अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूऔषध बोकेको एउटा डुङ्गामाथि मंगलबार अमेरिकाले आक्रमण गरेर भेनेजुयलाका ११ जना तस्करको हत्या गरेको दाबी गरेका छन्।
सो कुराको खुलासा ट्रम्पले पत्रकार सम्मेलनमा गरे पनि त्यसबारे धेरै बताएनन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पछि उनले त्यसबारे थप जानकारी दिए।
'आज बिहान सबेरै, मेरो आदेशमा, अमेरिकी सैन्य बलले ट्रेन डे अरागुवाका नार्को-आतङ्ककारीहरूमाथि हमला गरे,' ट्रम्पले लेखेका छन्।
अन्तर्राष्ट्रिय जलक्षेत्रमा अमेरिकातर्फ अवैध लागुऔषध ढुवानी गरिरहेको बेला आक्रमण गरेको उनले दाबी गरेका छन्। सो कारबाहीमा कुनै पनि अमेरिकी सैनिकलाई नोक्सानी नभएको उनले बताए।
ट्रम्पले सो घटनाबारे एउटा भिडियो पनि पोस्ट गरे। त्यसमा एउटा ‘स्पिडबोट’ पानीमा दौडिरहेको देखिन्थ्यो। त्यसपछि एउटा विस्फोटले सो डुङ्गा उडाएको देखिन्छ।
विशेष अपरेशनमा प्रयोग हुने एक विमानले मंगलबार बिहान लागूऔषधले भरिएको चार इन्जिनको स्पिडबोटमाथि आक्रमण गरेको एक वरिष्ठ अमेरिकी अधिकारीले जानकारी दिएको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ। उक्त विमान हेलिकप्टर हो कि रिपर ड्रोन हो भन्नेबारे भने उनले खुलाएनन्।
ट्रम्पले अहिले दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएका छन्। त्यसपछि उनले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काट्न थालिएको छ।
ट्रम्पले सो क्षेत्रमा सात वटा युद्धपोत र आणविक शक्तिबाट चल्ने एउटा पनडुब्बीमा चार हजार पाँच सयभन्दा बढी अमेरिकी सैनिक पठाएका छन्।
दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुयला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मदुरो आत्तिएका छन्। ट्रम्पले आफूलाई सत्ताबाट हटाउन शक्ति प्रयोग गर्न लागेको भन्ने डर मदुरोलाई परेको छ।
ट्रम्प सरकारले भने भेनेजुयलाका लागुऔषध तस्करहरूसँग लड्न अमेरिकी फौज पठाएको बताएको छ। ट्रम्प सचिवालयका उपप्रमुख स्टिफन मिलरले अमेरिकी गोलार्द्धमा रहेका लागुऔषध तस्करी गर्ने संगठन, आपराधिक गिरोहहरू लगायत विदेशी आतंकवादी संगठनलाई परास्त गर्न नौसेना खटाइएको बताएका छन्।
अमेरिकी सैन्य उपस्थितिले लागुऔषधको व्यापार कसरी रोक्न सक्छ भन्ने चाहिँ स्पष्ट छैन।
समाचार संस्था रोयटर्सका अनुसार भेनेजुयला र क्यारेबियन क्षेत्रबाट अमेरिका पुग्ने प्रायः लागुऔषध गोप्य उडानमार्फत जान्छन्। अरू देशबाट समुद्री बाटो भई आउने लागुऔषध पनि अधिकांश प्रशान्त महासागर हुँदै आउँछ। ट्रम्पले भने एटलान्टिक महासागरमा रहेको क्यारेबियन क्षेत्रमा नौसेना पठाएका छन्।
अमेरिकाले भेनेजुयलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने जिकिर रक्षाविज्ञहरूले गरेका छन्। त्यसैले यसरी सेना पठाउनुको खास उद्देश्य मदुरोलाई सत्ताबाट हटाउने हुन सक्ने भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।
गत महिना अमेरिकाले मदुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको थियो।
अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता पाम बन्डीले पुरस्कार बढाएको घोषणा गरेका थिए। अमेरिकामा लागुऔषध तस्करी गर्न मदुरोले सहयोग गरेको आरोप उनीहरूले लगाएका थिए।
'मदुरो एक दशकभन्दा बढी समयदेखि अमेरिकामा लागुऔषध तस्करीका लागि जिम्मेवार कार्टेल डे लोस सोलेसका नेता हुन्,' रूबियोले विज्ञप्ति निकाल्दै भनेका थिए।
बन्डीले पनि भिडियो सन्देशमा उक्त कार्टेलसँगै सिनलोआ र ट्रेन डे अरागुवा जस्ता विदेशी आतंकवादी संगठनहरूको प्रयोग गरी मदुरोले अमेरिकामा घातक लागुऔषध र हिंसा भित्र्याएको आरोप लगाएकी थिइन्।
सोही ट्रेन डे अरागुवाका ११ जना तस्करलाई मंगलबार अमेरिकी सेनाले हत्या गरेको ट्रम्पले खुलासा गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)