सल्यान त्रिवेणी गाउँपालिका–६ का ३५ वर्षीय युवराज थापा दुबईको जेलबाट मुक्त भई स्वदेश फर्किएका छन्।
ब्लड मनीका लागि संकलित करिब ८६ लाख रुपैयाँ बुझाएपछि उनी घर फर्किन सफल भएका हुन्।
गाउँपालिका र वडा कार्यालयले मंगलबार उनलाई माला–खादा लगाएर स्वागत गर्दै दीर्घ जीवनको शुभकामना दिएको थियो। बिहीबार छत्रेश्वरी गाउँपालिका–३ दारिमज्युलामा आयोजना हुने तीज विशेष कार्यक्रममा युवराजलाई सार्वजनिक रूपमा सम्मान गर्ने तयारी भइरहेको छ।
युवराजलाई बचाउन आवश्यक रकममध्ये ८१ लाख रुपैयाँ देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले स्वस्फूर्त रूपमा सहयोग गरेका थिए। बाँकी रकम परिवारले व्यवस्था गरेको थियो।
गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले युवराज घर फर्किएको घटना परिवार मात्र नभई सिङ्गो समाजकै लागि चमत्कारिक खुसी भएको बताए।
‘उहाँ घर फर्किएपछि गाउँपालिका कार्यालयमा आएर भावनात्मक रूपमा आत्मीयता साट्नु भएको थियो,’ गाउँपालिका अध्यक्ष रावतले भने, ‘सुरूमा मेरो घर परिवारको आग्रहलाई आत्मसाथ गर्दै तपाईंहरूले सुरूआत गरेको अभियानका कारण मेरो ज्यान जोगियो र म घर फर्किन पाएको हुँ भन्दै उहाँले हामीलाई धन्यवाद दिनुभयो र हामीले पनि उहाँ फर्किएर घर आउन सफल भएकोमा उहाँलाई स्वागत गर्दै बाँकी जीवनमा असल कर्मका लागि अग्रसर हुन आग्रह गरेका हौं।’
गाउँ घर टोल, समाज र देशबासी सबैले एउटी चेलीले अनाहकमा दोषी करार गरी विदेशमा बन्धक बनाइएका आफ्ना श्रीमान युवराजको जीवन रक्षाको लागि गरेको सहयोग र खेलेको भूमिकाको कुनै पनि शब्दमा वर्णन गर्न सम्भव नभएको श्रीमती अञ्जलीले बताइन्।
श्रीमती अञ्जली केसी थापाले सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै भनिन्, ‘व्यक्तिगत रूपमा मेरो खुसी र मेरो सौभाग्य विदेशमा बन्धक बन्दा म एउटी चेलीले उहाँको जीवन रक्षाको आचना गर्न बाध्य भएकी थिएँ,’ अञ्जलीले भनिन्, ‘मेरो पुकारा सारा नेपाली दाजुभाइ र दिदी बहिनीले सुनिदिनु भयो र आज मेरो र मेरो घर परिवारमा खुसीको बहार छाएको छ।’
आफ्नो छोरा अप्ठेरोमा पर्दा सारा नेपालीले देश विदेशबाट सहानुभूति राखेर त्यति धेरै रकम जुटाएकोमा उनकी ५१ वर्षीया आमा शारदा थापा कृतज्ञ छन्।
५१ वर्षीया आमा शारदा थापाले पनि सबैलाई धन्यवाद दिँदै भनिन्, ‘सबैको सहयोगले मेरो छोरा फर्किन पायो। यो आमाका लागि जीवनकै ठूलो खुसी हो।’
शारदाले आफ्नो छोराले जस्तै दुःख, पीडा र यातना विदेशी भूमिमा कसैका सन्तानले पनि भोग्न नपरोस् भन्ने कामना पनि गरिन्।
‘जे जति दुःख र पीडा मेरो छोराले विदेशमा भोग्नु पर्यो, त्यो नै सबै नेपालीका लागि उसैले भोगेको समान होस्,’ उनले भनिन्, ‘अब उप्रान्त विदेशी भूमिमा कुनै नेपाली छोरा छोरीले मेरो छोराले जस्तो दुःख पाउनु नपरोस् भन्ने भगवानसँग कामना गर्न चाहन्छु।’
देश विदेशमा रहेका नेपालीले ८१ लाख जति रकम एक डेढ महिनाको अन्तरालमै युवराजको जीवन रक्षाका लागि सहयोग गरेका थिए।
सन् २०२३ मा दुबईस्थित एक होटलको स्वीमिङ पुलमा ड्युटीमा रहेका बेला अफ्रिकी मुलुक कङ्गोका एक व्यक्तिको हृदयघातका कारण मृत्यु भएपछि युवराजमाथि लापरबाहीको मुद्दा दायर भएको थियो। त्यही प्रकरणमा अदालतले ब्लड मनी तिर्न आदेश दिएको थियो।
२०७९ सालमा रोजगारीका लागि दुबई पुगेका युवराजले अब बाँकी जीवन समाज र परिवारकै सेवामा खर्च गर्ने बताएका छन्।
यो पनि:
'ब्लडमनी' बापत ७६ लाख तिर्नुपर्ने भएपछि युवराजको याचना