नक्कली बिहे गराएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दैलेख घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० का ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाद गाउँपालिका- ३ घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ३८ वर्षीया भविसरा रास्कोटी मगर छन्।
उनीहरू नक्कली बाबु-आमा बनेर बिहे गराएको र गहना लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनीहरूले एउटै युवतीलाई फरक फरक मितिमा विभिन्न पुरूषहरूसँग बिबाह गराउने र बिहेपश्चात बेहुलीको नगद र गरगहना लिएर फरार हुने गरेको उजुरी परेको थियो।
सोही आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट बेहुलीको कपडा, गरगहना र नगद बरामद गरेको छ।
उनीहरूविरूद्ध आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।