मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरीमाथि बलात्कार भएको खुलेको छ।
रक्सिराङ वडा- २ इन्द्रोङमा बस्ने चेपाङको परिवारमा श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार गरेको खुलेको छ।
शुक्रबार (भदौ २७) राति केही अन्जान व्यक्तिहरूले सुत्केरी महिलामाथि बलात्कार भएको पालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए।
‘श्रीमानलाई डोरीले बाँधेर श्रीमतीमाथि बलात्कार भएको छ,' अध्यक्ष मल्लले भने, 'तत्काल प्रहरीलाई खबर गर्दा कोही जानु भएन। हिजो उनीहरूलाई ल्याएर आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइएको छ।'
सुत्केरीमाथि बलात्कार गर्ने एक जनाको परिचयसमेत खुलेको छ। आज प्रहरीमा जाहेरी दिएसँगै कानुनी कारबाही अगाडि बढ्ने अपेक्षा गरिएको उनले जानकारी दिए।
चेपाङ दम्पतीको घर जंगलको एकान्त ठाउँमा छ। उनीहरू राम्रोसँग नेपाली भाषासमेत नबुझ्ने भएकाले घटनाबाहिर आउन समय लागेको उनको भनाइ छ।
२२ वर्षीया महिला आफूमाथि बलात्कार भएको भन्दै जाहेरी लिएर आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
'आज त्यही ठाउँको एक जना विरूद्ध जाहेरी परेको छ। हामी अनुसन्धान गरिरहेका छौं,' उनले भने।