सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म प्रदर्शनकारीको आक्रमणमा परेर दनदनी जलिरहँदा त्यही ठाउँको एउटा सरकारी कार्यालय भवन भने जोगिएको छ।
जोगिएको सरकारी कार्यालय हो, पुरातत्त्व विभाग।
यहाँ महत्त्वपूर्ण कुरा के छ भने, पुरातत्व विभागको संरक्षण सेना वा प्रहरीले गरेका होइनन्। यसलाई त्यहाँ रहेका पुरातात्त्विक सामग्रीको महत्त्व बुझेका सचेत र जागरूक नागरिकहरूले जोगाएका हुन्।
घटना भदौ २४ को हो।
अघिल्लो दिन जेन-जी आन्दोलन क्रममा प्रहरी दमनबाट १९ जनाको ज्यान गएपछि सडकमा उर्लिएको भिडले राजनीतिक नेताहरूका निजी घरदेखि सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान लगायतका भौतिक संरचनामा हमला सुरू गरेको थियो।
त्यसै क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालत र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कब्जा गरेर तोडफोड र आगजनी सुरू गरे।
माइतीघरबाट सिंहदरबार जाने मोडमै राष्ट्रिय अभिलेखालय (पुरातत्त्व विभाग) को कार्यालय छ। सर्वोच्च अदालत र सिंहदरबार कब्जा गर्न आएका प्रदर्शनकारीको एउटा समूह पुरातत्त्वको भवनमाथि जाइलाग्न खोज्यो।
त्यति बेला युवा कलाकार जुपिटर प्रधान पुरातत्त्व विभागलाई प्रदर्शनकारीहरूको हमलाबाट बचाउन अघि सरे।
'एक हुल मान्छे पुरातत्त्व विभाग छिर्न खोजेका थिए। उनीहरूले पहिले नै मूलढोकाको ताल्चा फुटाइसकेका थिए। त्यो देखेर म उनीहरूलाई सम्झाउन सक्छु कि भनेर अघि सरेँ,' मंगलबारको घटना सम्झिँदै जुपिटरले भने, 'मैले उनीहरूलाई पुरातत्त्व विभागमा के-कस्ता कागजपत्र राखिन्छन्, पुरातात्त्विक अभिलेख भनेको के हो, ती कति महत्त्वपूर्ण हुन्छन् भनेर सम्झाइबुझाइ गरेँ।'
त्यस दिन जुपिटर आफ्ना केही साथीसँग १९ वटा शवको रेखाचित्रमाथि सुतेर प्रतीकात्मक प्रदर्शनी गर्ने तयारीमा थिए। तर आन्दोलनकारीहरू सिंहदरबारतिर बढ्दै छन् भन्ने सुन्नेपछि उनले प्रदर्शनीका लागि साँझसम्म कुरेनन्। आफ्ना भाइका साथ सडकमा निस्किए र पुरातत्त्व विभाग अगाडि केही प्रतीकात्मक चिह्न बनाउन थाले।
नभन्दै उनलाई जे डर थियो, त्यही भयो।
प्रदर्शनकारीहरू समूह समूहमा आएर पुरातत्त्व विभाग हमला गर्न अघि सरे। जुपिटर ती सबैलाई पुरातात्त्विक सामग्रीको महत्त्व सम्झाइबुझाइ गर्थे। कोही कुरा बुझेर फर्कन्थे। कोही भने आक्रामक शैलीमा जाइलाग्न खोज्थे।
कतिपय व्यक्तिलाई त त्यहाँ विध्वंस मच्चाउनु मात्र थियो। सम्पदा जोगाउनुसँग उनीहरूलाई कुनै सरोकार थिएन। यस्तोमा ढोकामा उभिएर आफूहरूलाई रोक्न खोजेका जुपिटरलाई उनीहरू सोध्थे, 'सबै त जलिसक्यो, यो जलेर के हुन्छ?'
जबाफमा उनले भने, 'जल्ने त जलिसके, तर यो अहिलेसम्म बचेको छ। हाम्रो भाग्यले धेरै वर्षदेखि बचेर बसेको छ। त्यसैले अब यो हामीले अर्को पुस्तालाई दिनुपर्छ।'
उनले यो पनि भने, 'म जेन–जी होइन, एक्स पुस्ता हुँ। तर म यो सम्पदा र यहाँ रहेका दस्तावेज जेन–जी र त्योभन्दा पछाडिका अल्फा पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु। हामीले जोगाएर उनीहरूलाई दियौं भने उनीहरूले पनि यसलाई जोगाएर आफूपछिका पुस्तालाई हस्तान्तरण गर्ने छन्।'
यसरी सम्झाउँदा धेरैजसो समय उनी शान्त भएरै सम्झाउँथे। कतिचोटि चाहिँ आक्रोश पनि पोखे।

त्यसै क्रममा सिंहदरबार जलाउन खोज्नेहरूलाई सम्झाउँदा पनि नसकेर हार खाएकी एक युवती जुपिटरलाई साथ दिन आइन्।
एकपछि अर्को गर्दै सचेत युवाहरू त्यहाँ भेला हुँदै गए।
त्यसपछि उनीहरूले प्रदर्शनकारीहरूले फोडेको मूलढोकाको ताल्चा लगाउन खोजे। तर साँचो फेला परेन।
जुपिटर साँचो लिन आफ्नो घर गए। उनको घर पुरातत्त्व विभागबाट नजिकै पर्छ।
उनी हतारहतार घर पुगेर साँचो लिएर आए। त्यतिञ्जेल अरू साथीहरूले डोरी र पाइप खोजेर ल्याइसकेका थिए।
उनीहरूले मूल ढोकामा साँचो लगाए, अनि डोरी र पाइप समातेर निरन्तर पुरातत्त्व विभागको रक्षा गरिरहे।
'हामीले आफ्नो समूह बलियो बनाउन नजिकका आफन्त र साथीभाइहरूलाई फोन गरेर बोलायौं। सामाजिक सञ्जालमार्फत पनि आह्वान गर्यौं,' जुपिटरले भने, 'हाम्रो आग्रह सुनेर केही जेन–जी युवाहरू सहयोग गर्न आए। केही बूढापाका पनि सामेल भए। पुरातत्त्व विभागकै कर्मचारी पनि सामेल भए। बिस्तारै हाम्रो समूह बढ्दै गयो।'
जुपिटर र उनको समूहलाई पुरातत्त्वको संरक्षणमा बस्न छाडेर आगो निभाउन जाऊँ भन्न पनि धेरै जना आएका थिए। तर उनीहरू टसमस भएनन्।
'गएको कुरा गइसक्यो, जे बाँकी छ, त्यसलाई नै जोगाएर बस्छु भनेर हामी पुरातत्त्व विभागमै बसिरह्यौं,' उनले भने।
यसबीच उनीहरूले विभिन्न ठाउँका सुरक्षा ब्यारिकेडहरू ल्याएर पुरातत्त्वको अगाडि तेर्स्याए।
'यसरी १५–२० जनाको समूह भेला भएपछि मलाई पुरातत्त्व विभाग अब बच्छ भन्ने भयो,' जुपिटरले भने, 'यस्तै समूह सर्वोच्च अदालत, सिंहदरबार लगायत अन्य सार्वजनिक ठाउँमा पनि भेला भइदिएका भए हाम्रा यी सम्पदा र सरकारी संरचनाहरू यतिविधि ध्वस्त हुने थिएनन्।'
'जलाउनुपर्छ, भत्काउनुपर्छ भन्ने समूहभन्दा जोगाउन चाहनेहरू बढी हुन्छन्,' जुपिटरले भने, 'जोगाउन चाहनेहरू बेलैमा संगठित भएर उभिए भत्काउन खोज्नेहरूको केही जोड चल्दैन।'
त्यस दिन राति साढे १० बजेसम्म पुरातत्त्व विभागमा सुरक्षा दिएर बसेको उनी सम्झन्छन्।
यसबीच विध्वंस मच्चाउने हुला आएर धेरैचोटि उनीहरूलाई सताए। कतिपयलाई पुरातत्त्व विभागसँग रिस थियो भने कोही विध्वंस हेरेर रमाउन चाहन्थे।
'साँझतिर आएको एउटा भिडलाई रोक्न सबभन्दा गाह्रो भयो। उनीहरू बाइकमा आएका थिए। उनीहरूको उद्देश्य नै आतंक फैलाउनु थियो। लागुऔषध खाएजस्ता पनि देखिन्थे,' जुपिटरले भने, 'उनीहरू बाइकको चर्को आवाज निकाल्दै हामीलाई आतंकित पादै थिए। तर त्यही समूहमा केही राम्रा मान्छे पनि भएकाले उनीहरूकै कारण हामी जोगियौं।'
'करिब साढे १० बजेतिर सुरक्षाकर्मीहरू आएपछि हामीले उनीहरूलाई नै जिम्मा सुम्पिएर घर फर्कियौं,' उनले भने।
***