सहरी क्षेत्रमा बढ्दो ध्वनी प्रदूषणले चराहरूको 'गीत' र 'कल' मा असर परिरहेको एक अध्ययनले देखाएको छ।
काठमाडौं उपत्यकाका ओरियन्टल म्यागपाइ रोबिन (धोबिनी चरा) को विषयमा गरिएको अध्ययनले हल्ला बढी भएका ठाउँमा उनीहरूले ठूलो स्वरले चिच्याउनुपरेको देखाएको छ।
ठूलो स्वरमा कराउनुपर्दा चराहरूको ऊर्जा बढी खर्च भएको र उनीहरूले आवाजको तत्वहरू घटाउने गरेको अनुसन्धानकर्ता मधु महर्जनले जानकारी दिए।
मधुका अनुसार प्रायःजसो चराहरू प्रजननको समयमा जोडीलाई आकर्षित गर्न गीत गाउँछन्।
'पिप पिप, टिक टिक' जस्तो सुनिने 'कल' भने चराहरूले सधैं निकाल्छन्। चल्लाले अभिभावकसँग कुरा गर्न, प्रजननअघि गुँड बनाउँदा आफ्नालाई खबर दिन, सहयोग माग्न, चेतावनी दिन, खानाका लागि, म यहाँ छु भनेर जानकारी दिन छोटो आवाज 'कल' निकाल्छन्।
उनीहरूले गाउने गीत भने लामो हुन्छ। यसले मान्छेलाई पनि लोभ्याउँछ।
खानेकुराका लागि माउहरूमा निर्भर हुने भएकाले चल्लाका लागि कल निकै महत्त्वपूर्ण रहेको मधुले बताए।
माउ र चल्लाबीच आफूहरू कहाँ छौं भनेर पनि सञ्चार हुने भएकाले कल महत्त्वपूर्ण छ।
'हाम्रो अध्ययनले धोबिनी चराको कलको न्यूनतम आवाज धेरै हल्ला खल्ला हुने ठाउँमा ठूलो थियो। कम हल्ला भएको ठाउँमा आवाज सानो थियो। यसको अर्थ धेरै हल्ला हुने ठाउँमा आफ्नो कुरा जानकारी गराउन चराले ठूलो आवाज निकाल्नुपर्ने बाध्यता रहेछ,' उनले भने, 'ठूलो स्वरले गीत गाउँदा, कल निकाल्दा चराहरूको ऊर्जा धेरै खर्च हुन्छ। यसले उनीहरूको कलको तत्व नै घटाउँछ।'
अनुसन्धानकर्ताहरूले यो अध्ययन काठमाडौं उपत्यकाको सबभन्दा बढी ध्वनी प्रदूषण हुने स्थानदेखि हरियाली क्षेत्रसम्म गरेका थिए। अध्ययनका लागि सन् २०२२ सेप्टेम्बर र अक्टोबरमा चराको कल रेकर्ड गरिएको थियो।
सन् २०२३ फ्रेब्रुअरी र मार्चमा चराको गीत रेकर्ड गरिएको थियो। फेब्रुअरी–मार्च प्रजननको समय हो। हरेक दिन बिहान ६ देखि ११ बजेसम्म ३० ठाउँमा जूम रेकर्डर र माइक प्रयोग गरेर चराको कल रेकर्ड गरिएको थियो।
प्रजनन समयमा गीतहरू ३१ ठाउँमा रेकर्ड गरिएका थिए। त्यसअघि कुन ठाउँको अवस्था कस्तो छ भन्ने थाहा पाउन भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रयोग गरिएको थियो।
'जति हरियाली क्षेत्र बढ्यो, त्यहाँ हल्ला कम थियो र त्यहाँ चराको स्वर सानो हुँदै गएको थियो। हरियाली कम भएको कोर सहरी क्षेत्रमा चरालाई ठूलो स्वरमा गीत गाउनुपरेको थियो,' मधुले भने, 'यसको अर्थ हरियाली बढाउन, हरित सहरका रूपमा विकास गर्न र ध्वनी प्रदूषण घटाउन सकियो भने सहरी क्षेत्रमा बस्ने चरालाई पनि फाइदा हुन्छ।'
ओरियन्टल म्यागपाइ रोबिन अर्थात् धोबिनी चरा दक्षिण एसियाको स्थायी प्रजाति हो। नेपालका साथै बंगलादेश, भारत, श्रीलंका, पूर्वी पाकिस्तान, पूर्वी इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण चीन, मलेसिया, सिंगापुरमा यो चरा पाइन्छ। यो बंगलादेशको राष्ट्रिय चरा पनि हो।
धोबिनी चरा वनसँग जोडिएको मानवबस्तीमा बढी पाइन्छन्। कीरा, फूलको रस खान्छन्। सबेरै गुँडबाटै गीत गाउन थाल्छन्। भालेहरू प्रजननको समयमा उच्च स्थानबाट गीत गाउँदै पोथीलाई आफूतिर आकर्षित गर्छन्।
धोबिनीको यो कला महसुस गर्नेहरू चराहरूलाई प्रकृतिका गायक मान्छन्।
नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका अनुज घिमिरे पनि यो अध्ययनमा सामेल थिए। उनले चराहरूको विषयमा धेरै अध्ययन गरेका छन्।
अनुजका अनुसार चराहरूलाई आफ्नो अस्तित्व जोगाउन गाउनुपर्छ। आफ्नो सुरक्षाका लागि हल्ला गरिरहनुपर्छ। चराले गाउने गीत उनीहरूले निकाल्ने आवाज जाति र प्रजातिपिच्छे फरक फरक हुन्छन्।

'चरा राम्रो आवाज निकाल्न सक्ने जीवमध्ये पर्छन्। आफूले पनि गीत गाउने भएर होला, मान्छेले चराको गीतलाई आफ्नो जिन्दगीमा धेरै ठाउँ दिएको छ। कविको कवितामा होस् कि, इतिहासको पन्नामा वा फिल्मको बिम्वमा। सायदै फिल्म होलान् जसका पृष्ठभूमिमा चरा कराएको सुनिँदैन,' उनले भने।
चराहरूमा 'सिरिंक्स' नामको एउटा अंग हुन्छ, जसले आवाज निकाल्न मद्दत गर्छ। सिरिंक्समा रहेका पाँचदेखि नौ जोडी मांसपेसीलाई हावाले हल्लाउँदा चराहरूबाट आवाज निस्किन्छ।
'रमाइलो कुरा, हामी मान्छेले अपवादबाहेक एक स्वरमा मात्र गीत गाउन सक्छौं। चराहरूले एकैचोटि दुईभन्दा धेरै स्वरमा गीत गाउन सक्छन्। चरामा हुने सिरिंक्स विभिन्न प्रकारका हुन्छन्। र, त्यही प्रकार अनुसार चराहरूको आवाजमा पनि फरकपन हुन्छ,' उनले भने, 'सङ बर्ड्सले एकदम जटिल, धेरै धुन र लय भएका सुरिला गीत गाउँछन्।'
चराले मुख्य रूपमा तीन कामका लागि गीत गाउँछन्।
पहिलो, सम्भोगका लागि।
दोस्रो, अरू चरासँग सञ्चार गर्न।
र ,तेस्रो असुरक्षासँग सतर्क गराउन।
'धेरै चराको गीत मिठो र सुरिलो हुन्छ। ती गीत सुन्दा कहिलेकाहीँ त हाम्रै भाषामा केही भनिरहेका छन् कि जस्तो लाग्छ। कल्चौंडे (ब्लु ह्विस्लिङ थ्रस) हाम्रा खोलानालातिर प्रशस्त पाइने चरा हो। यसको गीत धेरै राम्रो हुन्छ। नुवाकोटको केही ठाउँतिर यो चराले 'काली छु, कल्चौंडे हुँ, तेरो बाउको के खाइदिएको छु' भन्छ भन्ने चलन रहेछ। कोइलीको (काफल पाक्यो) र (को हो को हो) त प्रचलित छँदैछ। यसरी चराको गीतलाई मान्छेले आफ्नै बोलीचालीमा सुन्ने चलन विश्वभरि नै छ,' अनुजले भने।
संसारमा दस हजारभन्दा धेरै प्रजातिका चरा छन्। कतिपय एउटै परिवार वा प्रजातिका चरा उस्तै त हुन्छन् तर तिनका गीत फरक हुन्छन्। त्यसैले चराहरू गीतले मात्र छुट्ट्याउन सकिन्छ।
विभिन्न ठाउँमा बस्ने मान्छेको भिन्न भिन्न लवज भएजस्तै चरामा पनि भिन्न लवज पाइएको छ अर्थात् गीत एउटै तर लवज भिन्नै।
'नेपालमा पनि पूर्व र पश्चिमका मान्छेको जस्तै चराहरूको पनि लवज फरक हुनसक्छ। यस विषयमा अध्ययन आवश्यक छ,' उनले भने, 'चराका लागि गीत र कल असाध्यै महत्त्वपूर्ण कुरा हुन्।'
बोलीचालीमा प्रयोग गरिने ग्रीन–सिटी (हरित नगर) को विषयमा व्यवहारमै प्राथमिकतामा पार्न सके सबै प्राणीको हित हुने उनी बताउँछन्।
'काठमाडौं उत्यकामा जनसंख्या र सहरीकरण बढिरहेको छ। यसको असर सबै प्राणीमा देखिएको छ। हामीले धोबिनी चरामा गरेको अध्ययनमा उनीहरूलाई सहरको होहल्लाले असर गरेको देखियो। अन्य धेरै प्रजातिमा यसको असर परिरहेको छ। थप अध्ययनहरू गर्दै जानुपर्छ,' उनले भने, 'सहरी क्षेत्रको ध्वनि प्रदूषण घटाउन र हरियाली बढाउनतिर ध्यान जान आवश्यक देखिन्छ।'
यो अध्ययनमा अनुसन्धानकर्ताहरू अस्मित सुब्बा, नरेश पाण्डे, रान्डल सि. काइज र लक्ष्मण खनाल पनि सहभागी थिए।