राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि आक्रमण गर्ने व्यक्तिहरूको खोजी भइरहेको छ।
बुधबार राति करिब ८ बजेतिर भण्डारीमाथि आक्रमण गर्नेहरूको खोजी गर्न काठमाडौंका दुई वटा युनिटबाट प्रहरी परिचालन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको छुट्टाछुट्टै प्रहरी परिचालन भएको हो।
परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले आक्रमण गर्ने व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको बताए।
‘आक्रमण गर्नेहरूको पहिचान खुलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामी सिसिटिभीहरू हेर्दैछौं।’
अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले पनि अनुसन्धान भइरहेको बताए।
‘हाम्रो एउटा पिल्लरको टोलीले खोजी तथा अनुसन्धान गरिरहेको छ,’ उनले भने।
भण्डारी कपनस्थित कार्यालयबाट प्रगतिनगरमा रहेको घरतर्फ जाँदै गर्दा आक्रमण भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले फेसबुक लाइभ मार्फत् मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले भण्डारीमाथि रड प्रहार गरेको बताए।
भण्डारीमाथि टाउको र खुट्टामा रड प्रहार भएको र टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई बुधबार राति नै चुच्चेपाटीमा रहेको स्तुपा सामुदायिक अस्पताल पुर्याइएको र टाउकोमा १० वटा टाँका लगाउनुपरेको बोहराले बताए।
बदन भण्डारीले आफूमाथि राजनीतिक रिसइबीले आक्रमण गरेको बताएका छन्। उनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै आफूलाई केहीसमय अगाडि फोनमा धम्की समेत आएको बताएका छन्।
‘यो आक्रमण पूर्ण रूपमा राजनीतिक रिसइबीले गरिएको हो। मलाई केही समय अगाडिबाट फोनबाट धम्की र मेरा अफिस वरिपरि आएर मेरो बारे सोधखोज गरेको सूचना मलाई थियो,’ उनले लेखेका छन्।