए।
उनको पेटको बायाँ भागमा २२ वटा टाँका लगाइएको छ। त्यो घाउँदेखेपछि उनका परिवारले मिर्गौला निकालिएको हुनसक्ने भनेर समिट माउन्ट अस्पतालमा चेकजाँच गराए।
अस्पातलले एउटा मिर्गौला निकाएको पुष्टि गरिदियो।
त्यसपछि उनका परिवारले खिलबहादुरलाई प्रलोभनमा पारेर भारत पुर्याएर मिर्गौला बेचिएको जानकारी पाए।
'जनकपुरको काम छोडेर आएदेखि नै सम्पर्कमा आएको थिएन,' मानबहादुरले भने, 'घर गएपछि मात्र भाइ आएको जानकारी पाएँको हुँ।'
अस्पतालले एउटा मिर्गौला नभएको पुष्टि गरेसँगै खबर सामाजिक सञ्जालभरि भयो। त्यसपछि खिलबहादुरका परिवार जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगे।
'जागिरको प्रलोभनमा पारेर भारत पुर्याइ मिर्गौला निकालिएको भनेर सोमबार आउनु भएको थियो। हामीले अनुसन्धान गरेपछि मानव बेचबिखनमा पर्ने देखिएपछि ब्युरो पठाइदिएका हौं,' सिन्धुलीका एसपी लालध्वज सुवेदीले भने, 'हामीले यस केसको बारेमा ब्युरोसँग छलफल गरेरै पठाएका छौं।'
उनलाई दुधौली नगरपालिका-१ का वडाध्यक्ष जयबहादुर पौडेलले ब्युरो लिएर आएका थिए।
खिलबहादुरले बुधबार ब्युरोमा जाहेरी दिएका छन्। उनले जाहेरी दिएसँगै यस घटनामा अनुसन्धान अगाडि बढाइएको ब्युरोका एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
'हामीले यस घटनामा अनुसन्धान गरिरहेका छौ। यस घटनामा एउटा गिरोह नै सक्रिय भएको हुनसक्ने अनुमान गरेका छौं।'
उनका अनुसार एउटा गिरोहले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले विभिन्न प्रलोभन देखाएर भारत पुर्याएर मिर्गौला निकाल्ने गरेको देखिएको छ। तर खिलबहादुरले भनेअनुसारका व्यक्तिहरूलाई खोजिकार्य भइरहेको छ।
खिलबहादुरसँग जोडिएका व्यक्तिहरू केही भारतमा भएकाले निर्मलले जिम्मा दिएर पठाएको साथीलाई प्रहरीले पक्राउ गरेको छ।
'निर्मलको साथीलाई पक्राउ गरेसँगै थप अनुसन्धान अगाडि बढेको छ,' उनले भने, 'अरूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं।'