बीस वर्षअघि 'पल्पसा क्याफे' पढेपछि मैले थाहा पाएकी थिएँ— रङबाट पनि कथा भन्न सकिन्छ।
तर ती रङले भनेका कथा बुझिन्छ कसरी — यो प्रश्न मेरो मनमा वर्षौंसम्म घुमिरह्यो।
मैले चित्त बुझ्दो उत्तर भेटिनँ। गुगल र च्याट जिपिटीको जमानासम्मै एउटा उत्तर नभेटिनु अनौठो कुरा भएन त?
जब जब चित्रकलाको प्रसंग आउँथ्यो, तब तब म यो प्रश्न गर्थेँ।
शुक्रबार अटिजम भएका व्यक्तिहरूले बनाएका चित्रकलाको प्रदर्शनी हलमा भेटिएका चित्रकार कैलाश श्रेष्ठलाई मैले यो प्रश्न सोधिहालेँ।
उनले के भने, त्यो भन्नुअघि म यो चित्रकला प्रदर्शनीबारे भन्छु।
जावलाखेलस्थित अलाइन्स फ्रान्सियस दि काठमाडौंको ग्यालरीको हलमा आकार फाउन्डेसनले यो चित्रकला प्रदर्शनी गरेको हो।
आकारले अटिजम भएकाहरूको काम पनि अर्थपूर्ण बनाउन सकिन्छ भन्ने सन्देश दिन यो चित्रकला प्रदर्शनी गरेको बताएको छ।
अटिजम वा फरक क्षमता भएका व्यक्तिहरूको सिर्जनशीलता प्रवर्द्धन गरेर उनीहरूप्रति समाजमा व्याप्त गलत धारणा हटाउनु यसको उद्देश्य हो।
फाउन्डेसनका अध्यक्ष अर्चना शाहका अनुसार प्रदर्शनीमा बिक्री भएका चित्रकलाको आधाभन्दा बढी रकम चित्र बनाउने कलाकारहरूले नै पाउँछन्।
'चित्रकला बिक्यो भने हामीले त्यो फ्रेम गर्न लागेको लागत कटाएर कलाकारका अभिभावकलाई दिन्छौं,' उनले भनिन्, 'अटिजम भएकाहरूको सीप र क्षमता विकास गर्ने हो भने उनीहरूको कामलाई आयसँग पनि जोड्नुपर्छ र उनीहरूले गर्न सक्छन् है भन्ने सन्देश दिन यो अवधारणामा काम गरेका हौं।'
प्रदर्शनीमा २० वटा चित्रकला छन्।
चित्रकार कैलाशका अनुसार अटिजम भएका व्यक्तिहरूले उनको यही ग्यालरीमा भएको वर्कसप चित्रकलाको काम गरेका थिए। उनीहरूलाई रातो, कालो, नीलो र हरियो गरी जम्मा चार रङ दिइएको थियो। चित्र बनाउने कागज पनि दिइयो।
तिनै रङ मिसाएर उनीहरूले कागजमा आफूलाई जसरी अभिव्यक्त गरे, यी चित्रकला तिनै हुन्।

कैलाशलाई मैले यी रङहरूको अर्थ कसरी बुझ्ने भनेर सोधेँ। उनी मुसुक्क हाँसे मात्र।
मैले फेरि भित्तामा झुन्ड्याइएको एउटा चित्रकला देखाउँदै सोधेँ, 'त्यो चित्रकलाको अर्थ के हो?'
मुस्काउँदै उनले भने, 'खासमा हामीले ठूला ठूला गहिरा जटिल कुरा खोज्छौं क्या! सधैं सबै कुराको अर्थ जटिल हुँदैन। साधारण हुन्छ। अर्थ हुनैपर्छ भन्ने पनि त छैन। यहाँका चित्रको अर्थ नहुन पनि सक्छ!'
मैले देखाएको चित्र पनि नहेरी उनले जबाफ दिएका थिए।
त्यसैले मैले फेरि सोधेँ, 'तर पनि, चित्रकला कसरी बुझ्ने त?'
'तपाईं आफ्ना पूर्वधारणा बिसाएर हेर्नुहोस्। तपाईंको मनमा जस्तो भावना आउँछ, यिनको अर्थ त्यहीँ भेट्नुहुन्छ,' उनले भने।
त्यही बेला पछाडिपट्टिबाट एक महिलाको आवाज आयो — यसले यति राम्रो आर्ट बनाउन सक्ने रहेछ, मलाई नै थाहा थिएन!
एकछिनमा उनी र अरू केही मानिस कैलाश नजिकै आए।
ती महिला एक अटिजम भएका व्यक्तिकी आमा थिइन्। र, ती व्यक्ति तिनै चित्र बनाउनेमध्ये एक कलाकार। उनकै चित्र हेरेर आमा छक्क परेकी थिइन्।
आमाले उनका छोरालाई कैलाशसँग भेटाइन्। तर उनले आफ्ना 'मेन्टर' कैलाशलाई चिनेनन्। वा, भन्न सकेनन्। हेरिरहे।
उनी आफैले बनाएको र अरूका चित्र पनि त्यसरी नै हेरिरहेका थिए। उनका ठूला आँखाले के भन्न खोजिरहेका छन्, अरूले बुझ्दैनथे।
अटिजम भएकाहरूमध्ये कतिले आफैले बनाएको चित्रकला र तिनको रङ थाहा नपाउन सक्छन्। रङका अर्थ नबुझ्न सक्छन्।
मैले कैलाशलाई सोधेँ, 'प्रत्येक रङका स्थापित अर्थहरू छन् नि? जस्तो क्रान्तिको रङ रातो, शान्तिको रङ निलो भन्छन्। सेतो र कालोको छुट्टै अर्थ छ। समाज वा आर्ट्स स्कुलहरूमा पढाइने ती अर्थको यहाँ कुनै अर्थ छैन?'
'हो, स्थापित मान्यताहरू छन्। तर तिनले मात्र कुनै चित्रकलालाई पूरै अर्थ दिँदैनन्,' उनले भने, 'कुन भावना व्यक्त गर्न कुन रङ प्रयोग गर्ने भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन सक्छ। वा, कुन रङले कसलाई के प्रभाव पार्छ भन्ने कुरा हो।'

आफूले कुन रङ प्रयोग किन गरिरहेको छु भन्ने थाहै पाउँदैनन् भने यी चित्रमार्फत कसरी उनीहरूले आफ्ना कथा भन्छन् त?
मेरो यो प्रश्नपछि कैलाशले भित्तातिर हेरे र भने, 'ऊ त्यो चित्र हेर्नुहोस् त। त्यो चित्र दिप्तांशुले बनाएका हुन्। उनी ग्यालरीमा आए र गीत गुनगुनाउँदै रङहरू मिसाए। क्यानभास कोरे। बढो भावनात्मक हुँदै त्यसमा केही रङ मिसाए। अनि अन्तिममा एउटा रङ स्वाट्ट थपे र भने – ल भयो। उनले आफूले के बनाएको हुँ त भन्न सक्दैनन्। तर त्यो उनको अभिव्यक्ति हो भन्ने हामीले बुझ्नुपर्यो।'
उनले अगाडि भने, 'खासमा यी सबै चित्रकला उनीहरूका अभिव्यक्तिको, प्रतिक्रियाको रेकर्ड हो।'
प्रदर्शनीमा आफ्नो मन्तव्य दिने क्रममा कैलाशले अटिजम भएका व्यक्तिहरूसँग काम गर्दा उनीहरूको भावना अभिव्यक्त गर्ने छुट्टै तरिका हुने रहेछ भनेर आफूले बुझेको बताए।
'हरेक बच्चाको सिकाइ प्रक्रिया नै कलाबाट सुरू हुन्छ। तर हामीकहाँ त्यसले मान्यता पाउन सकेको छैन। अटिजम भएकाहरूसँग काम गर्दा मैले थाहा पाएँ, उनीहरू कोही बोल्न सक्दैनन् तर अभिव्यक्ति उनीहरूको पनि हुन्छ,' उनले भने।
अटिजम भएका व्यक्तिहरूलाई, उनीहरूका सिर्जनाहरूलाई अरू कसैले आफ्नो अनुसारको बनाउने कोसिस नगर्न पनि कैलाश सुझाउँछन्। बरू उनीहरूप्रतिको धारणा फेर्न जरूरी भएको उनले बताए।
'त्यसैले उनीहरूलाई सिकाउन दबाब नदिनू, बरू उनीहरूको अभिव्यक्ति बुझ्न कोसिस गर्नू। उनीहरूलाई अभिव्यक्त हुन हाम्रो सहयोग चाहिएको छ भने त्यो दिनू। तर आफूजस्तो बनाउन नखोज्नू, नबनाउनू,' उनले भने।
उनले प्रदर्शनीमा राखिएका सबै चित्रहरू 'युनिक' भएको र सबैका आ–आफ्नै अभिव्यक्ति र कथा भएको बताए।
उनले एक कलाकार अभिनवको चित्रकला देखाउँदै भने — उनी जहिले पनि थुकले औंला भिजाउँथे र त्यसलाई भुइँमा रहेको कागज वा भित्तामा टाँसेर रमाइलो मान्थे। उनलाई हामीले दिएका चार रङमा औंला चोब्दै कागजमा टाँसे। रङसँगको त्यो उनको पहिलो प्रतिक्रियाको रेकर्ड हो। उनको अभिव्यक्तिको कथा हो।

कैलाशले अर्को चित्र देखाउँदै भने, 'यी बच्चाले रङ भेट्टायो कि मुखमा हाल्थे। रंगीन पेन्सिल, साइनपेन मुखमा हाल्ने बानी छ। उनले एक दिन ग्यालरीमा आएर कागजमा रङ कोरे। उनी आफ्नो कामबाट आफै अचम्मित भए!'
'हामीले रूख, बिरूवा, गाईभैंसीका तस्बिरलाई कला भनेर बुझ्दै आयौं। बाहिरी कुरा मात्र होइन, मान्छेको मनमा के चलिरहेको छ भन्ने कुरा पनि हेर्न आवश्यक हुन्छ। तर हामीभित्रको भावना निकै अमूर्त हुन्छ। त्यसलाई रङले नै सबभन्दा शक्तिशाली तरिकाले अभिव्यक्त गर्न सक्छ।'
कैलाशले अन्तिममा दर्शकलाई सुझाए – त्यसैले यी चित्रकला आफू भएर हेर्नुहोला। हामी धेरैजसो अरूद्वारा पूर्वनिर्धारित अर्थ खोजिरहेका हुन्छौं। तर त्यसरी हेरर चित्रकलाको मर्म भेटिँदैन। तपाईंले अरूको नजर, विचार वा पूर्वनिर्धारित धारणा बिसाएर आफू भएर हेर्नुभयो भने मात्र यी चित्रमा भएका फरक फरक व्यक्तिका भावना र अभिव्यक्ति देख्नुहुनेछ।
उनले थप भने, 'आफ्नो नजरले खुला भएर हेर्दा यी रङले तपाईंलाई जस्तो भावना दिन्छन् वा कल्पना दिन्छन्, त्यसलाई बुझ्न खोज्नुहोला। त्यसले नै तपाईंलाई उनीहरूको अभिव्यक्तिको नजिक लैजाने छ।'
कैलाशले प्रदर्शनीमा आएका दर्शकहरूलाई आफ्नो मन्तव्य दिँदा आफ्ना मेन्टरले भनेको कुरा पनि सुनाए।
उनकी मेन्टरले एक पटक भनेकी थिइन् रे — यी रङलाई रङ नभनेर भावना भनिएको भए हुन्थ्यो है?
सबै तस्बिरः सुरज सिलवाल