युक्रेनले रूसको परमाणु केन्द्रमा ड्रोन हमला गरेको छ।
आइतबार सीमावर्ती कुर्स्कमा रहेको परमाणु विद्युत केन्द्रमा युक्रेनले ९५ वटा ड्रोन खसालेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ड्रोन हमलका कारण परमाणु विद्युत केन्द्रमा ठूलो क्षति पुगेको लेनिनग्राद क्षेत्रको एउटा प्रमुख इन्धन टर्मिनलमा भीषण आगलागी भएको छ।
अगस्ट २४ युक्रेनले तत्कालीन सोभियत संघबाट स्वतन्त्रता घोषणा गरेको दिन हो।
सीमाबाट करिब ६० किलोमिटर टाढा रहेको कुर्स्क परमाणु केन्द्रमा राति एक ड्रोन खसेर सहायक ट्रान्सफर्मरमा क्षति पुर्याएको थियो।
युक्रेनी ड्रोन हमलाले परमाणु भट्टीको उत्पादन क्षमता ५० प्रतिशतले घटेको भनेर रोयटर्सले लेखेको छ। प्लान्टले विकिरण स्तर सामान्य रहेको र मानवीय क्षति नभएको स्पष्ट पारेको छ। अन्य दुई रिएक्टर उत्पादनविहीन अवस्थामा सञ्चालनमा रहेका छन् भने एक रिएक्टर मर्मतमा छ।
यसबाहेक, फिनल्याण्ड खाडी किनारमा रहेको लेनिनग्राद क्षेत्रको उस्ट–लुगा बन्दरगाहमा पनि कम्तीमा १० वटा ड्रोन खसालिएका छन्।
नोभाटेक कम्पनीद्वारा सञ्चालित विशाल इन्धन टर्मिनलमा परेको टुक्राले आगलागी भएको र आकाशमा कालो धुवाँको बाक्लो मुस्लो देखिएको छ। सो टर्मिनलमार्फत चीन, सिंगापुर, ताइवान, मलेशिया लगायतका एशियाली मुलुकमा नाफ्था, हवाई इन्धन तथा अन्य पेट्रोलियम पदार्थ आपूर्ति हुने गर्दछ।
दक्षिणी रूसी शहर सिजरानमा पनि आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यहाँ एक बालक घाइते भएको जनाइएको छ। यसअघि यसै क्षेत्रमा रहेको रोसनेफ्ट तेल प्रशोधन कारखाना युक्रेनी आक्रमणपछि बन्द गर्नुपरेको थियो।
संयुक्त राष्ट्रसंघीय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले कुर्स्क परमाणु केन्द्रमा भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै युद्धबीचमा पनि सबै प्रकारका परमाणु संरचना सुरक्षित हुनुपर्नेमा जोड दिएको छ।
युद्धको समाधानका लागि शान्ति वार्ताका चर्चा भइरहे पनि युक्रेन र रूसबीचको लडाइँ अझै तीव्र छ। मोर्चासँगै अब दुबै मुलुकका भित्री भागमा समेत ड्रोन र मिसाइल आक्रमण बढ्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्ध अन्त्यका लागि अलास्कामा छलफल गरेका थिए।
पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर पुटिन र युरोपेली नेताहरूसँगको छलफलपछि पुटिन र जेलेन्स्कीसहित त्रिपक्षीय छलफल गर्ने भनिएको थियो।
तर रूसले जेलेन्स्कीसँग वार्ता गर्ने सन्दर्भमा चासो देखाएको छैन।
ट्रम्पले जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्न पुटिनलाई दुई साताको अल्टिमेटम दिएका छन्।