बासमती चामलको बारेमा भारत र पाकिस्तानबीचको विवादले भारतको युरोपियन युनियनसँग (ईयू) हुन लागेको व्यापार सम्झौताको प्रक्रियालाई जटिल बनाएको छ।
व्यापार सम्झौताका लागि नयाँ दिल्लीमा रहेका ईयूका वार्ताकारहरूलाई बासमतीको नामकरण प्रयोग गर्ने आफ्नो अधिकार स्वीकार गर्न भारतले दबाब दिइरहेको भनेर वार्तामा संलग्न अधिकारीहरूको हवाला दिँदै फाइनान्सियल टाइम्सले लेखेको छ।
भारत र पाकिस्तान संसारका सबभन्दा ठूला बासमती चामल उत्पादक हुन्। दुवैले यसको नाममाथि आफ्नो मात्रै अधिकार भएको दाबी गर्छन्। उनीहरूले तोकिएको क्षेत्रमा उब्जाएको चामललाई मात्रै बासमतीको मान्यता हुनुपर्ने भन्छन्। आफ्ना उत्पादकहरूले फलाएको चामलको राम्रो मूल्य पाऊन् भनेर उनीहरूले त्यस्तो दाबी गरेका हुन्।
भारतको माग अनुसार भारतमा उत्पादन भएको चामललाई मात्रै बासमतीको मान्यता दिए पाकिस्तानसँग कूटनीतिक सम्बन्ध बिग्रन सक्ने भनेर ईयूलाई अप्ठ्यारो भएको छ।
ईयू बजारमा आफ्नो नामलाई संरक्षित गर्नका लागि भारतले सात वर्षदेखि आवेदन दिएर मान्यताको प्रतीक्षा गरिरहेको छ।
यसबीच सन् २०२३ मा पाकिस्तानले बासमती चामल उत्पादनको क्षेत्र र विधिहरू परिभाषित गर्न छुट्टै आवेदन दर्ता गर्यो। त्यसमा पाकिस्तान प्रशासित कश्मीरका चार जिल्लाहरूलाई पनि समावेश गरिएको छ। ती क्षेत्रलाई भारतले आफ्नो भएको दाबी गर्छ।
पाकिस्तानको दाबी स्वीकार गर्दा उक्त भूमिमाथि उसको सार्वभौमसत्तालाई पनि मान्यता दिएको मानिने हुन्छ। त्यसो गरे भारत रिसाउँछ भनेर ईयुलाई थाहा छ।
नेपालमा समेत उत्पादन हुने बासमती चामल भारत र पाकिस्तान दुवैका लागि लामो समयदेखि राष्ट्रिय गौरवको प्रतीक रहँदै आएको छ। ऐतिहासिक रूपमा बासमती मुख्यतया पन्जाबमा उत्पादन हुन्थ्यो भनेर टाइम्सले लेखेको छ। आठ दशकअघि भारत र पाकिस्तान विभाजन हुँदा पन्जाब प्रान्त पनि विभाजन भयो। कश्मीरको विषयलाई लिएर पनि दुई देशबीच युद्ध भएका छन्।
सन् २००० को दशकको सुरूमा, अमेरिकाको टेक्सासस्थित राइसटेक नामक कम्पनीले लिएको बासमती चामलको पेटेन्टलाई खारेज गर्ने भारतको प्रयासलाई पाकिस्तानले समर्थन गरेको थियो। त्यसबेला दुई देशले उक्त कम्पनीमाथि जैविक चोरी गरेको आरोप लगाएका थिए। त्यस्तै उनीहरूले ईयूमा संयुक्त आवेदन दिनका लागि कार्यसमूहहरू पनि गठन गरेका थिए।
तर सन् २००८ मा मुम्बईमा आतङ्ककारीहरूले १०० भन्दा बढी मानिस मारेपछि यो सहकार्य अन्त्य भयो। पाकिस्तानले सो हमला गराएको भारतले आरोप लगाएपछि छिमेकीसँगको सम्बन्धमा तनाव आयो। त्यसपछि भारतले २०१८ मा बासमती चामलमाथि एकल स्वामित्वका आवेदन दियो। रिसाएको पाकिस्तानले छुट्टै आवेदन दियो। पाकिस्तानको आवेदनमा पाकिस्तानी पन्जाब लगायत अरू ठाउँसँगै पाकिस्तान प्रशासित कश्मीरका चार जिल्ला पनि समावेश गरेपछि बासमती चामलको मान्यताको विषय झन् गिजोलिएको हो। यही कारणले अहिले व्यापार सम्झौताको लागि भारत र ईयूबीच भइरहेको वार्तामा असर पारेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)