सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीसँग सम्पर्क गरेका छन्।
बिहीबार साँझ मेटाका एक जना प्रतिनिधिले आवश्यक कागजात माग गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।
उनका अनुसार सिंगापुरबाट ती व्यक्तिले मन्त्री पृथ्वीसुब्बा गुरूङका सचिवालयमा सम्पर्क गरेका थिए।
‘एक जना प्रतिनिधिले सम्पर्क गरेर सूचीकरण हुन केकस्ता कागजात चाहिन्छ भनेर सोध्नुभएको रहेछ। त्यसबारे जानकारी दिनलाई इमेलमार्फत आवश्यक गर्ने कागजातको विवरण पठाइसक्यौं,’ उनले भने।
उनले ती व्यक्ति मेटाकै कर्मचारी रहेको दाबी गरे।
‘ती व्यक्ति मेटाकै कर्मचारी हो भन्ने पुष्टि भइसकेको छ। किनभने ती व्यक्तिसँग हाम्रो पहिले पनि कुराकानी भएको छ,’ उनले भने, ‘यद्यपि मेटा आधिकारिक रूपमा सम्पर्कमा आएको भन्न मिल्दैन। किनभने निवेदन आएपछि मात्रै त्यसलाई आधिकारिक मान्नुपर्ने हुन्छ।’
बिहीबार मन्त्रिस्तरीय बैठकले २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएसँगै सेवा प्रदायकहरूलाई बन्द गर्न पत्राचार भइसकेको छ।