रचित (परिवर्तित नाम) उमेरले ४० वर्ष नजिकमा छन्। तर उनले आफ्नो वास्तविक यौनिक पहिचान सार्वजनिक गरेका छैनन्।
यसरी पहिचान लुकाएर बस्नुपरेकोमा उनलाई हीनताबोध हुन्छ। रातमा निद्रा खलबलिन्छ।
उनलाई आफ्नो यौनिक पहिचान अनुसार बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ। कहिलेकाहीँ साहस पनि जुटाउँछन्। तर काठमाडौंका गल्लीगल्लीमा भौंतारिएका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिका पीडाले रोक्छ।
'पहिचान सार्वजनिक गरेर बसेकाहरूमाथि भइरहेको दुर्व्यवहार र ज्यादती सहन सक्दिनँ भन्ने लागेरै खुल्न सकेको छुइनँ,' उनले भने, 'लैंगिक तथा यौनिक अल्पसंख्यक माथि आफन्त, समाज र राज्यले गरेको विभेदले गर्दा खुलेर बाँच्ने हिम्मत टुट्छ। झन् नारकीय जीवन जिउनुभन्दा पहिचान लुकाएरै बाँच्नु ठीक लागेक हो।'
उनले देखेका छन्— जन्मभन्दा अलग यौनिक पहिचान भएको खुलाउनासाथ धेरै जना घरबाट निकालिन्छन्। आफन्त र समाजबाट तिरस्कृत हुनुपर्छ। जागिरका लागि भौंतारिनुपर्छ। दुई छाक टार्न आफूले कहिल्यै नचाहेको काम गर्नुपर्छ। दुर्व्यवहार र घृणा सहेर बाँच्न आफैसँग लड्नुपर्नेछ। यसै कारण लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका धरै व्यक्ति डिप्रेसन र दुर्व्यसनमा लाग्छन्।
'दुई–चार पैसा कमाउने सीप भए पनि पहिचान यौनिक खुलाएपछि खाली बस्नुपर्ने बाध्यता हुन सक्छ,' उनले भने, 'बोली सुनेरै छक्का र हिजडा भनेर दुर्व्यवहार गर्छन्।'
रचित मेकअप आर्टिस्ट हुन्। अहिले उनी आत्मनिर्भर छन्। आफ्नो यौनिक पहिचान खुलाए भने स्टुडिओमा ग्राहक नआउलान् भन्ने उनलाई डर छ। अझ आमाबुबाले घरबाटै निकालिदेलान् भन्ने पिर छ।
उनको घरका सदस्यहरूलाई लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबारे जानकारी छैन। उनका दिदी, भाइ जागिरे छन्।
'तर घरमा सबै जना यौनिकताका विषयमा परम्परागत धारणामा विश्वास गर्छन्,' उनले भने।
रचित पूर्वीतराईको मोरङमा जन्मिएका हुन्। उमेर ११ वर्ष हुँदासम्म उनी अन्य बालक जस्तै थिए। त्यसपछि बिस्तारै उनको स्वर बदलियो। कक्षा सातमा पुग्दा उनको स्वर ठ्याक्कै केटीको जस्तो भयो। उनको स्वर सुनेर साथीहरू हाँस्न थाले।
'मलाई छक्का, स्त्रीलिंगी, नपुंसक इत्यादि भनेर जिस्क्याउन र अपमानित गर्न थाले। दुई–चार जना भेला भएको ठाउँमा उभिनसाथ गिज्याउन थालिहाल्थे,' उनले भने, 'त्यो समय सम्झिँदा मेरो आङ अहिले पनि जिरिंग हुन्छ।'
यो डरले स्कुलमा उनको उपस्थिति नियमित हुन छाड्यो।
त्यही बेला उनका जागिरे बुबाको सरूवा भयो। बुबाको सरूवासँगै परिवारजनको पनि बसाइँसराइ हुन्थ्यो। उनीहरू झापा पुगे।
रचितलाई नयाँ ठाउँमा स्कुल जान सजिलो होला भन्ने लागेको थियो। तर त्यसो भएन। स्वरकै कारण उपहासको पात्र हुनुपर्यो, हैरानी बेहोर्नुपर्यो।
झापाको स्कुलमा साथीहरूले मात्र होइन, शिक्षकले पनि दुर्व्यवहार गरे। एक जना शिक्षकले त आफ्नो यौनांग छुन लगाएर रचितमाथि यौन दुर्व्यवहार गरे। यी सबका कारण उनी स्कुल छोड्न चाहन्थे। तर घरमा कसैलाई भन्न सकेनन्, न स्कुल छाड्न सके।
अनेक दुर्व्यवहार र दुःख सहेर उनले सन् २००३ मा एसएलसी पास गरे। स्कुलबाट निस्किँदा ठूलै युद्ध जितेजस्तो भयो।
एसएलसीपछि आफै खर्च जुटाएर पढ्नुपर्ने घरको उर्दी थियो। उनी कमाउँदै पढ्ने विचारले विराटनगर गए, एउटा कलेजमा भर्ना भए। तर नियमित रूपमा कलेज नगई काम गर्न थाले।
विराटनगरमा उनले रोटरी क्लब र लायन्स क्लब जस्ता सामाजिक संस्थामा आबद्ध हुने अवसर पाए। त्यस बेला ती संस्थाले एचआइभी/एड्स सम्बन्धी चेतनामूलक कार्यक्रम चलाएका थिए। उनी पनि सहभागी भए। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू एचआइभी/एड्सबाट पीडित हुने गरेको थाहा पाए।
उनले लैंगिक तथा यौनिक अल्पसंख्यक भन्ने पदावली पहिलो पटक त्यहीँ सुन्न पाए। कुरा बुझ्दै जाँदा आफू पनि त्यही समुदायको रहेछु भन्ने थाहा पाए।
'म समलिंगी पुरूष (गे) हुँ भन्ने प्रस्ट भयो,' उनले भने, 'आफ्नो वास्तविक यौनिक पहिचानबारे पाएपछि खुट्टाले जमिन छोडेजस्तो भयो। घरपरिवार र समाजले थाहा पाए भने के भन्लान् भन्ने डर भयो। आफूलाई सह्माल्नै गाह्रो भयो। तर कसैलाई केही भनिनँ, चुपचाप बसेँ।'
त्यतिकैमा १२ कक्षाको पढाइ पूरा भयो। स्नातक तह पढ्न विराटनगरकै अर्को कलेज भर्ना भए। त्यहाँ दुई जना केटी साथी भए, तीसँग राम्रो सम्बन्ध भयो। उनले केटी साथीसँग सहज अनुभव गरे।
रचित ती दुई साथीसँग कहिलेकाहीँ ब्युटीपार्लर जान्थे। उनीहरूले मेकअप गराएको हेरेर बस्थे। त्यहाँ देखेको भरमा कहिलेकाहीँ उनीहरूको मेकअप पनि गरिदिन्थे।
उनको रहर देखेर साथीहरूले मेकअप सिक्न सुझाव दिए।
उनलाई पनि मेकअपको काममा रूचि भयो। उनले घरमा जानकारी नदिई आठ हजार रूपैयाँ तिरेर ब्युटिपार्लर सम्बन्धी एउटा कोर्स पूरा गरे। सिक्ने क्रममा प्रशिक्षक वा अरूबाट कहिल्यै भेदभाव वा दुर्व्यवहार भोगेनन्।
यो सन् २००८ को कुरा हो।
उनले मेकअप सिकेकै ठाउँमा केही महिना काम गर्ने मौका पाए। एक पटक उनले आफ्नो काम र कला देखाउँदै, ब्राइडल मेकअपको एउटा फोटो सामाजिक सञ्जालमा राखे। त्यसमा उनी एक बेहुलीको मेकअप गर्दै थिए।
तर यो फोटोले उनलाई घरमा गाली खवायो।
'किन त्यस्तो फोटो पोस्ट गरेको? केटा मान्छेले मेकअपको काम गर्छन्? त्यसरी जथाभावी काम नगर् भन्दै आमाबुबाले गाली गर्नुभयो,' रचितले भने, 'त्यसरी गाली गरेपछि म झन् दृढ भएँ। यही काम गरेर देखाउँछु, जानेको काम छाड्दिनँ भन्ने लाग्यो।'
आफूले काम सिकेको पार्लरमा हुन्जेल उनलाई सजिलो थियो। त्यहाँ छाडेपछि कठिन यात्रा सुरू भयो। धेरै दिनसम्म पनि उनले काम पाएनन्।
बडो मुस्किलले उनले एक ठाउँमा काम पाएका थिए, महिना दिन नहुँदै निकालिए। अर्को ठाउँमा, फेरि अर्को ठाउँमा पनि त्यस्तै भयो।
'ग्राहकले तपाईंलाई मन पराएनन्, केटा भएर पनि केटीको जस्तो स्वर छ भने। तपाईंले गर्दा हाम्रो व्यापार बिग्रिने भयो, भोलिदेखि नआउनू भने,' रचितले भने, 'कतै त काम गरेको पैसा पनि दिएनन्। अधिकांश महिलाहरू केटाले पनि मेकअपको काम गर्छ र भन्ने सोच्थे। पुरूषसँग मेकअप गर्न डराउँथे।'
कामबाट पटक पटक निकालिदिँदा पनि रचित विचलित भएनन्।
उनी कहिले ब्युटी पार्लरमा त कहिले कुनै प्रोजेक्टमा काम गरेर गुजारा चलाउन थाले। पढाइमा ध्यान दिएनन्, स्नातक तह पूरा गरेनन्। मेकअप आर्टिस्ट बन्नमै केन्द्रित भए।
सन् २०१४ मा मेकअप आर्टिस्ट अशोक रोकाउ र सन्तु पुनसँग भेट भयो। सन्तु फिल्मी कलाकारका मेकअप आर्टिस्ट थिए। रचितले सन्तुसँग आफू फिल्ममा मेकअप आर्टिस्ट बन्न चाहेको बताए। सन्तुले आफ्नो सहायक भएर काम गर्ने अवसर दिए।
रचित फिल्मी मेकअप सिक्न थाले। जहाँ फिल्म सुटिङ हुन्थ्यो, त्यहीँ पुग्नुपर्थ्यो तर समयमा पैसा आउँदैनथ्यो। पैसाको टुंगो नभएपछि उनी टिक्न सकेनन्। अन्ततः उनी यौनिक तथा अल्पसंख्यक समुदायकै लागि केही प्रोजेक्टहरूमा जोडिए।
तर त्यहाँ पनि उनले आफ्नो यौनिक पहिचान खुलाएनन्।
'अरूले पहिचान खुलाएर हिँड्दा मलाई पनि रहर लाग्थ्यो। तर आमाबुबा र आफ्नो समाज सम्झेर पछि हट्थेँ,' उनले भने।
लैंगिक तथा अल्पसंख्यक समुदायमा उनलाई काम गर्न सजिलै थियो। तर स्वरका कारण बारम्बार अपमानित हुनुपर्थ्यो। त्यसैले उनी आफ्नै पार्लर खोलेर मेकअप आर्टिस्टकै रूपमा काम गर्न चाहन्थे। तर सकेका थिएनन्।
केही समयपछि उनी काठमाडौं आए। ब्युटिपार्लरमा काम गरे। एउटाबाट निकालिने र अर्कोमा पुग्ने क्रम जारी रह्यो।
रचितले मेकअपको पूरा कोर्स गरेर दक्ष बन्ने विचार गरे। सन् २०१५ मा भारतको दिल्ली पुगे। त्यहाँ उनले भारतीय रूपैयाँ एक लाख २५ हजार शुल्क तिरेर बस्नेखाने सुविधासहित ४५ दिनको मेकअप कोर्स पूरा गरे।
काठमाडौं फर्केपछि उनले पार्लरहरूमा छोटो अवधिको प्रशिक्षकका रूपमा काम गर्ने अवसर पाउन थाले। प्रशिक्षक भएर देशका केही सहर पुगे।
उनी कुनै राम्रो पार्लरमा स्थायी रूपमा काम गर्न चाहन्थे तर त्यस्तो अवसर पाएनन्। प्रशिक्षण मन पराए पनि ग्राहकले मन पराउँदैनन् भन्थे, नियमित काममा राख्दैन थिए। कतिपयले काम लगाएर पैसा पनि दिएनन्।
'मलाई बोलाउँथे, मेकअप सिक्थे र केही दिनमा तपाईंको काम सकियो भन्थे। धेरै ठाउँमा त्यस्तो भोग्नुपर्यो,' उनले भने, 'धेरैले त काम गराएर पैसा दिएनन्। त्यो पैसा उठाउने हो भने दस लाख रूपैयाँ पुग्यो होला।'
यस्तै तालिम क्रममा एक दिन उनको भेट चर्चित मेकअप आर्टिस्ट दिनेश राईसँग भयो। रचितले दिनेशसँग मेकअपका केही तरिका सिके। अनि मिस नेपालको मेकअप गर्ने मौका पाए।
त्यसपछि भने उनको संघर्षले प्रतिफल दिन थाल्यो। उनले तालिम दिने ठाउँमा भिड लाग्न थाल्यो। 'मेकअप सिकाउने पुरूष' भनेर उनको चर्चा हुन थाल्यो।
'मेरो आवाज सुनेर छक्क पर्नेहरू काम हेर्न थाले। पहिले भेदभाव र घृणा गर्नेहरूले पनि कामको तारिफ गर्न थाले,' उनले भने, 'मेरा लागि यो नै सबैभन्दा ठूलो सफलता थियो। धरान, विराटनगर र पूर्वका अन्य सहरमा मेरो माग हुन थाल्यो।'
मेकअप आर्टिस्ट बन्न चाहने पुरूषहरूले उनलाई प्रेरणाको स्रोत मान्न थाले। धेरैले उनलाई आफ्नै मेकअप स्टुडियो खोल्न सुझाव दिए। उनलाई पनि आफ्नो निजी व्यवसाय हुनुपर्छ भन्ने लाग्यो।
सन् २०१९ मा उनले तीन लाख रूपैयाँ लगानी गरेर झापामा मेकअप स्टुडियो खोले। सुरूदेखि नै काम राम्रो चल्यो। बीचमा कोरोना लकडाउनले असर पुर्याए पनि पछि सुधार भयो। उनले लगानी बढाएर स्टुडियो विस्तार गरे।
परिवारमा पनि उनीप्रतिको दृष्टिकोण सकारात्मक बन्दै गयो। उनले तालिमका प्रमाणपत्र र उपहारका सामान घरमा लगेर सजाए। आमाबुबाले पनि हौसला दिए।
यसरी मेकअप स्टुडियो चलेपछि उनी पछाडि फर्किनुपरेको छैन। उनी तालिम दिन पनि व्यस्त हुन्छन्। विभिन्न व्यावसायिक ब्रान्डहरूसँग सहकार्य हुन्छ। यी कामबाट पनि आम्दानी हुन्छ।
स्टुडिओमा चार जनालाई रोजगारी दिएका उनी आफ्नो कमाइमा सन्तुष्ट छन्। उनको हातको कलाले उनको स्वरमा हुने टिप्पणीलाई ओझेल पारिदिएको छ। स्वरका कारण प्रत्यक्ष दुर्व्यवहार वा अपमान भोग्नुपरेको छैन।
आफ्नो कथाको बिट मार्दै मेकअप आर्टिस्ट रचितले भने, 'मान्छेले मेकअप गरेर दागधब्बा लुकाएझैं म पनि आफ्नो पहिचान लुकाएर बसेको छु। यसबाहेक अरू त सब ठीक छ।'