पाकिस्तानमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३३२ पुगेको छ।
शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको पाकिस्तानी अनलाइन द डनले जनाएको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का अनुसार सबैभन्दा बढी प्रभावित बुनेर जिल्लालगायत अन्य क्षेत्रमा थप मानवीय क्षति पुष्टि भएसँगै मृतकको संख्या बढेको हो।
भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए।
यसमा राहत तथा उद्धार कार्यमा खटिएको प्रान्तीय सरकारको एक हेलिकप्टर मोहमान्दमा दुर्घटना हुँदा चालक दलका पाँच सदस्यको पनि मृत्यु भएको डनले जनाएको छ।
पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ। जिल्ला उपायुक्त कासिफ कयुम खानको कार्यालयले १२० जना घाइते भएको र ५० जना अझै बेपत्ता रहेको जनाएको छ।
पिडिएमएको रिपोर्टअनुसार अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ।
शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ।
बाढीले भौतिक पूर्वाधारमा पनि गम्भीर क्षति पुर्याएको छ। रिपोर्टअनुसार ११ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने ६३ वटामा आंशिक क्षति पुगेको छ।
क्षतिको भयावह अवस्थालाई मध्यनजर गर्दै खैबर पख्तुनख्वा सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरू– बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टाग्राममा संकटकाल घोषणा गरेको छ।
सरकारले जारी गरेको सूचनाअनुसार संकटकाल अगस्ट ३१ सम्म लागू हुनेछ र सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई राहत कार्यका लागि सबै स्रोत परिचालन गर्न अधिकार दिइएको छ।
प्रदेश सरकारले पिडिएमएलाई तत्काल क्षतिपूर्ति, पूर्वतयारी र प्रतिकार्यका लागि १ अर्ब पाकिस्तानी रुपैयाँ निकासा गरेको छ। यसैगरी, बाढी प्रभावित जिल्लाहरूमा राजमार्ग र पुलहरूको पुनर्स्थापनाका लागि सञ्चार तथा निर्माण विभागलाई १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।
यसैबीच, पाकिस्तान दूरसञ्चार प्राधिकरण (पिटिए) ले बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको जनाएको छ। बाढीले थुप्रै मोबाइल र ल्यान्डलाइन साइटहरूमा क्षति पुर्याएको र सेवा पुनर्स्थापनाका लागि संघीय तथा प्रान्तीय निकायहरूसँग समन्वय भइरहेको पिटिएले बताएको छ।
मोबाइल अपरेटर 'ज्याज' ले खैबर पख्तुनख्वाका सबै ग्राहकका लागि आफ्नो नेटवर्क र पिटिसिएलमा निःशुल्क कलको सुविधा दिने घोषणा गरेको छ।