बुटवल जेसिस चोकस्थित पसलमा केही दिन पहिले भक्त बस्नेतलाई भेट्दा चिया पकाउँदै थिए। पसलमा सधैँ हँसिला र फूर्तिला देखिने भक्तको शरीरमा अचेल फूर्ति हराउन थालेको छ।
शरीरमा लागेको गोलीको असरले होला उनको खुट्टा अचेल पहिले भन्दा धेरै चस्किन्छ। एकनासले उभिनुपर्दा, केहीबेर हिँड्दा र बढी चिसो हुँदा पनि खुट्टा झमझमाउँछ। हिपसँग जोडिएको दाहिने खुट्टाको जोर्नीमा गोली बोकेर उनी हिँडिरहेको ३५ वर्ष भयो।
सरकारले क्षतिपूर्ति बापत दिएको जग्गामा छाप्रो हालेर भक्तले बुटवलमा खाजा पसल सञ्चालन गरेको ३० वर्ष भयो। यो अवधिमा न त उनले खुट्टाको गोली निकाल्न पाएका छन् न त सरकारले लालपुर्जा दिएको जग्गाको तिरो चलाउन पाएका छन्।
२०४७ सालमा उनी भर्खर १७ वर्षका थिए। देशमा बहुदल प्राप्त भएपछि गाउँसम्म त्यसको खुसीयाली पुगेको थियो। तत्कालीन राजनीतिक दलहरू नेपाली कांग्रेस र कम्युनिस्टहरू सँगै मिलेर देशमा बहुदल प्राप्तिका लागि पञ्चायतका विरूद्ध आन्दोलन गरेका थिए। फलस्वरूप २०४६ सालमा पञ्चायती व्यवस्थालाई ढालेर बहुदल स्थापना भएको थियो।
तर, कांग्रेस र कम्युनिस्टहरू बीचको द्वन्द्व र तिक्तता भने हटेको थिएन। बहुदल प्राप्तिपछि पनि सहरमा भन्दा गाउँहरूमा नेपाली कांग्रेस र कम्युनिस्टबीच धेरै तिक्तता रह्यो।
नेपाली कांग्रेस र कम्युनिस्ट फरक फरक दलमा आबद्ध भएको र आस्था राखेकै कारण एकअर्कासँग बोलीचाली नगर्ने, आउजाउ नगर्नेसम्म हुन्थ्यो। यतिसम्मकी फरक आस्था राखेकै कारण आफन्तहरूबीच विवाह व्रतबन्ध विभिन्न चाडपर्व जस्ता पारिवारिक जमघटका कार्यक्रममा समेत आउजाउ बन्द हुने अवस्था थियो।
अर्कोभन्दा आफू शक्तिशाली छु भन्ने देखाउन एकअर्कामाथि भौतिक आक्रमणमा समेत उत्रिन्थे। त्यस्तै आक्रमणमा लागेको गोलीको चिनो बोकेर बाँचेका साक्षी हुन् भक्त।
जिल्ला फरक भए पनि गुल्मीको नयाँ गाउँ र अर्घाखाँचीको मरेङको सिमाना जोडिएको छ। नयाँ गाउँका जय प्रताप मल्ल गुल्मीमा नेपाली कांग्रेसका चल्तापुर्जा नेता थिए।
तत्कालीन मरेङ ३ अमिलेका भक्त पनि १२/१३ वर्षदेखि नै विद्यार्थी सङ्गठनमा लागिसकेका थिए। १७ वर्षको उमेरमा उनी आठ कक्षामा पढ्थे तर तत्कालीन माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा भने अर्घाखाँचीको सहसचिव तथा पूर्वोत्तर इलाका कमिटीको इन्चार्ज बनिसकेका थिए।
त्यति बेला गाउँभरि हल्ला फैलिएको थियो, मल्लले नयाँ गाउँको कुना खर्कस्थित सिखे डाँडामा रहेको सार्वजनिक जग्गा ओगटेका छन् भन्ने।
नयाँ गाउँमा मात्र होइन, मरेङबाट पनि त्यसको विरोध भयो। सार्वजनिक जग्गा व्यक्तिको बनाइनु हुँदैन सार्वजनिक नै छोडिनुपर्छ भनेर मल्लका विरूद्ध आवाज उठ्न थाले।
मल्ल नेपाली कांग्रेसको नेता भएकोले पनि होला मालेमा आबद्धहरूले उनलाई गाउँ लखेट्ने अभियान चलाएका थिए। कम्युनिस्टहरूको विरोधपछि मल्ल केही दिन गाउँमा देखिएनन् पनि।
२०४७ साल कात्तिक २० गते मरेङस्थित वीरेन्द्र निमाविमा चिनियाँ काजीको स्मृति दिवस मनाइँदै थियो। अचानक खबर आयो मल्लले नयाँ गाउँमा आफ्नो विरोध गरेकाहरूमाथि आक्रमण गरिरहेका छन्।
कार्यक्रम स्थलबाटै भक्तको नेतृत्वमा २०/२२ जना विद्यार्थी र स्थानीय राजेन्द्रकुमार आचार्यको नेतृत्वमा युवाहरूको समूह नयाँ गाउँमा उद्धारको लागि गयो। स्थानीय नारायण पोख्रेल, बमबहादुर खड्का, कुसुम मल्लसहितका मालेका नेताहरू मल्लको समूहबाट गाउँबाट लखेटिएपछि मरेङबाट मात्र होइन खन, खन दह, जैसी थोक लगायतबाट कम्युनिस्टहरू उद्धारको लागि गएका थिए।
नयाँ गाउँमा त्यो दिन नेपाली कांग्रेस र मालेबीच शक्ति प्रदर्शन नै भएको थियो। सोही क्रममा मल्लले चलाएको गोली लागेर भक्त घाइते भएका थिए। भक्त अहिले पनि त्यही गोली बोकेर बाँचिरहेका छन्।
भक्तमाथि गोली लागेपछि मालेका कार्यकर्ताहरूको आक्रमणमा मल्ल पनि गम्भीर घाइते भए। भक्तमाथि गोली हानेको विषय दुई वटा जिल्ला मात्र होइन देशभर फैलियो।
सुरूमा सार्वजनिक जग्गाको विषयलाई लिएर मल्लविरूद्ध गरिएको विरोध र आन्दोलन कांग्रेस र माले बीचको लडाइँमा परिणत भइसकेको थियो। नयाँ गाउँको उक्त घटनापछि दुई पार्टीबीच गुल्मी र अर्घाखाँचीमा पछिसम्म पनि ठूलो लडाइँ चलिरह्यो।
कांग्रेसको गण भएको गाउँबाट मालेहरू लखेटिए कांग्रेसहरू मालेबाट कुटिए।
विवाद मिलाउन जिल्ला तहमा कांग्रेसका तर्फबाट भागवत ज्ञवाली र मालेका तर्फबाट सिद्धिनाथ ज्ञवालीको टोली खटियो।
राष्ट्रिय स्तरमा मालेको तर्फबाट सिपी मैनाली र कांग्रेसको तर्फबाट दमननाथ ढुंगाना रहेको दुई सदस्यीय अधिकार सम्पन्न राजनीतिक विवाद छानबिन समिति गठन भएको थियो। त्यतिबेला अधिवक्ता रहेका प्रकाश राउत (वर्तमान प्रधानन्यायाधीश), अग्नि खरेल (हाल प्रधानमन्त्रीका कानुनी सल्लाहकार) र तेजप्रसाद कँडेल सहजीकरणको लागि समितिको टोलीमा संलग्न थिए।
उक्त समितिले २०४७ पुस तेस्रो साताभरि गुल्मीमा बसेर गरेको घटनाको अनुसन्धानपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा गोली लागेर गम्भीर घाइते भएका भक्तको उपचारका लागि लाग्ने सबै रकमको व्यवस्थापन तथा जीवनयापनका लागि सरकारी घर वा जग्गा दिलाउने र अर्का घाइते जय प्रताप मल्लको पनि सबै उपचार खर्च सरकारले उपलब्ध गराउने उल्लेख छ।
आयोगको सिफारिस अनुसार २०४९ साल कात्तिकमा नै मन्त्रिपरिषद् बैठकले भक्तलाई रूपन्देहीमा जग्गा दिने निर्णय गरेको थियो। शेरबहादुर देउवा गृहमन्त्री थिए।
मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि कांग्रेस नेताहरूको दबाबमा उक्त निर्णय कार्यान्वयन हुन सकेन।
२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार गठन भयो। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए। ओलीले उक्त निर्णय कार्यान्वयनका लागि तत्कालीन सुकुम्वासी समस्या समाधान आयोग रूपन्देहीलाई पत्राचार गरे। त्यही पत्रलाई आधार मानेर २०५२ साल असार १६ गतेको निर्णयअनुसार रूपन्देही आयोगले बुटवल वडा नं ४ स्थित अदालत अगाडिको १ कट्ठा जग्गा भक्तलाई उपलब्ध गराएको थियो।
३३ वर्ष पहिले मन्त्रिपरिषदबाट निर्णय भएर ३० वर्ष पहिले आयोगले जग्गाको लालपुर्जा उपलब्ध गराए पनि भक्तले अहिलेसम्म पनि बैंकिङ कारोबारमा प्रयोग गर्न पाएका छैनन्।
‘राजनीतिक विवाद छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारबाटै ३० वर्ष पहिले जग्गाको लालपुर्जा पाएको हुँ, मेरो नाममा जग्गाको लालपुर्जा भए पनि अहिलेसम्म तिरो लिइएको छैन जसले गर्दा जग्गामा बस्ने बाहेक अरू कुनै काममा उपयोग गर्न पाएको छैन,’ भक्तले भने।
उनले लालपुर्जा पाए पछिका हरेक सरकारलाई तिरो चलाइदिन भन्दै आए पनि अहिलेसम्म कसैले सुनुवाइ नगरेको बताए।
‘हरेक पटक सरकार परिवर्तन भएपछि तिरो चलाइदिन भन्दै गृह मन्त्रालयमा निवेदन लगेर बुझाउँदै आएको छु, आफै गृहमन्त्री भएको बेला लालपुर्जा दिन आयोगलाई निर्देशन गर्नुभएका केपी शर्मा ओलीको नेतृत्वमा तीन पटक सरकार गठन भइसकेका छन् तर, कुनै पनि सरकारले तिरो चलाउन भनेर निर्देशन दिएका छैनन्,’ उनले दुखेसो गरे।
सरकारले भक्तलाई लालपुर्जा दिएको उक्त जग्गा तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको थियो।
राजनीतिक परिवर्तन सँगै अञ्चलाधीश कार्यालय खारेज भएपछि उक्त कार्यालय मातहत रहेका सबै भौतिक संरचना र जग्गाजमिन जिल्ला प्रशासन कार्यालय मातहत रहे।
बुटवलमा अञ्चलाधीश कार्यालय रहेको जग्गामा अहिले प्रदेश प्रमुखको कार्यालय, बार एसोसिएसन लगायत कतिपय व्यक्तिहरूले समेत जमिन ओगटेर बसेका छन्। भक्तले आफू जबरजस्ती नभई सरकारबाटै लालपुर्जा सहित उपलब्ध भएको जमिनमा बसोबास गरिरहेकोले तिरो चलाउनुपर्ने बताउँछन्।
‘मलाई जमिन दिनुपर्छ भनेर प्रतिवेदन बनाउने व्यक्तिहरू अहिले प्रधानन्यायाधीश र प्रधानमन्त्रीका कानुनी सल्लाहकार हुनुहुन्छ, जमिनको लालपुर्जा दिन निर्देशन गर्ने व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ तर पनि मलाई दिएको १ कट्ठा जमिनको तिरो चलाउन किन निर्णय गर्न सकिएको छैन? उनको प्रश्न छ।
खुट्टामा गोली लाग्दा १७ वर्षका रहेका भक्त अहिले ५३ वर्ष भए। हिपसँग जोडिएको दाहिने खुट्टाको माथिल्लो भागमा हड्डीभित्र रहेकोले त्यति बेला गोली निकाल्न नसकिए पनि अहिलेसम्म ठूलो असर देखिएको थिएन। पछिल्ला दुई तीन वर्षदेखि भने केहीबेर उभिँदा, हिँड्दा पनि खुट्टा दुख्ने झमझमाउने गर्न थालेको उनले बताए।
‘उति बेलै झन्डै चार महिना शिक्षण अस्पताल काठमाडौंमा उपचार भए पनि अपरेसन गरेर गोली निकाल्दा खुट्टा नै सुक्न सक्ने भएकोले डाक्टरले अपरेसन नगर्ने सल्लाह दिनुभयो, अहिले दु:ख दिन थालेको छ,’ उनले भने।
घाइते भएपछि धेरै पढ्न र राम्रो व्यवसाय गर्न नसक्दा सरकारले लालपुर्जा उपलब्ध गराएको अस्थायी छाप्रोमै पसल सञ्चालन गर्न बाध्य भएको उनले गुनासो गरे।
भक्त र श्रीमती गीताले अहिले बुटवलको त्यही अस्थायी छाप्रोमा चिया पसल चलाइरहेका छन्।