काठमाडौंसहित देशका विभिन्न सहरमा आगजनी भएका भाटभटेनी सुपर स्टोरमा अहिलेसम्म १२ जना मानिसका अस्थिपञ्जरहरू फेला परेका छन्।
फेला परेका अस्थिपञ्जरका केही हड्डी बाँकी छन्, केही खरानी भइसकेको अवस्थामा छन्।
यसरी फेला परेकामध्ये हालसम्म कोटेश्वर भाटभटेनीमा भेटिएको एक पुरूषको अस्थिपञ्जरको मात्र सनाखत भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार सो शव २२ वर्षीय विकास रसाइलीको हो। उनको घर रामेछाप खाँडादेवी गाउँपालिका–६ हो। उनी ललितपुरको च्यासलमा डेरा गरी बस्थे।
अहिले सबै अस्थिपञ्जरहरू महाराजगञ्ज टिचिङ अस्पतालको फरेन्सिक विभागमा राखिएका छन्।
त्यहाँ राखिएका अस्थिपञ्जरको दाबी गर्दै आफन्त आएमा डिएनए परीक्षण गरिने एसपी बोहराले बताए। कोही आएनन् भने पनि डिएनए परीक्षणका लागि नमूना निकालेर राखिनेछ।
'अहिले कसैको नमूना लिइएको छैन। आफन्त कोही आए भने परीक्षण गराइहाल्छौं। अब कोही नआएकाको हकमा नमूना निकालेर राखिरहन्छौं,' उनले भने।
नेपालमा हाल दुइवटा ठाउँमा मात्रै डिएनए परीक्षण हुन्छ — काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा र ललितपुरको खुमलटारमा रहेको नास्टको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा।
धेरैजसो चाहिँ सामाखुसीस्थित प्रहरीको प्रयोगशालामा पठाइन्छ।
डिएनए परीक्षण कसरी हुन्छ?
हामीले यसबारे प्रहरीको प्रयोगशालामा काम गरेका अवकाशप्राप्त पूर्वएसएसपी राकेशकुमार सिंहलाई सोध्यौं।
उनका अनुसार कसैको सनाखत गर्न कठिन भएमा डिएनए परीक्षणले सहज बनाउँछ।
'धेरै घटनामा प्रहरीको प्रयोगशालामा डिएनए परीक्षण गरी शवहरू सनाखत भएका छन्,' सिंहले भने।
प्रयोगशालामा बलात्कार, हत्या जस्ता गम्भीर अपराधका अपराधी पत्ता लगाउन पनि डिएनए परीक्षण गरिन्छ।
संसारमा डिएनए परीक्षण विभिन्न कामका लागि गरिन्छ। खासगरी व्यक्तिको पहिचान खुलाउन डिएनए परीक्षण नै उपयुक्त विधि हो।
सामान्यतया बच्चा र अभिभावकबीच अनुवांशिक सम्बन्ध पुष्टि गर्न, कुनै शव अनुहार वा शरीरबाट नचिनिने अवस्थामा भएको भए, जलेका वा अस्थिपञ्जर बाँकी रहेका शवहरू चिन्न यो विधि अपनाइन्छ। यसबाहेक रोग जोखिमको जानकारी पाउन, आफ्नो पूर्वज वा जातीय पृष्ठभूमि थाहा पाउन लगायत थुप्रै कामका लागि डिएनए परीक्षण गरिन्छ।
डिएनए रगत, रौं, हड्डी, दाँत, मुखको भित्री भाग, छाला लगायत शरीरका जैविक पदार्थको माध्यमबाट परीक्षण गर्न सकिन्छ। संकलन गरिएको नमूनाबाट विभिन्न रासायनिक प्रक्रियाबाट डिएनएका कोशिकाहरू निकालिन्छ। यसरी निकालिएको डिएनए सम्बन्धित व्यक्तिका आमा वा बुबाको डिएनएसँग तुलना गरिन्छ।
एकै आमाबुबाका अरू सन्तानसँग पनि डिएनए तुलना गर्न सकिन्छ। तर सहोदर दाजुभाइ, दिदीबहिनीमा पनि आधाजति मात्रै डिएनए मिल्ने भएकाले आमा वा बुबाको जस्तो पूर्ण यकिन नहुन सक्छ।
'डिएनए परीक्षण गर्न पाँच वटा चरण हुन्छन्। मेसिनबाट गर्ने भए पनि प्रक्रिया जटिल नै हुन्छ,' सिंहले भने।
प्रयोगशालामा हाल कार्यरत एक प्राविधिक अधिकारीका अनुसार हाल भाटभटेनीमा भेटिएका अधिकांश अस्थिपञ्जरको डिएनए परीक्षण कठिन हुन सक्छ।
'अहिलेसम्म कुनै नमूना आइसकेको त छैन, तर शवहरू जस्तो अवस्थामा छन् भनिएको छ, त्यसबाट त नमूना संकलन गर्न पनि मुस्किल हुन सक्छ। सामान्यतया हड्डीको सानो टुक्रा मात्र भए पनि परीक्षण सकिन्छ। तर जलेर खरानी भएको शवमा कोषहरू जलेका, सबै सुकेको भए जटिल हुन सक्छ।'
भाटभटेनीमा फेला परेका अधिकांश शव लामो समय उच्च तापक्रममा रहेका छन्। यसले गर्दा सनाखतमा चुनौती हुन सक्ने उनले बताए।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पहिलो पटक सन् २०१४ मा डिएनए परीक्षण सुरू भएको हो। पूर्वएसएसपी राकेशकुमार सिंहका अनुसार त्यति बेला डेनमार्क सरकारको सहयोगमा परीक्षण मेसिन ल्याइएको थियो।
'हामीले भारत गएर तालिम समेत लिएका थियौं,' उनले भने, 'तालिम लिएर आएको केही समयपछि भूकम्प गएको थियो।'
२०७२ सालको भूकम्पमा डिएनए परीक्षण मेसिन प्रयोग भएको थियो। सबभन्दा पहिले एक विदेशी नागरिकको डिएनए परीक्षण गरेको पूर्वएसएसपी सिंहले बताए।
बुधबार विकास रसाइलीको शव भने उनले प्रयोग गर्ने सिमकार्डका माध्यमबाट सनाखत हुन सकेको हो।
विकासले भाटभटेनी सुपर मार्केटमा आगो लागिरहेकै बेला आफ्ना बुबा पूर्णबहादुरलाई फोन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी बोहराले बताए।
फोनमा उनले 'म भाटभटेनीको चौथो तलामा ट्र्यापमा परेको (फसेको) छु' भनेका थिए।
आगजनीबाट ध्वस्त भइसकेको भाटभटेनीको चौथो तलामा उनको अस्थिपञ्जर छेउमा मोबाइलको सिमकार्ड फेला परेको थियो। सिमकार्ड जाँच गर्दा विकासकै भएकाले शव पनि उनकै हुनुपर्ने प्रहरीले निष्कर्ष निकालेको हो।
विकासको बाहेक ६ वटा अस्थिपञ्जर चुच्चेपाटीको, चार वटा धरानको र एउटा विराटनगरको भाटभटेनीमा फेला परेका छन्।
भदौ २४ गते भाटभटेनीका यी शाखाहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए। फेला परेको कुनै पनि अस्थिपञ्जर आफ्ना कर्मचारीको नभएको भाटभटेनीले प्रहरीलाई जानकारी गराएको छ।
'भाटभटेनीले त्यो दिन स्टोर बन्द भइसकेकाले आफ्ना कर्मचारी होइनन् भनेको छ। अन्य कोही पसेको हुन सक्छ,' नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले भने।
प्रहरीका अनुसार यी शवको पहिचान निम्ति डिएनए परीक्षण गरिने भएको छ। त्यसैले प्रहरीले कसैका आफन्त हराएको भए सम्पर्कमा आउन अनुरोध गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरमा बुधबारसम्म चार वटा निवेदन परेका छन्। सनाखत गर्न डिएनए परीक्षण भइसकेको भने छैन।