इसराइलले गजा हमलामा हमासका प्रवक्ता अबु ओबेइदालाई मारेको दाबी गरेको छ।
गजामा हमासलक्षित सुरक्षा कारबाही बढाउने छलफलका लागि बसेको इसराइली सुरक्षा क्याबिनेटको बैठकमा अधिकारीहरुले हमास प्रवक्ता ओबेइदा मारिएको ब्रिफिङ गरेका हुन्।
प्रवक्ता ओबेइदा मारिएको विषयमा हमासले अहिलेसम्म केही बोलेको छैन।
इसराइली रक्षामन्त्री इसराइल कात्जले अबु ओबेइदाको वास्तविक नाम हुफाहैदा खलौत रहेको र उनी गजामा सैनिक कारबाहीका क्रममा मारिएको बताएका छन्।
इसराइलले सैन्य कारबाही तीव्र बनाउने र गजाको पूर्ण नियन्त्रण लिने घोषणा गरेपछि हमास प्रवक्ता ओबेइदाले विज्ञप्ती जारी गर्दै जिवित बन्धकहरूलाई जोगाउन हर प्रयत्न गर्ने तर मृतक बन्धकलाई इसराइलले सधैँका लागि बिर्सनुपर्ने हुन सक्ने चेतावनी दिएका थिए।
गजामा अझै ५० जना बन्धक हमासको कब्जामा छन्।
तीमध्ये कम्तिमा २० जना अझै जिवितै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
पछिल्लो एक सातायता इसराइलले गजामा आक्रमण तीव्र बनाउँदै लगेको छ।
इसराइलले त्यहाँका मानिसहरूलाई अन्यत्र सर्न चेतावनी दिए पनि उनीहरू दक्षिणतिर सर्न मानेका छैनन्।
इसराइलले आक्रमण गरेयता ठाउँ सरेको सर्यै गरेर बाँचेकाहरू दिक्क भइसकेको र अब सर्न नमानेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)ले लेखेको छ।
इसराइली सुरक्षा क्याबिनेटमा युद्धविरामबारे भने छलफल नै नभएको एपीले लेखेको छ।
इसराइलले सबै बन्धक एकसाथ छाड्नुपर्ने प्रस्ताव गरेको छ। त्यसो भएको खण्डमा मात्रै युद्धविराम सम्भव हुने उसले बताएको छ। साथै गजामा इसराइली सैन्य नियन्त्रण पनि इसराइलको अर्को सर्त हो। जुन हमासले कुनै पनि हालतमा स्वीकार नगर्ने बताइसकेको छ।
युद्धविरामका सर्तहरूमा दुवै पक्षलाई मनाउन कतार र इजिप्ट सुरूवातदेखि नै लागिपरेका छन्। तर सकारात्मक नतिजा आएको छैन। यसले गजामा मृतकको संख्या बढाउने र मानवीय संकटको अवस्था भयावह हुने चिन्ता थपिएको छ।