मनभित्र र बाहिरको गन्जागोलबाट टाढा जंगलको एकान्तमा ध्यान बसेकाहरूलाई अचानक आँखा खोल्दा देश आगोमा जलिरहेको देख्नुपरे कति अत्यास लाग्ला?
त्यस्तै भयो, प्रियंका सिंह ठकुरीलाई।
उनी यही भदौ १६ देखि २७ गतेसम्मको ध्यान शिविरमा भाग लिन शिवपुरीस्थित विपश्यना ध्यान केन्द्र गएकी थिइन्।
अन्तिम दिन भदौ २६ गते जब सबै कार्यक्रम सकिए, उनलाई ध्यान केन्द्रका स्वयंसेवीहरूले देशमा भएको जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न विध्वंशबारे जानकारी दिए।
प्रियंकाले यो सूचना पाउँदासम्म ७० जनाभन्दा बढीको ज्यान गइसकेको थियो। सरकार ढलिसकेको थियो। अधिकांश नेता आफ्नो थलो छाडेर सेनाको सुरक्षा घेरामा थिए। संसद भवनदेखि सिंहदरबार र सर्वोच्च अदालतदेखि काठमाडौंका थुप्रै प्रशासनिक भवन आगोमा जलिसकेका थिए। काठमाडौं मात्र होइन, देशका प्रमुख सहरहरू कर्फ्यूमा जकडिएका थिए।
सुरूमा त प्रियंकाले पत्याइनन्।
दोस्रोपटक विपश्यना ध्यान गर्न गएकी उनले सोचिन्, 'विपश्यनामा पनि मजाक सुरू हुन थालेछ कि क्या हो!'
एक सातामै भएका यी अप्रत्यासित घटना छिन–छिनको खबर राख्नेहरूलाई त पत्याउन मुश्किल छ भने, १२ दिन ध्यानमा बसेकाहरूले कसरी पत्याऊन्!
त्यही अवस्थालाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा एउटा मिम लोकप्रिय छ — देशको स्थिति देखेर विपश्यना गएकाहरू फेरि विपश्यना जानुपर्ने त होइन?
विपश्यना भनेको आत्मनिरीक्षण वा आत्मशुद्धिको साधना हो। मान्छे सबै विचलनबाट मुक्त हुन यो ध्यान अभ्यास गर्छन्। ध्यानमा रहँदा आफन्तजन भेट्न पाइँदैन। मोबाइल, ल्यापटप, सामाजिक सञ्जाल सबैबाट टाढा रहेर ध्यान केन्द्रको नियममा बस्नुपर्छ। तोकिएको समयमा उठ्नुपर्छ, तोकिएको समयमा खानुपर्छ, तोकिएको समयमा सुत्नुपर्छ। त्यसबीच ध्यानमा एकाग्र हुनेबाहेक अरू कुनै गतिविधि हुँदैन।
ध्यानमै रहँदा प्रियंकाले आकाशमा तारन्तार हेलिकप्टर उडेको आवाज सुनेकी थिइन्। सैनिक क्याम्प नजिकै भएकाले खासै वास्ता गरिनन्। उनलाई लाग्यो, सैनिकहरूको कुनै तालिम होला!
स्वयंसेवकहरू देशमा भइरहेको घटनाबारे जानकार थिए। तर विपश्यना भंग हुने डरले कुनै पनि सहभागीलाई त्यसको जानकारी दिइएन।
अन्तिम दिन बिहीबार साँझ मात्र स्वयंसेवकहरूले देशमा भएका घटना बेलीबिस्तार लगाए।
'उहाँहरूले सबै वृत्तान्त सुनाएपछि पत्याउन कर लाग्यो,' प्रियंकाले भनिन्।
त्यसपछि विपश्यना ध्यानका सहभागीहरूलाई उनीहरूको फोन, ल्यापटप लगायत सामग्री फिर्ता दिइयो। प्रियंकाले सुरूमै घरमा फोन गरिन् र देशमा भएका घटनाबारे सोधखोज गरिन्।
'उहाँहरूले सिंहदरबार, सर्वोच्च अदालत सबै जल्यो भन्दा एकछिन त विपश्यना नै भंग भएजस्तो भयो। कहिले घर जाऊँ भन्ने लाग्यो,' उनले भनिन्, 'भोलिपल्ट सबै दृश्य आफ्नै आँखाले देखेँ।'
'वास्तविक समयमा त्यो घटना थाहा पाएको भए डरकै माहोल रहेछ। तर हामी ध्यान शिविरबाट बाहिरिँदासम्म अवस्था सहज बन्दै थियो। त्यही भएर त्यति धेरै डर वा विचलन महसुस भएन,' उनले भनिन्।
घर फर्किएपछि यति बेला प्रियंकालाई साथीभाइहरूले विपश्यनाका मिम पठाएर जिस्काइरहेका छन्।
उमेरले प्रियंका पनि जेन–जी पुस्ताकै हुन्। त्यही भएर परिवारका सदस्य उनलाई जिस्काउँदै भन्न थालेका छन्, 'यी जेन–जीहरूसँग निहुँ खोज्न हुन्न है! निकै खतरनाक हुन्छन्!'
कतिपयले यति ठूलो उथलपुथल 'मिस' गरेको भनेर प्रियंकालाई सुनाउँछन्। उनलाई स्वयं पनि आफू काठमाडौंमा भइदिएको भए यो आन्दोलनमा सहभागी हुन्थिन् कि हुन्नथिन् भन्ने मनमा लागिरहन्छ।
'देशमा सबै कुरा यति छिटो भयो, त्यसलाई मैले 'प्रोसेस' नै गर्न सकिरहेको छैन,' उनले भनिन्, 'तर जेन–जीहरूले जुन हिम्मत देखाएर सडकमा ओर्लिए र सत्ता नै परिवर्तन गरे, त्यो बहादुरीपूर्ण थियो भन्ने मलाई लाग्छ।'
उनले अगाडि भनिन्, 'देशमा यति धेरै जनधन क्षति भएको छ, लुटपाट भएको छ, अर्थतन्त्र डाँवाडोल छ। त्यो देख्दा चाहिँ अब कसरी सब ठिक होला भन्ने लागिरहेको छ। तर नयाँ पुस्तामा जुन चेतना बढेको छ, जसरी उनीहरू भत्किएका कुरा बनाउन लागिरहेका छन्, त्यो देख्दा आशावादी पनि छु।'
प्रियंकाझैं अलिशा सिजापति पनि देशमा जेन–जी आन्दोलन चल्दा विपश्यना ध्यानमा सहभागी थिइन्।
उनले आन्दोलन सुरू भएको चौथो दिन मात्र घटनाबारे जानकारी पाएकी थिइन्। सामाजिक सञ्जाल चहार्दा एकछिन त उनलाई झट्कै लाग्यो।
'आफू यो देशको मान्छे नै होइन कि क्या हो भन्ने भयो! एउटा शताब्दी नै छुटेजस्तो लाग्यो। आफ्नै देशमा भएर पनि, सहरबाट नजिक शिवपुरीमा हुँदा पनि यत्रो ठूलो क्रान्तिबारे बेखबर भएँ,' उनले भनिन्, 'अहिलेसम्म पनि त्यस घटनाका सबै भिडिओ र समाचारहरू मैले हेरेको–पढेको छैन। मेरो शरीर र दिमागले जसरी र जहिले त्यसलाई लिनसक्छ त्यसरी नै छाडिदिएको छु। हरेक दिन नयाँ–नयाँ कुरा भने सुनिरहेको, पढिरहेको छु।'
विपश्यनामा बिहान ४ बजे उठ्ने र राति ९ बजे सुत्ने नियम छ। घर फर्किएपछि भने उनी रातको २—३ बजेसम्म निदाउन सकेकी छैन।
अलिशा पत्रकार हुन्। उनले काठमाडौं पोस्ट र नेपाली टाइम्समा काम गरेकी छन्। पत्रकारका रूपमा यो समय धेरै कुरा 'मिस' गरेको उनलाई अनुभूति भइरहेको छ।
'म पत्रकारका रूपमा यहाँ उपस्थित हुन सकिनँ, तर विपश्यना जानुको पनि कारण छ भन्ने लागिरहेको छ,' उनले भनिन्।
अलिशा जेन–जीभन्दा अघिल्लो पुस्ताकी हुन्। जेन–जीहरूले भ्रष्टाचारविरूद्ध जुन प्रदर्शन गरे, त्यस विषयमा आफूलाई पनि आवाज उठाउने इच्छा भएको उनी बताउँछिन्।
उनी सम्पदा विषयमा लेख्छिन्। खासगरी नेपालबाट चोरी भएर विदेश लगिएका मूर्ति फिर्ता ल्याउने अभियानमा संलग्न छिन्। त्यस क्रममा धेरैपटक सरकारी बेथितिबाट निराश भएकी छन्।
'विदेशबाट आफ्नै मूर्ति फिर्ता ल्याउन पनि पैसा छैन भन्ने कुरा सुन्नुपर्थ्यो। हामीले गर्न खोजेको राम्रो कामका लागि पनि सरकारसँग पैसा छैन भने केका लागि छ त भन्ने लाग्थ्यो,' उनले गुनासो पोखिन्, 'कतिपय समय भ्रष्टाचार भइरहेको थाहा पाउँदा चुप लाग्नुपर्यो। जेन–जी आन्दोलनले अब त्यसरी चुप लागेर हुन्न भन्ने एक खालको हिम्मत र सन्देश दिएको छ।'
उनले अगाडि भनिन्, 'सुशीला कार्की अन्तरिम प्रधानमन्त्री हुँदैमा आजको भोलि ठूलो परिवर्तन आउने होइन। तर दशकौंदेखि ओली र देउवा नै प्रधानमन्त्री भइरहने जुन 'म्युजिकल चेयर' थियो, त्यो अन्त्य भएको छ। त्यसले अलिक आशा जागेको छ।'
विपश्यनाबाट बाहिर निस्किएपछि अलिशाले आन्दोलन गर्ने केही जेन–जी युवाहरूलाई भेटिन् र कुराकानी गरिन्। सहरमा जलेका, भत्किएका संरचनाहरू पनि देखिन्। आफूले काठमाडौं पोस्टमा रहँदा चार वर्ष काम गरेको भवन देख्दा भने निकै नरमाइलो लागेको उनले बताइन्।
'परिवर्तनमा कतिपय कुरा गुमाउनुपरे पनि बिस्तारै सब ठिक हुन्छ भन्ने आशा छ,' उनले भनिन्।
अलिशाका अनुसार विपश्यना ध्यानमा करिब १५० जना सहभागी थिए। तिनैमध्ये समृद्धराज सत्यालले सामाजिक सञ्जाल टिकटकबाट आफू विपश्यनाबाट फर्किएको जानकारी दिँदै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन्।
र, नयाँ इतिहास कायम भएकोमा खुसी व्यक्त गर्दै गाएका छन् — जहाँ छन् बुद्धका आँखा ...!
***