मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरूङलाई ३५ लाख धरौटी माग भएको छ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश निर्मला योङ्याको इजलासले गुरूङसँग ३५ लाख धरौटी माग भएको प्रवक्ता टिकाध्वज कार्कीले जानकारी दिए।
सरकारी वकिलको कार्यालय ललितपुरले भदौ १ गते मितेरी सहकारी ठगी प्रकरणमा आठ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।
यसअघि प्रतिवादीमध्ये ज्योतिबहादुर भण्डारी र सुवास खत्रीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सुरेश अधिकारी ७ लाख धरौटीमा छुटेका थिए।
त्यसबाहेक ज्योति गुरूङ, विजयकुमार राई, प्रदिप भन्ने प्रितम अधिकारी र अर्जुन अराम फरार छन्। ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्।
कुम्भराज अदालतमा हाजिर भएपछि सुनुवाइ अघि बढाएको हो।
सिआइबीले ठगीसँगै लिखत सम्बन्धी कसुर, क्रिप्टोकरेन्सीको कारोबार गर्न नहुने, संगठित अपराधको कसुर र नेपाल राष्ट्र बैंक ऐन अनुसार अनुसन्धान गरेको थियो।
सहकारीको २०८१ साल असोज मसान्तसम्म साँवा र ब्याज गरी १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँको बिगो मागदाबी गरेको थियो।
यसबाहेक ३३ करोड ११ लाखको पार्सल पठाएको र सो पार्सल निकाल्न कमिसन लाग्ने भनेर पटकपटक गरी थप ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेका थिए।
यसरी ठगीमात्रै १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ बिगो कायम गरेको छ।
हुण्डी कारोबार तर्फ ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ बिगो कायम गरेको छ।