कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगन्जको मुख्य चोकबाट करिब ३ सय मिटर पश्चिममा छ — सन्तराम हरिजनको घर।
यहाँ ढलान गरेर बनाइएको सडक दायाँबायाँ हरिजन समुदायको बाक्लो बस्ती नै छ। झिँगटी र खपडाले छाएका र इँटा जोडेर बनाइएका एक सय हाराहारी घर छन्। त्यसैको बीचमा सन्तरामको आकाशे रङको दुईतले घर भने फरक देखिन्छ।
पछिल्लो समय सामाजिक सञ्जालमा सन्तरामको निकै चर्चा भयो। कारण — उनकी छोरी स्मृति हरिजन मधेसी दलित समुदायबाट नेपालकै पहिलो महिला डाक्टर बनिन्।
मधेसी दलित समुदाय खासगरी चमार, डोम, हरिजन, मुसहर लगायतमा अझै पनि छोराछोरी पढाउनुपर्छ भन्ने चेतना स्तर कमजोर छ। चेतना भएकाहरू पनि कमजोर आर्थिक अवस्थाका कारण छोराछोरीलाई चाहेजस्तो पढाउन सक्दैनन्। सन्तरामले भने चरम आर्थिक अवस्थासँग जुध्दै भए पनि छोराछोरी पढाउन कुनै कसर बाँकी राखेनन्।
कान्छी छोरी डा. स्मृति मात्र होइन, उनका तीनै जना छोराछोरी पढाइमा अब्बल छन्। सबैले पूर्ण छात्रवृत्तिमा स्नातकसम्म अध्ययन गरेका थिए।
उनकी माइली छोरी सिर्जना अहिले बेलायतमा एमएससी इन्जिनियरिङ गर्दै छिन्। कान्छो छोरा सन्दीप भारतको उडिसास्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआइटी) बाट कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङमा स्नातक गर्दै छन्। भारतीय दूतावासमार्फत लिइएको परीक्षामा सन्दीपले पूर्ण छात्रवृत्ति पाउँदै भारतकै उत्कृष्टमध्येको एनआइटी कलेजमा अध्ययन गर्ने अवसर पाएका हुन्।
सन्तरामले कसरी आफ्ना छोराछोरी पढाए? छोरीलाई मधेसी दलित समुदायको पहिलो महिला डाक्टर कसरी बनाए?
यिनै प्रश्नबारे कुराकानी गर्न हालैको एकदिन म सन्तरामलाई भेट्न बहादुरगन्ज पुगेँ।

बहादुरगन्जस्थित हरिजन समुदायको बाक्लो बस्तीमा सन्तराम हरिजनको घर (सबभन्दा पछाडि)। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
झुरूप्प बस्तीको बीचमा बालबालिकाहरू खेल्दै थिए। मैले तिनै बालबालिकालाई सन्तरामको घर सोधेँ। उनीहरू केही बेर अलमलिए।
त्यसपछि मैले सोधेँ, 'डा. स्मृति हरिजनको घर कुन हो?'
यति भन्नासाथ दुई जना बालकले मलाई उनको घरसम्मै लगिदिए।
बरन्डामा एक युवती खाटमा सुतिरहेकी थिइन्। पछि थाहा भयो, उनी सन्तरामकी जेठी छोरी रञ्जना रहिछन्। सानै उमेरदेखि पेटको बिरामी।
सन्तराम घरभित्रै थिए। रञ्जनाले बोलाएपछि उनी टिसर्ट र हाफ–प्यान्टमा बाहिर निस्किए। हरियो सारी र ब्लाउज लगाएकी उनकी पत्नी राजमयी पनि सँगै थिइन्।
अनुहारको चमकले नै उनीहरूको खुसी झल्काउँथ्यो।
मैले आफ्नो परिचय दिएपछि हामी घरको माथिल्लो तलाको बरन्डामा बसेर कुराकानी गर्न थाल्यौं।
'मैले देखेको सपना साकार भयो। निदाएको बेला देखेको सपना पूरा हुँदैन। मैले जागै सपना देखेको थिएँ– छोराछोरीलाई धेरै पढाउँछु र आफ्नो समुदायको मात्र होइन, देशकै नाम राख्न सक्ने व्यक्ति बनाउँछु। त्यो सपना अहिले पूरा भएको छ। छोराछोरीको मेहनत, हाम्रो लगानी र संकल्प पूरा भएको छ,' यसो भनिरहँदा सन्तरामका आँखा पनि बोलिरहेका थिए।
उनको यो भनाइ र भावले नै डाक्टर छोरीको बाबु भनेर चिनिँदा कति गर्व महसुस भइरहेको छ भन्ने प्रस्ट बुझाएको थियो।
राजमयीले मुस्कुराउँदै सन्तरामको भनाइलाई सही थापिन्।
सन्तराम उमेरले ६० वर्ष पुगे। राजमयी ५५ लागिन्। गरिबी, अभाव र विभेदका ठुल्ठूला पहाड छिचोल्दै उनीहरू अहिलेको अवस्थामा आइपुगेका हुन्।
सन्तराम बहादुरगन्जको हरिजन बस्तीमै जन्मिए, यहीँ हुर्किए। अहिले पनि यहीँ बस्छन्। उनी बुबा रामगुलाम हरिजन र आमा सुक्ला हरिजनका एक्ला छोरा हुन्। उनकी एक बहिनी पनि छन्।
कपिलवस्तुको बहादुरगन्ज पहिलेदेखि नै शाहजीको गाउँ भनेर चिनिन्थ्यो। शाह परिवारको पछिल्लो पुस्ता अभिषेकप्रताप शाह अहिले पनि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। बहादुरगन्जका तीन–चारवटा गाउँ नै शाह परिवारको बिर्ता थियो।
हरिजन समुदाय शाहहरूका तिनै जग्गा वर्षभरि कमाउँथे। तैपनि साँझ–बिहानको गर्जो टार्न धौधौ पर्थ्यो। सम्पत्तिको नाममा एक टुक्रा जमिनमा बनाएको छाप्रोबाहेक केही थिएन।

सन्तराम हरिजन र उनकी पत्नी राजमयी। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
सन्तरामका बुबा रामगुलाम घर बनाउने मिस्त्रीको काम गर्थे। घर बनाउने र बाटो बनाउने काममा सिपालु थिए। मिस्त्रीको काम सधैं पाइँदैनथ्यो। त्यस्तो बेला जमिनदारको खेतमा ज्याला–मजदुरी गर्थे। अधियाँमा खेती लगाउँथे। तर दिनभरि हाड घोटेर मिस्त्री र ज्याला–मजदुरी गर्दा पनि छोराछोरीलाई भरपेट खुवाउन गाह्रो पर्थ्यो।
'त्यति बेला एकैदिन दाल र तरकारी पकाएर खाएको मलाई सम्झना छैन। दाल भए तरकारी हुँदैनथ्यो, तरकारी भए दाल हुँदैनथ्यो। कहिलेकाहीँ त दाल, तरकारी केही हुँदैनथ्यो,' सन्तरामले विगत सम्झिँदै भने।
चरम आर्थिक अभाव र गरिबीबीच पनि रामगुलामलाई छोराछोरी पढाउनुपर्छ भन्ने चेत थियो। त्यो बेला हरिजन समुदायबाट स्कुल पढ्न जानेहरू अत्यन्त कम हुन्थे। जो स्कुल जान्थे, उनीहरू पनि हुनेखाने र सम्भ्रान्त समुदायका छोराछोरीसँगै बसेर पढ्न पाउँदैनथे।
सन्तराम र उनकी बहिनी शिवराज अस्पताल नजिकैको स्कुलमा पढ्थे। दुईवटा कोठा मात्र भएको स्कुलमा डेस्क–बेन्च थिएनन्। खुला चउर र बरन्डामा बोरा बिछ्याएर पढ्नुपर्थ्यो। सन्तराम घरबाटै बोरा लिएर जान्थे। अरू विद्यार्थीभन्दा अलिकति टाढा चउरको एउटा कुनामा बोरा बिछ्याउँथे र पढ्थे। उनी पढाइमा निकै तेज थिए। कक्षामा सधैं प्रथम हुन्थे।
प्राथमिक तहसम्म त्यही स्कुलमा पढेपछि कक्षा ६ देखि उनी घर नजिकैको श्रीराम गोर्खा मावि (हालको उच्च मावि) मा भर्ना भए।
गर्मी र जाडो जुनसुकै मौसममा उनी टेरिकटनको हाफ–सर्ट र पाइजामा लगाएर स्कुल जान्थे। टेरिकटनले जाडोमा चिसो हुन्थ्यो, गर्मीमा पोल्थ्यो। दस कक्षासम्म पढ्दा उनको खुट्टाले जुत्ता–चप्पलको अनुभव कहिल्यै गर्न पाएन।
रामगुलामको कमाइले दुई छाक भात खुवाउन र लेखपढका लागि चाहिने कापी, कलम र किताब जुटाउनै मुस्किल हुन्थ्यो।
'कापी, किताब किन्ने समय आएपछि बुबा निदाउनुहुन्न थियो,' सन्तरामले भने, 'म राति अबेरसम्म टुकी बालेर पढिरहन्थेँ। बिहान पनि सबेरै उठेर पढ्थेँ। यसरी टुकी बालेर पढिरहँदा आगो लाग्छ भन्ने डरले होला, बुबाले लाल्टिन किनिदिनुभएको थियो।'
नौ कक्षा पुगेपछि विद्यार्थीहरूले विज्ञान, गणित, कृषि लगायत विषय छनोट गर्नुपर्थ्यो। धेरैजसो विद्यार्थीले कृषि छनोट गर्थे। विज्ञान र गणित छनोट गर्नेहरू अत्यन्त कम हुन्थे। सन्तरामले भने विज्ञान र गणित नै छाने। यी दुई विषयमा अभ्यास गर्न कापी र कलम धेरै चाहिन्थ्यो। सन्तरामलाई जसरी भए पनि पढाउनुपर्छ भन्ने संकल्प गरेका रामगुलामले खाना नखाएर भए पनि कापी–किताब किन्न पैसा जुटाइदिन्थे।
आफूले हातका नंग्रा खियाएर भए पनि रामगुलामले स्कुल पढ्दासम्म सन्तरामलाई कुटो–कोदालोबाट टाढै राखे। सन्तराम पनि पढाइमा खुब मेहनत गर्थे। २०३९ सालमा एसएलसी परीक्षा दिएपछि उनी बुबालाई भन्दै नभनी काममा निस्किए।

त्यति बेला महेन्द्र राजमार्ग निर्माणको काम हुँदै थियो। सिपालु मिस्त्री रहेका रामगुलाम राजमार्ग निर्माणका लागि धानखोला गएको मौका छोपेर सन्तराम आफ्ना काका रामदुलारेसँग इँटाभट्टाको काममा गए।
रामदुलारे दयानगरको चिम्नी भट्टामा इँटा बनाउँथे। सन्तरामले त्यहीँ काँचो र पाकेको इँटा बोक्ने काम सुरू गरे।
कहिल्यै काम नगरेका सन्तरामको हातबाट इँटा बोक्दा रगतका धारा बग्थे। हातमा पुरानो कपडा बाँधेर उनी काममा भिडिरहे। उनको दैनिक ज्याला ८ रूपैयाँ थियो। यसरी काम गर्नुका पछाडि क्याम्पस पढ्ने खर्च आफै जुटाउँछु भन्ने उनको उद्देश्य थियो।
त्यति बेला कपिलवस्तुमा तौलिहवा र अर्को बहादुरगन्ज गरी एसएलसीका लागि दुईवटा मात्र परीक्षा केन्द्र थिए। सन्तरामले बहादुरगन्ज परीक्षा केन्द्रबाट सर्वोत्कृष्ट हुँदै एसएलसी पास गरे। उनले अनिवार्य गणितमा ९४, ऐच्छिक गणितमा ८७ र विज्ञानमा ७६ प्रतिशत अंक ल्याएका थिए।
छोराले परीक्षा केन्द्रबाटै सर्वोत्कृष्ट नतिजा ल्याएकोमा रामगुलाम जति खुसी थिए, त्यो सफलताले उनको मनमा चिन्ता पनि थपिदिएको थियो।
घरमै बसेर माध्यमिक तहसम्मको अध्ययन जसोतसो गराउन सके पनि उच्च शिक्षाका लागि गाउँमा क्याम्पस थिएन। कि त काठमाडौं जानुपर्थ्यो, कि भारत पठाउनुपर्थ्यो। काठमाडौंभन्दा भारतको उत्तर प्रदेशमा पढ्न जान उनलाई सजिलो थियो। बहादुरगन्जबाट २९ किलोमिटरको यात्रापछि भारतको शोहरतगढ पुगिन्थ्यो।
सन्तराम शोहरतगढस्थित सिउपत इन्टर कलेजमा पढ्न गए।
उनले यसैका लागि भनेर इँटाभट्टा र खेतबारीमा काम गरेको पारिश्रमिक जोगाएर राखेका थिए। त्यही पैसाले सर्ट–प्यान्ट किने। ऋणधन गरेर क्याम्पसको शुल्क र कोठाभाडा जुटाए।
'मैले एसएलसी दिएपछि मजदुरी गरेर दुई–चार सय रूपैयाँ जोगाएको थिएँ। बुबाले पनि मिस्त्री काम गर्दा केही पैसा अग्रिम लिन थाल्नुभयो। उहाँले आमालाई घाँटीमा लगाउने चाँदीको हसुली बनाइदिनुभएको थियो। त्यो पनि बेच्नुभयो,' सन्तरामले सम्झिए।
यसरी दुःखजिलो गरेर उनले २०४१ सालमा आइएससी पास गरे।
आइएससीको रिजल्ट नआउँदासम्म उनले केही महिना आफू पढेकै स्कुलमा पढाए। त्यति बेला अंग्रेजी, गणित र विज्ञान विषयमा राम्रो दख्खल भएका सन्तरामलाई कामको खाँचो थियो भने विद्यालयलाई राम्रो शिक्षक चाहिएको थियो। उनी दिनभरि स्कुलमा र साँझ–बिहान कोठामा ट्युसन पढाउँथे।
'म गणित, अंग्रेजी र विज्ञानको गरी साँझ–बिहान सात–आठवटा समूहलाई ट्युसन पढाउँथेँ। स्कुल पढाएको तलब र ट्युसन पढाएको पैसा बुबालाई ल्याएर दिन्थेँ। त्यसले बुबालाई धेरै ठूलो राहत भयो। त्यही बेला बुबाले गाउँमा तीन कट्ठा जग्गा किन्नुभयो। घर बनाउने मिस्त्रीको सिप आफैसँग भए पनि अरू सरसामान जोडजाड गरेर एकतले घर बनाउनुभयो। यो घरको तल्लो तला बुबा आफैले बनाउनुभएको हो,' सन्तरामले भने।
स्कुल र ट्युसनको कक्षा राम्रोसँग चलिरहेको थियो। त्यही बेला आइएससीको नतिजा आएपछि उनको जीवनले नयाँ मोड लियो।

नतिजा आएको केही दिनमै नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुल्यो।
दाङको गढवा गाउँपालिकाका अध्यक्ष तथा जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द पाण्डेको सहयोग र सल्लाहमा सन्तरामले २०४२ चैत ३१ गते असईमा आवेदन दिए। खिमानन्द श्रीराम गोर्खा माविका अंग्रेजी शिक्षक नवराज पाण्डेका दाइ हुन्। यही माध्यमबाट सन्तरामको चिनजान भएको थियो।
सबै परीक्षा पास हुँदै काठमाडौंको महाराजगन्जस्थित प्रहरी एकेडेमीबाट तालिम पूरा गरेपछि उनलाई वडा प्रहरी कार्यालय कमलपोखरी खटाइयो।
विभिन्न परीक्षा र तालिम पास भएर असईमा भर्ती भए पनि सन्तरामले लामो समय प्रहरीमा काम गर्न पाएनन्। २०४५ साउन १७ गते उनी बर्खासीमा परे।
'ड्युटीमै रहेका बेला सभ्रान्त परिवारका एक व्यक्तिले यौनजन्य अपराध गरिरहेको फेला पारेपछि मैले पक्राउ गरेको थिएँ,' उनले भने, 'अपराध गर्नेलाई कारबाही होला भनेको उल्टै मलाई नै बर्खास्त गरियो।'
असईबाट बर्खास्त भएपछि सन्तराम काठमाडौंमै व्यवस्थापनमा स्नातक (बिकम) पढ्न भर्ना भए। हुन त उनलाई बिएससी पढ्न मन थियो, तर शुल्क र प्रयोगात्मक अभ्यासका लागि पैसा धेरै चाहिन्थ्यो।
त्यसैबीच २०४६ सालको जनआन्दोलन सुरू भएपछि क्याम्पसको पढाइ रोकियो। यता घरमा बुबा रामगुलाम क्षयरोगले थलिए। बुबाको उपचार, काठमाडौंको बसाइ र पढाइ र घरपरिवारको खर्च चलाउन गाह्रो भएपछि उनले घर फर्किने निधो गरे।
फर्किएर नवराज पाण्डेलाई नै भेट्न गए। उनकै सहयोगमा दाङको सुनपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालयमा पढाउन थाले।उनले त्यहाँ दुई वर्ष पढाए।
त्यसपछि काठमाडौंको भोटेबहालस्थित अरनिको बोर्डिङ स्कुलमा एक वर्ष पढाए।
त्यही बेला उनीसँग एउटै कोठामा बस्ने अर्जुन पाण्डे सिंगापुर जाने तयारी गर्दै थिए। संयोग कस्तो भयो भने, अर्जुनको ठाउँमा सिंगापुर जाने अवसर सन्तरामले पाए। पैसा पनि अर्जुनले नै थपथाप गरिदिए।
२०४९ सालमा सिंगापुर गएका सन्तरामले त्यहाँ १० महिना काम गरे। फर्केपछि सबै ऋण तिरतार गरेर ६५ हजार रूपैयाँ बचत भयो। त्यही पैसाले केही जग्गा जोडे। बिरामी बुबाको उपचार गरे। यसरी कामको सिलसिलामा सन्तराम घर बाहिर जाँदा आमाबुबा र परिवारको रेखदेख राजमयीले गर्थिन्।
सिंगापुरको कमाइले घरपरिवार चलाउन केही सहज भए पनि छोराछोरी जन्मिएपछि भने उनीहरूको पढाइको जोहो गर्न धौधौ भयो। तर उनले हार मानेनन्।
सन्तरामले बहादुरगन्जको महालक्ष्मी सुगर मिलमा २० वर्ष काम गरे। त्यो काम छाडेर घरमा बसेको दुई वर्ष मात्र भयो।
उनले नेपाल टेलिकममा सुपरभाइजर पदका लागि आवेदन पनि दिएका थिए। तर उनको नाम निस्किएन। नेपाल प्रहरीको असईबाट बर्खास्त हुनु र टेलिकममा नाम ननिस्किनुले सरकारी जागिर खाने मोह नै हटेको उनी बताउँछन्।
'त्यसपछि मैले अठोट गरेँ, जति दु:ख र परिश्रम गरेर भए पनि छोराछोरीलाई राम्रोसँग पढाएर देशकै अब्बल नागरिक बनाउँछु,' उनले भने, 'मेरो त्यही अठोट आज छोराछोरीले पूरा गरिरहेका छन्।'

आफ्ना दुई छोरी र छोरासँग सन्तराम हरिजन।
छोराछोरीको पढाइकै लागि बहादुरगन्जभन्दा बाहिर गएर काम गर्न नसकेको सन्तराम बताउँछन्।
'म दिनभरि सुगर मिलमा काम गर्थेँ। साँझ–बिहान घरमै बसेर छोराछोरी पढाउँथेँ,' उनले भने, 'अर्काका बच्चालाई ट्युसन पढाएजस्तै मैले आफ्ना छोराछोरीलाई घरमै बसेर पढाएँ। उनीहरूले कहिल्यै कोचिङ र ट्युसन पढ्नुपरेन।'
यति मात्र होइन, छोराछोरीको पढाइमा बाधा नपरोस् भनेर घरको काम पनि केही नलगाएको राजमयी बताउँछिन्।
'बिस्तरामै चिया–नास्ता र खाना लगिदिन्थेँ। कपडा धुने, भाँडा माझ्ने कुनै पनि काम उनीहरूलाई लगाइनँ,' उनले भनिन्।
कान्छी छोरी स्मृतिले एमबिबिएस पास गरेपछि चर्चामा आए पनि तीनै जना छोराछोरी पढाइमा अब्बल हुँदै पूर्ण छात्रवृत्तिमा स्नातकसम्म अध्ययन गरिरहेको सन्तरामले बताए।
'मेरा छोराछोरीले श्रीराम गोर्खा माविबाटै एसएलसी दिएका हुन्,' उनले भने, 'त्यसपछि स्नातकसम्म मैले खर्च गरेर पढाउनुपरेन। अहिले पनि पूर्ण छात्रवृत्ति पाएर पढिरहेका छन्।'
सन्तरामले छोराछोरी पढाउनकै लागि घरजग्गा धितो राखेर बैंकबाट २५ लाख रूपैयाँ ऋण लिएका छन्। साथीभाइसँग सरसापटी गरेको १० लाखभन्दा बढी ऋण छ। मासिक ३५ हजार रूपैयाँ ब्याज तिर्नुपर्छ। उनले तीन महिनादेखि बैंकको ब्याज बुझाउन सकेका छैनन्।
'छोराछोरीको पढाइ नै मेरो लागि सबथोक हो। मेरो अहिले कुनै आम्दानी छैन। छोरीहरूले पनि कमाउन सुरू गरेका छैनन्। एक वर्षपछि त मेरो पनि दिन फर्किन्छ। छोराको पढाइ नसकिए पनि छोरीहरू दुवै जना कमाउन थाल्छन्,' उनले भने।
स्मृतिले जनकपुरस्थित जानकी मेडिकल कलेजबाट एमबिबिएस पास गरेकी हुन्। सिर्जनाको एक वर्षको मास्टर्स कोर्स केही समय मात्र बाँकी छ।
सन्तराम दम्पतीले जेठी छोरी रञ्जनालाई पनि कक्षा १० सम्म पढाएका थिए। तर सानैदेखि पेटको रोगी रञ्जनाले त्यसभन्दा माथि पढ्न सकिनन्। विवाह गरे पनि श्रीमानले दोस्रो श्रीमती ल्याएपछि ६ वर्षअघि सम्बन्ध विच्छेद गरेकी छन्। रञ्जना अहिले १२ वर्षीया छोरीसँग आमाबुबासँगै बसिरहेकी छन्।
मैले जनकपुरमा रहेकी स्मृतिसँग पनि टेलिफोनमा कुरा गरेकी थिएँ। उनले आफू एमबिबिएस पास गरेर डाक्टर बनेको कुरा सपनाजस्तो लागेको बताइन्।
'मलाई त अहिले पनि विश्वास लागेको छैन, सपनाजस्तै लागिरहेको छ,' उनले भनिन्।

डा. स्मृति हरिजन।
सानै उमेरदेखि डाक्टर वा इन्जिनियर बन्ने सपना देखेकी स्मृति डाक्टर पढ्न धेरै पैसा लाग्छ भन्ने बुझ्न थालेपछि मेहनत गरेर पढेको बताउँछिन्।
'जब पढाइप्रति अलि ध्यान जान थाल्यो, त्यसपछि ठूलो भएर डाक्टर बन्छु भन्ने सपना देख्न थालेकी थिएँ। आमाबुबाले पनि ठूलो भएर डाक्टर, इन्जिनियर बन्नुपर्छ भनेर पढ्न प्रेरित गर्नु हुन्थ्यो,' उनले भनिन्, 'मलाई त्यति बेला डाक्टर, इन्जिनियर बन्न कति पैसा चाहिन्छ भन्ने थाहा थिएन। नौ–दस कक्षा पुगेपछि जब डाक्टर पढ्न धेरै पैसा चाहिन्छ भन्ने थाहा पाएँ, त्यसपछि छात्रवृत्तिमा नाम निकाल्नुपर्छ भनेर मैले धेरै मेहनत गरेँ।'
आफूले जति मेहनत गरे पनि आमाबुबाले सानैदेखि पढाइको वातावरण नबनाइदिएको भए आफू डाक्टर बन्न नसक्ने उनको भनाइ छ।
'आमाले कहिल्यै घरको काम लगाउनुभएन। स्कुलमा जे जति कापी–किताब चाहिन्थ्यो, बुबाले ऋण खोजेर भए पनि कहिल्यै त्यसको अभाव हुन दिनुभएन,' उनले भनिन्।
मैले डा. स्मृतिसँग उनको आगामी योजनाबारे सोधेँ।
दुई वर्ष अस्पतालमा काम गरेपछि स्त्री तथा प्रसूति रोगमा एमडी गरेर तराईका गाउँमा महिलाहरूको सेवा गर्ने योजना रहेको उनले बताइन्।
'अझै पनि सबै महिलाले पुरूष डाक्टरहरूसँग आफ्ना समस्या बताउन सकेका हुँदैनन्। म त्यस्ता महिलालाई सेवा दिन चाहन्छु,' उनले भनिन्, 'छोरीहरूलाई पढाउनु पर्दैन भन्ने सोच परिवर्तनमा पनि काम गर्न चाहन्छु।'
उनले अगाडि भनिन्, 'म आफ्नो समुदायका लागि उदाहरण बन्न चाहन्छु।'
***