सालघारीको वनले ढाकेको यो सानो थुम्को कुनै विशाल पर्वत होइन। यो त शिवालिक अर्थात् चुरेदेखि उत्तरतिर पर्ने भित्री मधेसको कुनै सहर जस्तै देखिने देहरादून नजिकै पर्ने नालापानी खलंगा पहाड हो।
हो, यही भिरालो पहाडमा 'धेरै वर्षअघिको कथा नालापानीको', साहित्यकार बालकृष्ण समकै शब्दमा, 'रगतले लेखिएको' थियो।
बलभद्र कुँवर र उनीसँगै लड्दै यहाँ आइपुगेका गोर्खाली फौजका सन्तानको बाक्लो बस्ती रहेको देहरादूनको पल्टन बजार र करणपुर हुँदै सात किलोमिटर परको नालापानीको थुम्को आइपुग्न मोटरमा २१ मिनेट लाग्छ।
फेदैमा गोर्खालीले चलाएको खलंगा क्याफेमा प्रायः नेपाली गीत बजिरहेको हुन्छ।
त्यहाँबाट अलिकति उकालो लागेपछि आइपुग्छ नालापानी किल्ला प्रवेश गर्ने बलभद्र खलंगा द्वार।
बलभद्रको सम्झनामा कुँदिएको शिलालेख
त्यहाँबाट पाँच मिनेट गुडेपछि आइपुग्छ नालापानी किल्लाको स्मारक। नालापानी थुम्कोको टाकुराबाट हेर्दा दक्षिण र पश्चिमतर्फ देखा पर्छन् दिनप्रतिदिन बाक्लिँदै गइरहेको देहरादून सहरका घरैघर, घरैघर।
सम्झिँदा पनि छाती फुलेर आउने। किनभने, यो त्यही किल्लाको स्मारक हो जहाँ बलभद्र कुँवर नेतृत्वको गोर्खाली फौजले झन्डै २११ वर्षअघि अंग्रेज सेनासँग एक महिनाभन्दा लामो समयसम्म भीषण युद्ध लडेको। यो त्यही किल्ला हो जहाँ गोर्खालीका खुँडा र खुकुरीसामु अंग्रेज सेना हायलकायल भएका थिए।
यही थुम्को र यसका भिरमा करिब ६ सय गोर्खालीले ३५ सय जनाभन्दा बढी अंग्रेज फौजसँग के कसरी लडेका थिए, त्यसको चर्चा इतिहासमा निकै धेरै भइसकेको छ।
'नालापानी अजेय छ'
त्यति बेला यहाँसम्म पैदले आएर लडेका कैयौं गोर्खाली नेपाल फर्किए। तर सन् १८१४–१८१६ सम्म चलेको युद्ध रोक्न गरिएको सन् १८१६ को सुगौली सन्धि र त्यसअघिका सन्धिदेखि 'बेखुस' गोर्खालीहरू यतै बसे र रमाए।
तिनै गोर्खालीका सन्तान आज पनि नालापानी र अन्य किल्लाको संरक्षणमा जुटिरहेका छन्।
हालैको एक शनिबार दिउँसो नालापानीको फेदीमा भेटिए चार जना भारतीय गोर्खाली – भारतीय सेनाका अवकास प्राप्त कर्नेल विक्रमसिंह थापा; तथा देहरादूनस्थित गोर्खाली सुधार सभाका सक्रिय सदस्यहरू, कुलबहादुर कार्की, सञ्जय थापा र पासाङनोर्बु शेर्पा।
नालापानी किल्लाको स्तम्भमा चम्किइरहेका एक जोडी नांगा खुकुरी। तस्बिर: सुरेन्द्र फुयाल
केही बेरपछि उनीहरू हामीलाई नालापानी किल्लामा बनाइएको भव्य नयाँ स्मारक घुमाउन व्यस्त रहे। थुम्काको टुप्पामा एउटा बलियो पर्खालले घेरिएको समथर भागमा एउटा आधुनिक स्तम्भ बनाइएको छ, जसको शिरमा दुईतिर नांगा खुकुरी आकाशतिर फर्किएका छन्।
उत्तराखण्ड सरकारको सहयोगमा सन् २००९ मै नालापानी स्मारक बनाइएको भए पनि यो किल्ला रहेको थुम्को संरक्षण गर्न 'अझै थुप्रै काम बाँकी रहेको' उनीहरूको भनाइ छ। उनीहरू सबै गोर्खाली हुनुमा निकै गर्व गर्छन् र त्यही पहिचानमा भारतमा रमाइरहेका देखिन्छन्। जमिरहेका देखिन्छन्।
'हाम्रो अस्तित्वको प्रतीक नै यही नालापानी किल्ला हो। यो हटायो भने हाम्रो अस्तित्व बाँकी रहँदैन,' नालापानी किल्लाको स्मारकमाथि जाने सानो सिँढीमा बसेर नालापानीको इतिहास स्मरण गर्दै कर्नेल थापाले भने।
यही किल्लामा सन् १८१४ अक्टोबर २४ देखि नोभेम्बर ३० सम्म तन्किएको लडाइँमा आफ्ना पुर्खाले गरेको त्याग तथा बलिदान तथा मातृभूमिप्रति देखाएको बफादारीप्रति थापा र अन्य गोर्खाली निकै गौरव गर्छन्।
आफ्ना पछाडि निकै ठूलो फौज र आधुनिक हातहतियार भएपनि खुँडा र खुकुरीसामु अंग्रेज फौज निकै गल्न पुगेका थिए। नालापानी किल्ला आक्रमणकै क्रममा अंग्रेजी सेनाका कमान्डर जनरल जिलेस्पी गोर्खाली फौजद्वारा मारिएपछि अंग्रेजी पल्टन स्तब्ध हुन पुगेको थियो।

कर्नेल थापाले भने, 'त्यति बेला दुई दिनमा कब्जा गर्छौं भनेर अंग्रेज फौजले आक्रमण सुरू गरेको एक महिनाभन्दा बढीसम्म पनि बलभद्रको फौज लडी नै रह्यो, डटी नै रह्यो। यस्तो ठाउँमा खुकुरीको भरमा, राम्रो खान नपाइ, दियाबत्तीको भरमा कसरी लडे होलान्? त्यो लडाइँ इतिहासको बहुत ठूलो घटना हो।'
नालापानी टाकुरा वरिपरि छरिएका प्राचीन किल्लाका चट्टान र अन्य अवशेष देखाउँदै उनले भने, 'अंग्रेज फौजले गोर्खालीको पानीको मुहान नै बन्द गरिँदिदा पनि उनीहरू लडी नै रहे। नोभेम्बर ३० को रात बलभद्र र करिब ६० जना बचेका सेनाले यो किल्ला छोडेर जाँदा भनेका थिए — नालापानी अजेय छ।'
नालापानीमा बलभद्र कुँवर नेतृत्वको फौजले देखाएको असाधारण बहादुरीको सर्वत्र प्रशंसा र सम्मान आज पनि हुन्छ। त्यति बेला भारतका अंग्रेज शासकदेखि काठमाडौंका प्रशासकसम्म अचम्मित हुने गरी उनीहरूले देखाएको वीरताको गुणगान लड्दै महाकाली पारि गढवाल कुमाउँ र हिमाचल पुगेका गोर्खालीका सन्तानले नगाउने प्रश्नै आउँदैन।
गोर्खाली पहिचानको संकट
हामीलाई नालापानी किल्ला देखाउन लैजाने पासाङ नोर्बु शेर्पा देहरादूनको बीच भागमा पर्ने सैनिक क्यान्टोनमेन्ट नजिकै रहेको (सन् १९३८ मा स्थापित) गोर्खाली सुधार सभाको भवन नजिकै भेटिए। त्यस वरपर बाटोमा कैयौं गोर्खाली निवास तथा नेपाली अनुहार देखिए।
सिक्किमबाट यता बसाइ सरेका शेर्पाका अनुमानमा देहरादुन सहरमा मात्रै कम्तीमा ५० हजार गोर्खाली छन्।
तर भारतीय अखबार टाइम्स अफ इन्डियामा सन् २०१७ मा प्रकाशित एक समाचार अनुसार उत्तराखण्डमा १५ लाख गोर्खाली छन्, जुन त्यो राज्यको जनसंख्याको १५ प्रतिशत हिस्सा हो।
सन् २०११ को भारतीय जनगणना अनुसार पूरै देशमा नेपाली भाषा बोल्ने भारतीय गोर्खालीको जनसंख्या करिब ३० लाख छ।
करिब दुई सय वर्षदेखि भारतमा बसोबास गरिरहेको भए पनि भारतीय गोर्खालीहरूले राज्यबाट विभेद खेप्नु परिरहेको रहेछ। सहरी क्षेत्रमा धेरै समस्या नभए पनि कतिपय गाउँमा बसोबास गर्ने गोर्खालीहरूलाई 'तिमीहरू नेपाली नागरिक हौ' भनेर उनीहरूलाई रासन कार्ड र आधार कार्डजस्ता जरूरी परिचय पत्र पनि नदिइएका उदाहरण उत्तराखण्डमा रहेछन्।
देहरादूनका गोर्खाली कलाकारहरू। तस्बिरः गोर्खाली सुधार सभाको फेसबुक
टाइम्स अफ इन्डियामा देहरादूनबाट पठाइएको समाचारमा गोर्खाली अगुवा अवकासप्राप्त ब्रिगेडियर जनरल सिएस थापाले भनेका छन्, 'भारतका प्रशासकीय अधिकृतहरूले नेपालका नेपाली र गोर्खाली नै छुट्ट्याउन सक्दैनन्। त्यसैले गर्दा धेरै समस्या उत्पन्न भएका छन्। हामी गोर्खालीहरू यहीँका आदिवासी जस्तै हौं भन्ने कुरा उनीहरूले अझै बुझ्न सकिरहेका छैनन्।'
हिमाचलका नेपाली
उत्तराखण्डदेखि अझै पश्चिममा अर्को भारतीय हिमाली राज्य हिमाचल प्रदेश पर्छ।
गोरखा राज्य विस्तारको क्रममा सन् १८१४–१८१६ मा दुई वर्ष चर्किएको नेपाल–ब्रिटेन युद्धका बेला गोर्खाली फौज नालापानीदेखि अझै पश्चिम पुगेको थियो। त्यहाँ ती गोर्खालीका सन्तान अहिले निकै फैलिसकेका छन्।
सन् २०११ को जनगणना अनुसार हिमाचलका विभिन्न स्थानमा पनि करिब ९० हजार नेपालीभाषी गोर्खाली बसोबास गर्छन्। गोर्खालीले अंग्रेजसँग लडेको अर्को किल्ला पश्चिम किल्ला कांगडा हिमाचलकै धरमशाला पश्चिममा पर्ने कांग्रा जिल्लामा पर्छ।
धरमशाला क्षेत्रमा करिब २५ हजार गोर्खाली रहेको अनुमान छ।
धरमशाला नजिकैको पहाडमा अवस्थित मक्लोडगन्जमा तिब्बती निर्वासित आध्यात्मिक नेता दलाई लामा बस्छन्। त्यहीँ उनको निर्वासित प्रशासन पनि छ। त्यहाँबाट करिब १५ मिनेट पूर्व–उत्तर हिँडेपछि गोर्खाली गाउँ तोतारानी पुगिन्छ।
त्यही प्रख्यात नेपाली गायक तथा नाटककार मास्टर मित्रसेन थापाको जन्म भएको थियो, जसले इतिहासकै पहिलो नेपाली गीत रेकर्ड गराएको बताइन्छ।
'लाहुरे दाइको रेलीमाई फेसनै राम्रो' बोलको गीत सन् १९२० को दशकमा कोलकातामा रेकर्ड गरिएको थियो।
उनको अर्को चर्चित गीत हो, 'मलाई खुत्रुकै पार्यो जेठान तिम्रो बहिनीले'।
मास्टर मित्रसेन थापाको तस्बिर अंकित भारतीय र नेपाली हुलाक टिकट।
गोर्खाली सुधार अभियानको समेत अगुवाइ गरेका थापा पटक पटक भारतका गोर्खाली बस्ती हुँदै नेपाल समेत आएका थिए। उनले नेपाली साहित्य र संगीतलाई कदर गर्दै नेपाल र भारत दुवै सरकारले मास्टर मित्रसेनको तस्बिर अंकित हुलाक टिकट निकालिसकेका छन्।
कांगडा छेउका गोर्खाली सपुत
धरमशालाको व्यस्त बजारबीच पूर्वभारतीय गोरखा सैनिक अधिकृत प्रितमसिंह थापाको निवास छ।
सन् २००५ मा म 'द काठमाडौं पोस्ट' को भारत संवादाता भएर काम गर्दा उनी मलाई लिन गर्न एकाबिहानै धरमशाला बस–स्टेसन नजिकै चोकमा आइपुगेका थिए।
त्यति बेला मलाई न्यानो स्वागत गर्दै उनले भनेका थिए, 'तपाईं दिल्लीबाट यहाँ आउनुभयो। मेरो पुर्खा काठमाडौंको टुँडिखेलबाट हिँडेर लड्दै लड्दै यहाँ आइपुगेका थिए।'
वर्षौंअघि उनी लन्डनमा पढ्दा उनले त्यहीँ पढिरहेका तत्कालीन युवराज वीरेन्द्र शाहलाई पनि भेटेको स्मरण गरे। उनले आफू वीरेन्द्रसँगै उभिएको तस्बिर पनि देखाए। पुराना सम्झना सुनाउँदै नेपाललाई पितृभूमि मान्ने थापा अझै भावुक भएका थिए।
'सन् २००१ जुनमा राजा वीरेन्द्रको वंशनाश हुने गरी हत्या भएपछि म काठमाडौं जाँदा मैले टुँडिखेलमा गएर त्यहाँको माटो समेत ढोगेँ,' उनले भने।
उनकी छोरी ज्योती थापा मणि गोर्खाली हुनुमा यति धेरै गर्व गर्छिन् कि, उनले गोर्खाली सेनाको इतिहास समेटेर 'खुक्री ब्रेभ्स् (Khukri Braves)' नाम गरेको ठूलो 'कफी टेबल' किताब नै प्रकाशन गरिसकेकी छिन्।
ज्योति थापा मणिको किताब 'खुक्री ब्रेभ्स' मा बलभद्र कुँवरको अध्याय।
भारतका गोर्खालीहरूबारे ताजा 'च्याट' गर्ने क्रममा हाल अस्ट्रेलियामा रहेकी थापा मणिले भनिन्, 'भारतीय भूमिमा नेपालले त्यति बेला हासिल गरेका ऐतिहासिक उपलब्धिकै कारण हामी भारतीय गोर्खालीलाई भारतमा धेरै सम्मान मिलेको छ। यसका लागि हामीले नेपाललाई धन्यवाद दिनैपर्छ।'
धरमशालामै जन्मिएका रहेछन् अर्का गोर्खाली सपुत रामसिंह ठाकुर जसले भारतको राष्ट्रिय गानको संगीत निर्माणमा महत्त्वपूर्ण काम गरेका छन्। गोर्खालीहरूले भारतीय स्वतन्त्रता दिवसकै दिन अगस्ट १५ मा उनको जन्मजयन्ती मनाउँदा रहेछन्।
हिमाचलको अर्को पर्यटन नगरी शिमला क्षेत्रमा गोर्खालीको बसोबास छ। त्यहीँ जन्मिएका अनुपम थापा दिल्लीमा पत्रकारका रूपमा काम गर्छन्। निकै मिलनसार स्वभावका थापाले नेपालीहरूसँग मित्रताको हात बढाइहाल्छन्।
सन् २००५ मा मेरो एउटा लेख पढेपछि पुछारमा रहेको मेरो इमेल ठेगानामा लेख्दै उनले आफ्नो परिचय यसरी दिएका थिए, 'हाम्रो पुर्खा बडाकाजी अमरसिंह थापा थिए। अंग्रेजसँग सन्धि भएपछि चित्त नबुझेर हाम्रा पुर्खा यतै बसेका थिए।'
खलंगा उत्सव
देहरादूनमा गोर्खाली महिलाहरू। तस्बिरः गोर्खाली सुधार सभाको फेसबुक
वारि देहरादूनमा भने नालापानी खलंगा क्षेत्रलाई थप संरक्षित तुल्याउने प्रयास जारी छन्।
अहिले नै खलंगा क्षेत्र देहरादूनको जानैपर्ने गन्तव्य बनिसकेको छ।
अझ २११ वर्षअघि यहाँ गोर्खाली फौजले वीरतापूर्वक लडेको सम्झनामा हरेक नोभेम्बरको अन्तिम आइतबार नालापानीमा खलंगा मेला आयोजना गर्न थालिएको पनि वर्षौं भइसकेछ।
कर्नेल विक्रमसिंह थापाका अनुसार नोभेम्बरको अन्तिम शनिबार यहाँ चन्द्राणी माताको पूजा हुन्छ।
त्यसको भोलिपल्ट आइतबार खलंगा मेला हुन्छ जहाँ गोर्खाली साँस्कृतिक कार्यक्रमसँगै खानपिनको समेत व्यवस्था हुन्छ।
(लेखक सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal