हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले भदौ २४ गतेको घटनामा आफ्नो संलग्नता नरहेको प्रष्टीकरण दिएका छन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड तथा आगजनीमा कलाकार गिरी पनि संलग्न रहेको भन्दै तस्बिर सार्वजनिक भएको थियो। गिरीले त्यसको खण्डन गरेका हुन्।
‘त्यस दिन गणेश कार्की (रास्वपा नेता) भाइले फोन गरेर सर्वपक्षीय सानो भेला छ, बानेश्वरमा कलाकारको रूपमा तपाइहरू पनि आउनुस् भन्नुभयो, त्यसपछि म घरबाट हिडेँ, त्यतिबेला बाहिर सामान्य तोडफोड सुरू भैसकेको थियो। बानेश्वर जाने बाटोमा पर्दो रहेछ त्यो घर। कसको घर हो त्यो पनि थाहा थिएन। त्यहाँ केही रमिते केटाहरूले तोडफोड भइसकेको घर हेरिरहेका थिए। मलाइ हात हल्लाए फोटो पनि खिची नै रहेका थिए। भएको त त्यति नै थियो तर अहिले त्यो बाटोमा हिँडिहेको फोटो हालेर आफ्नै शैलीको राम्रो कथा बुनेछन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले हरेक परिवर्तनको आन्दोलनमा झैं यसपटक पनि आफ्नो नैतिक समर्थन रहेको बताएका छन्।
‘यदी त्यो अपराध हो भने अपराध त भयो नै,’ उनले भनेका छन्।