नक्कली भुटानी शरणार्थीको मुद्दामा काठमाडौं जिल्ला अदालतले एक जना प्रतिवादीको म्याद बाँकी रहेकाले त्यो समय सकेपछि मात्रै पेसी चढाउन आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बुधबार ‘अन्य’ आदेश गरेको अदालतको वेबसाइटमा उल्लेख छ।
अर्थात् सुनुवाइमा प्रतिवादी हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ अदालतमा हाजिर भएका छैनन्। उनलाई अदालतले दिएको तारिख गुज्रिसकेको छ।
त्यो म्याद गुज्रेपछि पनि २१ दिनको समय अदालतले दिन्छ। त्यस अवधिभित्र अदालतले सुनुवाइ गर्न नमिल्ने भएकाले न्यायाधीश कार्कीले उक्त म्याद सकेपछि मात्रै पेसीमा चढाउन आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए।
‘शमशेर मियाँको तारेख गुज्रेको हुनाले अब तारिख थमाउने समय बाँकी छ। त्यो समय सकेपछि मात्रै पेसी चढाउने आदेश भएको छ,’ उनले भने।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ अनुसार त्यो तारिख नगुज्रेसम्म सुनुवाइ किनारा गर्न मिल्दैन।
‘मुद्दाका पक्षले अदालतले तोकेको म्याद वा तारिखमा अनुपस्थित भई म्याद वा तारिख गुजारेमा पनि दफा २२३ वा २२५ बमोजिम थमाउन पाउने अवधि समाप्त नभएसम्म मुद्दाको सुनुवाइ गरी किनारा गर्न हुँदैन,’ कार्यविधिको दफा २२८मा उल्लेख छ।
त्यस्तै एक जना साक्षीको पनि बकपत्र बाँकी रहेको देखिएको छ। एक जनाको निवेदन प्राप्त भएपछि ती व्यक्तिको पनि बकपत्र गर्न लागेको हो।
शम्शेर मियाँलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालत पाटनले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनी धरौटी बुझाएर छुटेका थिए।
दुई वर्ष अघिको यो मुद्दाको सुनुवाइ अन्तिम चरणमा छ। यद्यपि अन्तिम सुनुवाइ निरन्तर कहिलेदेखि हुन्छ भन्ने टुंगो लागिसकेको छैन।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो। यस घटनामा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो।
पछि थप जाहेरीको आधारमा केशवप्रसाद दुलालसहित पाँच जनाविरूद्ध फेरि २०८१ वैशाख ९ गते पूरक अभियोग दर्ता भएको थियो र बेचन झा पक्राउ परेपछि उनीविरूद्ध साउन २९ गते पूरक अभियोग दायर भएको थियो।
यस मुद्दामा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी छन्।
भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए। उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी लगायतविरूद्ध उजुरी दिएका थिए।
आफूहरूसँग १३ करोड रूपैयाँ उठाएको भन्दै कैयन् प्रमाणसहित उनीहरूले उजुरी गरेका थिए। दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएका थिए।
बुढाथोकी र रेग्मी दुवैले अमेरिका लैजाने भन्दै दाङमा मानिसहरू भेला गरी पैसा उठाएर गिरोहलाई बुझाएका थिए।
अमेरिका जान उनीहरूको परिवारले पनि पैसा बुझाएको थियो।
अमेरिका जान नपाएपछि पीडितहरूले पैसा मागेर उनीहरूलाई नै र्याखर्याख्ती पार्न थाले। त्यसपछि उनीहरूले दुलाल र गुरूङविरूद्ध कार्यालयमा उजुरी दिएका थिए।