कैदीहरूको दुई समूहबीच झडप भएपछि कैलाली कारागार कार्यालय तनावग्रस्त छ।
शुक्रबार मध्यराति कारागार कार्यालयको ब्लक 'ए' र ब्लक 'बी' मा रहेका कैदीबन्दीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको हो।
झडपमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरी छन्।
घटनामा ४७ जना कैदीबन्दी घाइते भएका छन्। तीमध्ये धनगढीका रवि चौधरी र गोदावरीका आयुष भट्टलाई आसियूमा राखेर उपचार भइ रहेको डिएसपी सिंहले बताए।
मध्येरातिको घटना भएकाले कारण खुलिसकेको छैन। दिउँसोसम्म पनि स्थिति सामान्य बनिसकेको छैन।
कैलालीका निमित्त कारागार प्रमुख रामकुमार चौधरीका अुनसार कैदीबन्दीले नै भित्रबाट कारागारमा ताला बन्दी गरी बसेका छन्। उनीहरुले प्रहरी प्रशासनलाई भित्र प्रवेशमा रोक लगाएका छन्।
'उनीहरु आफै भित्रबाट लक गरी बसेका छन्,’ उनले भने, ‘बाहिरबाट सम्झाइ-बुझाइ गर्ने प्रयास जारी छ।’
निमित्त प्रमुख चौधरीले आफू अस्पतालमा बिरामीको उपचारको व्यवस्थापनमा खटिएको बताए।
घटनापछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिको बैठक पनि बसेको थियो।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले घटनापछि प्रमुख जिल्ला अधिकारी इ. गोगनबहादुर हमालको अध्यक्षतामा बसको सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको छ।
समितिमा जिल्ला प्रहरी प्रवक्ता डिएिसपी राजकुमार सिंह, सशस्त्रका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्रसिंह सदस्य छन् भने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी सदस्य सचिव रहेका छन्।
समितिलाई दस दिन भित्र प्रतिबेदन बुझाउन भनिएको छ।
प्रशासकीय अधिकृतसमेत रहेका सूचना अधिकारी जोशीले पछिल्लो समय कारागार भित्रको अवस्था शान्त भइ सकेको बताए।
‘भित्र कैदी बन्दीले आफै ताला लगाएका छन्,’ उनले भने ‘एउटा ब्लकको मान्छे अर्कौ ब्लकमा जान नपाउन् र थप झडप हुन नपावस भनेर उनीहरुले अपनाएको सावधानी हो।’
सूचना अधिकारी जोशीका अनुसार झडपमा ज्यान गुमाएका ४० बर्षीय भरत चौधरी लागु औषध मुद्दामा झन्डै ६ महिना पहिला कारागार चलान भएका थिए ।
कैलाली कारागारको क्षमता जम्मा १५० जनाको मात्रै छ। तर, त्यहाँ भन्डै ७ गुणा बढी अर्थात सात सयभन्दा बढी कैदीबन्दी राखिएका छन्।