मंगलबार बिहान गुल्मीमा एउटा सनसनीपूर्ण हल्ला फैलियो — मदानेको पृथ्वी माविका एक बालक अपहरणमा परे।
बिहान ११ बजेतिर फैलिएको उक्त हल्लाले गुल्मीको प्रहरी प्रशासन, विद्यालयका शिक्षक, अभिभावक विद्यार्थी सबैको होस उडाइदियो।
कक्षा ७ मा पढ्ने एक बालक अपहरणमा परेको भनिएको थियो। बालक अपहरणमा परेको हल्ला सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भइसकेको थियो।
बालक अपहरणमा परेको हल्ला सुन्ने बित्तिकै पुर्कोट दहबाट प्रहरीको टोली तत्काल घटनास्थल पुग्यो।
बालक खोजीका लागि मदानेसँग सिमाना जोडिएका छिमेकी जिल्लाहरू अर्घाखाँची र प्युठानबाट समेत प्रहरी खटिए। पृथ्वी माविका प्रधानाध्यापक मदनबहादुर कुँवर क्षेत्री, अन्य शिक्षक कर्मचारी र माथिल्लो कक्षाका विद्यार्थीहरूसहित घटनास्थलमा पुगे।
प्रहरी प्रशासन, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयले बालकलाई अपहरण गरी लगिएको भनिएको वारि खोला भन्ने जंगलमा खोजीका लागि खटिएका थिए। पृथ्वी माविका १० कक्षादेखि १२ सम्मका सबै विद्यार्थीलाई खोजीका लागि परिचालन गरिएको थियो।
अपहरणमा परेको भनिएका बालकसँगै विद्यालय गइरहेकी अर्की विद्यार्थीले घटनाबारे प्रहरी प्रशासन र विद्यालयका शिक्षकहरूलाई बताएकी थिइन्।
'हामी आठ जना सँगै स्कुल गइरहेका थियौं, यहाँ आइपुग्दा कालो कपडा र मास्क लगाएका र निधारसम्म कपाल पालेका चार जनाको समूहले हातमा खुकुरी देखाएर हामीलाई समात्न थाल्यो। हामीसँगै रहेको अर्को साथीले ढुंगाले हानेपछि उनीहरूले पनि उसलाई हाने। मेरो र अर्की साथीको पाखुरामा समातेर तान्न खोजेका थिए। पछि उनीहरूले बालकलाई घिसार्दै जंगलतिर लिएर गए,' उनले घटनाको बेलीबिस्तार लगाएकी थिइन्।
हातमा खुकुरी बोकेका व्यक्तिहरूले तीन-चार दिनदेखि पछ्याइरहेको उनले बताएकी थिइन्। यस्तै ती व्यक्तिहरूले उनीहरूलाई बेच्ने कि किड्नी निकालेर रक्सी खाने भनेर डर देखाएको उनको भनाइ थियो।
झन्डै तीन घण्टा प्रहरी प्रशासन, विद्यालय, अभिभावक र स्थानीयको होस नै उडाइदिने गरी फैलाइएको बालक अपहरणको उक्त हल्ला सत्य नभई विद्यार्थी आफैले बनाएको झुटो नाटक गरेको पाइएको छ।
अपहरणमा परेको भनिएका बालक नजिकैको मन्दिरमा लुकेर बसेको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गंगाबहादुर सारूले बालबालिकाहरूले गृहकार्य पनि नगरेको र विद्यालय जान पनि ढिलाइ भएकाले अपहरणको नाटक रचेर सबैलाई गुमराहमा पारेको बताए।
'बालकको अपहरण भएको हल्लाले केही समय सबैलाई तनाव बनायो। बालबालिकाहरूले स्कुल जान ढिला गरेका रहेछन्। स्कुलमा समयमा नपुगेपछि अभिभावकसँग जोगिन यस्तो हल्ला गरेर सबैलाई तनावमा पारे,' सारूले भने।
प्रहरी नायब उपरीक्षक सारूका अनुसार गृहकार्य नगरेपछि विद्यालय जान अलमल गरिरहेका बालबालिकालाई देखेपछि स्थानीयले विद्यालयका प्रधानाध्यापक मदनबहादुर कुँवरलाई खबर गरेका थिए। स्कुल नगई बाटोमा अलमलिएर बसिरहेको स्थानमा प्रधानाध्यापक (हेड सर) लाई देखेपछि उनीहरूले आफूहरूको साथी अपहरणमा परेको झुटो नाटक प्रस्तुत गरेका थिए।
बालक पहिल्यै नजिकैको मन्दिरतिर गएर बसेका थिए। प्रधानाध्यापकलाई देखेपछि उनी त्यतै लुकेर बसे भने अरू सात जनाले रूँदै चिच्याउँदै बालकलाई चार जना अपहरणकारीले लिएर गएको बताएका थिए।
त्यसपछि बालक अपहरणको खबर प्रहरी प्रशासन र विद्यालयमा फैलिएको थियो।
बालबालिकाले गृहकार्य नगरेको र विद्यालय नगएको निहुँमा अभिभावक र विद्यालयसँग जोगिन अपहरणजस्तो गम्भीर विषयमा झुटो बहाना बनाएको विद्यालयले जनाएको छ।
विद्यालयले विज्ञप्ति जारी गर्दै दिनभर विद्यार्थी अपहरणमा परेको हल्ला फैलिए पनि उक्त हल्ला सत्य नभएको प्रस्ट पारेको छ।
'बालकलाई मन्दिर नजिकै लुकेर बसेको अवस्थामा फेला पारिएको र सोधपुछ गर्दा उनीहरूले गृहकार्य नगरेको कारण सो बहाना बनाएको कुरा प्रस्ट भएको छ,' विद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।