जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर ढलेका १८ वर्षीय विद्यार्थी विवश घर्ती मगर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
प्रदर्शनमा गएका विवशलाई पहिलो दिनमै प्रहरीको गोली लागेको थियो। उनको ढाडमा लागेको गोली छाती चिरेर बाहिर निस्केको थियो। गोलीले कलेजो र फोक्सोलाई असर पारेको छ।
गोली लागेर ढलेका विवशलाई प्रहरीले नै उठायो, पानी खुवायो र उपचार गर्न अस्पताल लग्यो।
बेहोसीमा अस्पताल पुर्याइएएका विवशको हेरचाह गर्न पोखरामा सँगै बस्ने साथी सुजन थापा अस्पताल गए।
विवशलाई गोली लागेको थाहा पाएपछि उनकी फुपू रोल्पाको थवाङबाट रातारात बुर्तिबाङको बाटो पोखरा आइन्। फुपूकी छोरी सुदिक्षा पनि दाङको बाटो पोखरा हानिइन्।
आन्दोलनले सार्वजनिक बस चलेका थिएनन्। सडकमा निषेधाज्ञा र कर्फ्यू थियो। उनीहरू छुट्टाछुट्टै बाटो प्रयोग गरेर भोलिपल्ट मात्रै पोखरा आइपुगे।
विवशको पहिलो चरणको अपरेसन सफल भयो। उनी घाइते भएको भोलिपल्ट अर्थात भदौ २४ गते अस्पतालका चिकित्सकले थप उपचार गर्न काठमाडौं पठाउन खोज्यो। तर हेलिकप्टर पाइएन। विमानस्थल बन्द थियो।
भोलिपल्ट आन्दोलनले उग्र रूप लियो।
जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी चर्किन थाल्यो। सरकारी कार्यालयदेखि निजी र व्यावसायिक भवनहरू ध्वस्त पारिए।
त्यसैबीच सुदिक्षा र उनकी आमा पोखरा आइपुगेका थिए।
अहिले विवशको होस आएको छ। प्रतिष्ठानका प्रशासन प्रमुख डा. डेविट श्रेष्ठका अनुसार विवशको फोक्सो, फोक्सोभन्दा तलको भाग र कलेजोमा चोट लागेको छ। अहिले उनको अवस्था सुधारोन्मुख रहेको डा. श्रेष्ठले बताए।
'विवशजीको अपरेसन सफल भएको छ। अहिले उहाँ आइसियूमा हुनुहुन्छ,' उनले भने, 'उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ।'
विवशको होस आएपछि सुदिक्षा उनलाई बोलाउन गए। विवशले 'दिदी' भनेर बोलाए। अनि सोधे, 'म घाइते भएको कति दिन भयो?'
'चार–पाँच दिन भइसक्यो,' सुदिक्षाले जबाफ दिइन्।
विवशले फुपू खोई भनेर सोधे। सन्चो–बिसन्चो र कहिले आएको भनेर पनि सोधे।
सुदिक्षा बाहिर निस्केर आमालाई भित्र पठाइन्। अस्पतालको शय्याबाट फुपू र दिदी देख्दा उनी खुसी भए। साथीहरूको साथ त छँदै थियो।
विवश पोखरामै जन्मिएका हुन्। कक्षा ७ देखि १२ सम्म एसओएस स्कुलमा पढे। अहिले गण्डकी कलेज अफ इञ्जिनियरिङ एन्ड साइन्स (जिसिएस) मा स्नातक प्रथम वर्ष पढ्दै छन्।
देशमा मौलाउँदो भ्रष्टाचार र त्यसमाथि सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध उनलाई मन परेको थिएन। आफ्नो पुस्ताले आन्दोलनको आह्वान गर्दा उनी पनि सडकमा ओर्लिएका थिए।
'रत्नचोक एरियामा साथीलाई गोली लाग्यो भनेर थाहा पाउनेबित्तिकै अस्पताल आएँ,' उनका साथी सुजनले भने, 'आन्दोलनमा जान्छु भनेर गएको थियो। गोलीले लागेको घाउ आफै समातेर अस्पताल आइपुगेछ।'
विवशका आमाबुबा छैनन्। २०७५ असार २२ गते मुस्ताङमा भएको एक सडक दुर्घटनामा दुवैको मृत्यु भयो। उनीहरू मुस्ताङको सडक आयोजनामा काम गर्न गएका थिए।
उक्त दुर्घटनापछि तत्कालीन सिडिओ लगायतको सिफारिसमा विवशलाई एसओएस स्कुलमा कक्षा ७ मा भर्ना गरिएको थियो। उनका भाइ पनि त्यही स्कुलमा पढ्छन्।
विवशको उपचारमा अहिलेसम्म खर्च लागेको छैन। अस्पतालले औषधि पनि नि:शुल्क दिएको छ। सरकारले उपचार नगरे रोल्पा समाज पोखराले उपचार खर्च बेहोर्ने जनाएको विवशका दिदी सुदिक्षाले बताइन्।
काठमाडौंमा अध्ययनरत सुदिक्षा आन्दोलनअघि नै आफ्नो घर रोल्पाको थवाङ गएकी थिइन्। आन्दोलनमा समर्थन जनाएका भाइको पुस्ताले खोजेको परिवर्तन आओस् भन्ने उनको चाहना छ।
'अहिले राम्रो उपचार भइरहेको छ, अप्रेसन पनि सफल भएको छ,' उनले भनिन्, 'भाइ सञ्चो भएर उठ्दा उनले खोजेजस्तो परिवर्तन देख्न पाओस्।'
***