अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ।
ब्युरोमा नेपालविरूद्ध उजुरी परेपछि सोमबार ब्युरोले उनलाई फोन गरी बोलाएको हो।
ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनीविरूद्ध उजुरी परेपछि सोधपुछका लागि बोलाइएको हो।
‘उहाँविरूद्ध उजुरी परेकाले सोधपुछका लागि बोलाएका हौं। तिहारपछि आउँछु भन्नुभएको छ। अहिलेको अवस्थामा अनर्गल अभिव्यक्तिहरू आएका छन्। त्यही विषयमा हो,’ उनले भने।
स्वागत नेपालले पनि सोमबार साँझ एक भिडिओ राखेर आफूलाई साइबर ब्युरोबाट फोन आएको बताएका छन्।
आफूलाई तिहार मनाएर आउने वा अहिले आउने भनेर सोधेको पनि उनले भिडिओमा बताएका छन्। आफूले भाइटिका सकेर उपस्थित हुने भनेर जानकारी गराएको उनले बताएका छन्।
‘म आइहाल्नु पर्ला कि! आउँ कि हजुर भने! उनले तिहारको बेला छ, तिहार मनाउनुहुन्छ कि भनेर सोध्नुभयो। ठीकै छ भाइटिकामा दिदीबहिनीको हातबाट टिका लगाउँछु। आज लक्ष्मी पूजा छ, पूजा पनि गर्छु भने। उताबाट ठीकै छ तिहार मनाउनुस् भन्नुभयो,’ उनले भने।
उनले सार्वजनिक गरेको भिडिओमा आफूले पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि नैतिकताको प्रश्न उठाएकाले उजुरी गरिएको बताएका छन्।
‘प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताको सम्बन्धमा मैले सञ्चारमाध्यममा उठाएका प्रश्नहरूका कारण थियो। मैले उठाएका प्रश्नहरू सुशीला कार्कीमात्रै होइन संसारका सबै प्रधानन्यायाधीश सबैभन्दा बढी नैतिकताको अपेक्षा गरिने पदमा रहने व्यक्ति हो। राष्ट्रपतिको भन्दा पनि नैतिकताको अपेक्षा प्रधानन्यायाधीशबाट गरिन्छ। किनकी राष्ट्रपति राजनीतिक पद हो ढुंगामुढा, गुण्डागर्दी, तिकडम, षड्यन्त्रबाट पनि आउन सक्छ। प्रधानन्यायाधीश भनेको राष्ट्रपतिले पनि नैतिकता छाडेपछि सिकाउने पद हो,’ उनले भने।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान विपरीत काम गरेको उनको तर्क छ।
‘तर सबैभन्दा अनैतिक उदाहरण उहाँ (सुशीला कार्की)ले देखाउनुभयो। यसकारण उहाँले यो संविधान रहुन्जेलसम्म भविष्यमा पनि कहिल्यै संसद भन्दा बाहिरको मान्छे प्रधानमन्त्री बन्न सक्दैन भन्ने नजिर कायम भइसकेको छ,’ उनले भने।