काभ्रेको रोशी गाउँपालिकामा रहेको मंगलटार खोलामा आएको बाढीले बिपी राजमार्ग अन्तर्गतको सडक खण्ड कटान गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार मंगलटार खोलाले बिपी राजमार्गको १५ देखि २० मिटर भाग कटान गरेको हो।
त्यस्तै माम्तीखोलामा बाढी आएको र बुलढुंगामा पहिरो खसेको छ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ को चारकिलोमा पनि सडक भासिएको छ।
धुलिखेलको खावा र ५४ किलोमा पहिरोका कारण आवतजावत बन्द भएको छ।
भक्तपुरको साँगामा पनि पहिरो खसेको छ। भक्तपुरको झोलुंगेपुल नजिकै पनि पहिरो खसेको कार्यालयका एसपी सुवेदीले जानकारी दिए।
उनका अनुसार पहिरो खस्दा आवतजावत रोकिएको छ।
'रोशी खोला किनारमा दर्जनौं ठाउँमा कटान भएको छ। मान्छे नै हिँड्न नमिल्ने गरी सडक कटान भएका छन्। सडकमा भएकाहरूलाई अघि नै फिर्ता बोलाएका थियौं। टिकट काउन्टरहरू पनि फिर्ता दिएका छन्। थप बुकिङ रोकिएका छन्,' एसपी सुवेदीले भने।