अमेरिकी दूतावासले स्काई ट्रक र एयर एम्बुलेन्स नेपाली सेनालाई हस्तान्तरण गरेको छ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच अमेरिकी राजदूत डिन थम्पसनले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री मानवीर राई, परराष्ट्र मन्त्री आरजु राणा र प्रधान सेनापति अशोकराज सिग्देल सहभागी थिए।
दुबै जहाज भदौ १४ गते नेपाल आइपुगेका थिए।
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार स्काई ट्रक विपद व्यवस्थापनका लागि परिचालन गर्ने तयारी छ।
त्यस्तै एयर एम्बुलेन्स सुत्केरी, विपदमा परेका घाइते, बिरामी लगायतलाई उद्धार गर्नका लागि गर्ने सेनाको तयारी छ।
अमेरिकी सरकारले यसअघि सन् २०१९ मा पनि दुई वटा जहाज दिइसकेको छ। योसँगै नेपाली सेनासँग जहाजहरूको संख्या २० वटा छ।
नेपाली सेनाले अहिलेसम्म बिरामी, घाइते तथा सुत्केरीको उद्धार गर्नका लागि हेलिकप्टरको प्रयोग गर्दै आएको छ।
व्यावसायिक रूपमा उडान गर्ने निजी कम्पनीहरूसँग पनि एयर एम्बुलेन्स छैन। केही पटक श्री एयरलाइन्सको जहाजलाई नै एयर एम्बुलेन्स बनाएर प्रयोग गरिएको छ। तर नितान्त एम्बुलेन्सको रूपमा भने कुनै पनि जहाज थिएन।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नेपाली सेनाले प्राप्त गरेको यो एयर एम्बुलेन्स नेपालकै पहिलो हो।