रौतहटमा सुटकेशभित्र महिलाको शव भेटिएको घटनामा आरोपी नै जलेको अवस्थामा भेटिएको छ।
हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा-मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका हन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीका अनुसार आरोपीले आफूले आफैलाई जलाएका थिए।
उनलाई घाइते अवस्थामा उद्धार गरी गरुडाको अस्पताल पुर्याइएको छ।
'अहिले गरूडामा उपचार हुँदैछ। आरोपी बोल्न सक्ने अवस्थामा छन्। काठमाडौं पठाउने तयारी गर्दैछौं,' डिएसपी कार्कीले सेतोपाटीसँग भने।
उनले हत्याको आरोप पनि स्वीकार गरेका छन्।
'मैले नै हत्या गरेको हुँ भनेका छन्। थप अनुसन्धान हुँदैछ,' डिएसपी कार्कीले भने।
गत शनिबार राति साढे ९ बजे रौतहटको गौर नगरपालिका-९ गौर-सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।
भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो।
उनको घर भारतको मुजफ्फरपुर रहेको र चार वर्षदेखि रौतहटमै बस्दै आएकी थिइन्।
माइती माधवपुर भए पनि उनी छोरा पढाउन भनेर गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन्। उनको श्रीमान भने भारतमै छन्। घटनापश्चात श्रीमान पनि रौतहट आएका थिए।