हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।
कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै ३९.८ मिलिमिटर वर्षा भएको महाशाखाले अद्यवधिक गरेको विवरणमा उल्लेख छ।
त्यस्तै डोटीको गैरामा १५ मिलिमिटर, डडेलधुराको साहुखर्कमा १०.८ मिलिमिटर वर्षा पछिल्लो एक घन्टामै भएको छ। बैतडी, बझाङ लगायतका ठाउँहरूमा पनि वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सोमबार राति देशभर साधारणतया बदली रहनेछ।
राति सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।