वीरगञ्जमा जनता समाजवादी पार्टी (जसपा) निकट महिला नेताहरूले प्रदर्शन गरेका छन्।
खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लागेकी किरण साहलाई कारबाहीको माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साको गेटमा उनीहरूले 'खानेपानीमा राजनीति गर्न पाइँदैन,' 'मन्त्रीलाई धम्की दिने किरण साहलाई कारबाही गर' जस्ता नारा लगाएका थिए।
प्रदर्शनपछि उनीहरूमध्ये केही ई-रिक्सा चढेर फर्किएका थिए भने केहीलाई लिन सरकारी गाडी आएको थियो।
बा १ झ ९०२, बा २ झ २०४१ र बा २ झ २७ ७० नम्बरको तीन वटा सरकारी गाडीमा उनीहरू चढेका थिए।
मुख्य सडकको पूर्वतर्फ रोकिएका सवारीसाधन प्रदर्शनकारीलाई लिएर दक्षिण घण्टाघरतर्फ लागेको थियो। ती गाडीहरू कुन सरकारी कार्यालयका थिए भन्ने यकिन छैन।
बाराको कलैया घर भई हाल वीरगञ्ज–१३ मुर्ली बस्दै आएकी साहलाई कारबाही गर्नुपर्ने माग गर्दै महिला नेताहरू प्रदर्शनमा उत्रिएका हुन्।
साह र मन्त्री यादवबीच वीरगञ्जमा फैलिएको हैजा र झाडा पखालाको विषयमा फोनमार्फत् भोजपुरी भाषामा भनाभन भएको थियो।
मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा पर्सा प्रहरीले साहलाई शनिबार नै पक्राउ परेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
साइबार अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिएको र अफवाह फैलाएको आरोप उनीमाथि प्रहरीले लगाएको छ।
अनुसन्धानका लागि पहिलोपटक पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति पाएको प्रहरीले थप ती दिनको म्याद अनुमति पाएको छ।
घटनाबारे अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
किरण पक्षले परिवारका सदस्य बिरामी परेर अस्पतालमा भर्ना भएका कारण आवेशमा घटना हुन पुगेको र उनले प्रश्न मात्रै गरेकोले कारबाही गर्नुको औचित्य नगरेको बताउँदै आएका छन्।