बर्दियामा मर्निङ वाकमा निस्किएकी एक वृद्धा महिलाको डुबेर मृत्यु भएको छ।
मधुवन नगरपालिका–४ बाँदर भरियाकी ७० वर्षीया बचनदया थारू बबई सिँचाइ नहरमा शुक्रबार बिहान मृत फेला परेकी हुन्।
बिहान घरबाट मर्निङ वाक गर्न निस्केकी उनी घरदेखि करिब २ किलोमिटर दक्षिण पश्चिममा पर्ने मधुवन–५ स्थित ८ नम्बर गाउँमा पर्ने त्रिवेणी सामुदायिक वन नजिकै डुबेर मृत्यु भएको देखेपछि प्रहरीलाई स्थानीयले बिहान ७ बजेतिर खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनका अनुसार थारू बिहान उठ्नासाथ सधैं नहरमा मुख धुन जाने गर्थिन्।
सोही नहरमा मुख धुने क्रममा सुन्तलन खलबलिन पुगेर नहरमा खसेपछि उनको डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। नहरमा ठूलो पानी भएका कारण बगेर उनी झन्डै १८०० मिटर टाढा पुगेको अवस्थामा शव फेला परेको ढोढरीका प्रमुख सेनले बताए।
‘उहाँका छोराहरूका अनुसार उहाँ सधैं बिहान उठ्नासाथ मुख धुन नहरमा जाने गर्नु हुँदो रहेछ,’ सेनले भने, ‘शुक्रबार पनि बिहानै उठेर नहरमा मुख धुन गएको भन्ने कुरा छोराहरूले गर्नु भएको छ।’
चिकित्सकले उनलाई मदिरा सेवन नगर्न आग्रह गरेको भए पनि तिहारको समयमा उनले मदिरा पनि सेवन गरेको छोराहरूले बताएका छन्।
थारूका श्रीमानको करिब एक डेढ वर्ष पहिला मृत्यु भएको थियो।
थारूको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।