युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको स्वागत गरेका छन्।
ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका हुन्।
फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले शनिबार संयुक्त विज्ञप्ती जारी गरेर युक्रेनमा जारी युद्ध अन्त्यका लागि कुटनीतिक पहलको स्वागत गरेका हुन्।
युक्रेनमा युद्ध अन्त्यका लागि सम्भावित सम्झौताहरूको मस्यौदा तयार भइसकेको छैन।
यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले रूस र युक्रेन दुवैलाई लाभ हुने गरी जमिनको अदलाबदली गर्नुपर्ने हुनसक्ने बताएका थिए।
उनले त्यसका लागि युक्रेनले ठूलो भूभाग त्याग्नुपर्ने हुनसक्ने बताएका थिए।
शनिबार नै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बेलायतको लन्डनस्थित चेभनिङ हाउसमा बेलायती विदेशमन्त्री डेभिव लामी तथा युक्रेनीसँगै युरोपेली प्रतिनिधिहरूसँग छलफल गरेका थिए।
शनिबार युरोपेली नेताहरूले युद्धविराम सम्झौताका लागि पाँचवटा सर्त राखेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
त्यसपछि संयुक्त वक्तव्य जारी गरी युरोपेली नेताहरूले युद्धविरामको पहल स्वागतयोग्य भएको तर युद्धविरामका लागि केही सर्तहरू राखेको रोयटर्सले जनाएको छ।
पहिलो सर्त युक्रेन र युरोपको सुरक्षा हितबारे छ।
उनीहरूले युद्धविरामका लागि हुने कुनै पनि सम्झौताले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा हुनुपर्ने बताएका छन्।
'कुटनीतिक समाधानले युक्रेन र युरोपको महत्त्वपूर्ण सुरक्षा हितको रक्षा गर्नुपर्छ भन्ने हाम्रो साझा विश्वास छ। विशेषगरी युक्रेनको सुरक्षा ज्ञारेन्टी हुनुपर्छ,' युरोपेली नेताहरूको साझा विज्ञप्तीमा भनिएको छ।
दोस्रो सर्त वार्तामा युक्रेनको सहभागीताबारे छ।
ट्रम्पले पनि पुटिनसँग छिट्टै वार्ता हुने घोषणा गर्दा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि वार्तामा सहभागी गराउने भनेका थिए।
तर अहिलेसम्मका विकसित घटनाक्रमहरूले वार्तामा जेलेन्स्की सहभागी हुने तय भइसकेको छैन। रूस र अमेरिका दुवैले अलास्कामा ट्रम्प र पुटिनबीच भेटवार्ता हुने भनेका छन्। दुवै देशले औपचारिक रूपमा जेलेन्स्कीको नाम समावेश गरेका छैनन्।
जेलेन्स्कीले आफैले पनि शुक्रबार भिडिओ सन्देश जारी गर्दै युक्रेनमा हुने युद्धविराममा युक्रेनको सहभागीता अनिवार्य हुनुपर्ने बताएका थिए। त्यति मात्रै होइन आफ्नो अनुपस्थितीमा हुने कुनै पनि सम्झौता कार्यान्वयनका लागि युक्रेन बाध्य नहुने भनेका थिए।
शनिबार युरोपेली नेताहरूले पनि युक्रेनको सहभागीतामा जोड दिएको रोयटर्सले जनाएको छ।
'शान्तिको बाटो युक्रेनको सहमतिबिना तय हुन सक्दैन। वार्ता र निर्णय प्रक्रियामा युक्रेनको प्रत्यक्ष सहभागीता हुनुपर्छ,' उनीहरूले विज्ञप्तीमा भनेका छन्।
युरोपेली नेताहरूले अन्तर्राष्ट्रिय सीमा बलपूर्वक परिवर्तन गर्न नपाइने तेस्रो सर्त राखेका छन्।
उनीहरूले रूसले युक्रेनी भूभाग हडपेर सीमा परिवर्तन गर्ने कुनै पनि कदम अस्वीकार्य हुने बताएका छन्।
' अन्तर्राष्ट्रिय सीमा बलपूर्वक परिवर्तन गर्न पाइँदैन। वार्ताको सुरुवातको आधार अहिलेको सम्पर्क रेखा हुनुपर्छ,' उनीहरूले भनेका छन्।
ट्रम्पले भने भूभागहरूबारे उल्लेख नगरी अदलाबदलीको क्रममा युक्रेनले आफ्नो ठूलो जमिन गुमाउनुपर्ने हुनसक्ने भनेका थिए।
चौथो सर्त दुई देशबीच एकअर्काको भूभाग साटासाट गर्दा पारस्परिक (रेसिप्रोकल)हुनुपर्ने भनेका छन्।
उनीहरुले वार्ता सुरू हुँदा हालको मोर्चा रेखा (लाइन अफ कन्ट्याक्ट)लाई आधार बनाउनुपर्ने भनेका छन्।
यसको मतलब दुवै देशले जति-जति भूभाग छ ती यथास्थितिमै रहने र साटासाट गर्दा पनि दुवै देशले बराबरी पाउने र बराबरी गुमाउने ढंगले हुनुपर्ने भनेका छन्।
उनीहरूले लडाइँ घटेपछि युद्धविराम हुनुपर्नेमा पनि जोड दिएका छन्। युद्धकै बीच युद्धविरामभन्दा युद्ध रोकेपछि शत्रुता कम गर्दै वार्तामा सहभागी हुनुपर्ने भनेका छन्।
वाल स्ट्रिट जर्नलले युरोपेली नेताहरूले वार्ताका लागि सम्झौताको मस्यौदा समेत बनाएको उल्लेख गरेको रोयटर्सले जनाएको छ।
युक्रेनी राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रेई यर्माकले युरोपेली नेताहरूको सर्त स्वागतयोग्य भनेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि सबै दृष्टिकोणको स्वागत गरेको भन्दै यमार्कले धन्यवाद दिएका छन्।
युरोपेली नेताहरूका यी सर्तहरूले ट्रम्पको प्रस्तावित वार्ता प्रक्रियामा थप चुनौती ल्याउन सक्ने देखिएको रोयटर्सले जनाएको छ। तर ती अडानहरू न्यायपूर्ण र दिगो शान्तिको पूर्वशर्तका रूपमा रहेकाले वार्तामार्फत समाधान हुनसक्ने भनिएको छ।
अलास्कामा पुटिनसँग वार्ता हुने भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपेली नेताहरूसँग कुराकानी गरेका थिए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने चीन, भारत र पूर्व सोभियत संघका तीन देशका राष्ट्रप्रमुखहरूसँग टेलिफोन संवाद गरेका थिए।