वीरगञ्ज महानगरपालिकामा झाडापखाला र हैजा समुदायस्तरमा फैलिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्जका ६ वटा वडामा झाडा पखालाका बिरामी देखिएका छन् भने १ सय ३ जना बिरामी वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका छन्। जसमध्ये २२ जना आइसियुमा छन्।
र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षण गर्दा ७९ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
‘सुरूमा वडा नम्बर १२ मा ‘केस’ देखिएको हो, अहिले वडा नम्बर ११, १३, ३, १० र १६ वडामा पनि संक्रमण देखिएको छ,’ उनले भने।
वीरगञ्जको नारायणी अस्पताल, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, वीरगञ्ज हेल्थ केयर, नारायणी सेन्ट्रल अस्पताल, एडभान्स अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ।
वीरगञ्जमा पछिल्लो तीन वर्षयता चापाकल सुक्न थालेको छ। चापाकल सुकेको क्षेत्रमा खानेपानी संस्थान र डिप बोरिङबाट पानी वितरण हुँदै आएको छ। पानीबाटै हैजा र झाडा पखालाको संक्रमण फैलिएको आशंका जनस्वास्थ्य विज्ञहरूले गरेका छन्।
तराई हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. रोशन कुर्मीका अनुसार अस्पतालमा साउन ३१ गतेदेखि नै दुई जना झाडा पखालाका बिरामी उपचारका लागि आएका थिए।
बिरामी आउने क्रम बढेपछि वीरगञ्ज महानगरपालिकालाई जानकारी गराइएको थियो।
महानगरपालिकाले उपलब्ध गराएको आरडिटी किटबाट परीक्षण गर्दा एक जनामा हैजा पोजेटिभ देखिएको थियो। हाल अस्पतालमा आएका १०० भन्दा बढी बिरामीमध्ये ५० जनाको आरडिटी परीक्षण गर्दा २५ जनामा हैजा पोजेटिभ देखिएको छ। जनघनत्व बढी भएको क्षेत्रमा बढी संक्रमण फैलिएको छ।
बिरामीमा ‘खराब हैजा’को संक्रमण देखिएको उनी बताउँछन्।
‘पखाला गएको गएकै गर्छ, बेडमा प्लाष्टिक राखेर डाइपर लगाएर उपचार गराइरहेका छौं। २४ घण्टादेखि ३ दिनसम्म दिसा भएको भएकै छ। गर्भवती महिला, बच्चा, मुटुका बिरामी पनि छन्, उनीहरूलाई बढी अप्ठेरो छ, आइसियुमा राखेका छौं,’ डा. कुर्मीले भने।
उनका अनुसार झाडा पखाला, बान्ता हुने, पिसाब बन्द हुने, पेट दुख्ने, ब्लड प्रेसर एकदमै कम हुने जस्ता लक्षण बिरामीमा देखिएको छ।
कल्चर गर्न भनेर लगिएको नमूनाको रिपोर्ट नआउँदा संक्रमणबारे अझ स्पष्ट हुन नसकिएको उनको भनाइ छ।
‘कल्चरपछि थाहा हुन्थ्यो, कुन कुन किटाणु छन्, हैजा मात्रै छ कि अरू पनि किटाणु मिसिएको छ, त्यो थाहा हुन्छ,’ डा. कुर्मीले भने, ‘हैजासँगै अरू दुई तीन वटा किटाणुका संक्रमण हुन सक्छ। आधिकारिक रिपोर्ट पर्खिरहेका छौं।’
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनले वीरगञ्जमा हैजा पुष्टि नभएका बिरामीको संख्या ठूलो रहेकोले त्यसतर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन्। अहिले आरडिटी पोजेटिभ देखिए पनि पछि कल्चर गर्दा नेगेटिभ आउन सक्ने उनको भनाइ छ।
‘आरडिटी टेष्टले हैजाको सम्भावना देखाएको छ, तर कल्चर गर्दा हैजा पुष्टि भयो भने आधिकारिक मानिन्छ,’ उनले भने, ‘खानेकुरा र पानीबाट संक्रमण फैलने हुँदा विशेष ध्यान दिनुपर्छ।’
लक्षणविहीन संक्रमितबाट झनै बढी जोखिम हुने हुँदा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए।
वीरगञ्जमा हैजाको संक्रमण कमै व्यक्तिमा मात्रै पुष्टि भएको हुँदा बाँकीलाई के कारणले झाडा पखाला लागिरहेको छ त्यसको पनि अध्ययन जरूरी रहेको उनको भनाइ छ।
‘वीरगञ्जमा ‘नन कोलेरा’ को समस्या पनि छ, जसले गर्दा मानिसलाई झाडा पखाला लागेर अस्पताल जानुपरिरहेको छ, त्यो कस्तो संक्रमण हो? अध्ययन हुनुपर्छ,’ उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीरगञ्जमा हैजाको महामारी फैलिएपछि त्यसबारे जानकारी लिन पुगेका हुन्।
स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य कार्यालय, नारायाणी अस्पताल, महानगरपालिकाका अधिकारीहरूसँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिइरहेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहले जानकारी दिए।