वीरगन्जमा हैजा संक्रमण भएको पुष्टि भएको छ।
प्रयोगशालामा गरिएका ३२ वटा नमूनाको परीक्षणमध्ये २५ वटामा हैजा पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार ३२ वटा नमूना 'कल्चर' परीक्षणका लागि काठमाडौं र जनकपुरको प्रयोगशालामा पठाइएको थियो।
'तीमध्येबाट २५ वटामा हैजा पोजेटिभ आएको छ। ७ वटाको रिपोर्ट आउन बाँकी छ,' उनले भने, 'कोलेरा टाइप वानको कीटाणु देखिएको छ।'
मधेस प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयको टोलीले वीरगन्जका नारायणी अस्पताल र तराई हस्पिटलबाट कुल ३२ जना बिरामीको दिसाको नमूना संकलन गरेको थियो।
तीमध्ये २२ वटा नमूना जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा र १० वटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू, काठमाडौं पठाइएको थियो।
टेकू प्रयोगशालाका चिकित्सा प्राविधिक उपप्रमुख एवं सूचना अधिकारी सन्तोष सुवेदीका अनुसार आएका १० वटामध्ये ८ वटा नमूनामा हैजा पोजेटिभ देखिएको छ। बाँकी दुइटा नमूना परीक्षण क्रममै छ। बुधबारसम्म रिपोर्ट आइपुग्छ।
नमूना पठाउने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अब रोकथामको उपाय सशक्त बनाउन आवश्यक रहेको बताए।
'हाम्रो अस्पतालबाट पठाएको १५ वटामध्ये १२ वटा नमूनामा हैजा देखिएको छ। सुरूमा अन्य कुनै कारणले पखाला लागेको हो वा हैजाको कारणले भनेर शंका थियो,' उनले भने, 'उपचार त कोलेराकै आशंकामा गरेका थियौं। तर अब रोकथामका उपाय थप सशक्त बनाउनुपर्छ।'