अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान दुर्घटना भएको छ।
आइतबार दिउँसो दक्षिण चीन सागरमा अभ्यासका क्रममा अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान छुट्टाछुट्टै समयमा दुर्घटना भएको हो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच-६०आर सिहक हेलिकप्टर उड्दाउड्दै दक्षिण चीन सागरमा खसेको थियो।
नौसेनाको स्क्वाड्रन-७३ एकाइको उक्त हेलिकप्टरमा चालक दलका तीन सदस्य थिए। तीनै जनालाई सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनालाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
हेलिकप्टर दुर्घटना भएको आधा घन्टापछि लडाकू विमान पनि खसेको थियो।
करिव सवा ३ बजे फाइटिङ रेडकक्समा आबद्ध रहेको एफए-१८एफ सुपर हर्नेट लडाकू विमान पनि सोही सागरमा खसेको थियो।
लडाकू विमानको चालक दलका दुई सदस्यलाई पनि सुरक्षित उद्धार गरिएको सिएनएनले जनाएको छ।
हेलिकप्टर र लडाकू विमान युएसएस निमित्ज नाम दिइएको युद्धपोतबाट उडाइएको थियो।
दुवै घटनाका कारणबारे नौसेनाले छानबिन सुरु गरेको छ।
दक्षिण चीन सागरमा चीनसहित विभिन्न दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले आ–आफ्नो दाबी गर्दै आएका छन्।
तर बेइजिङले करिब सम्पूर्ण समुद्री क्षेत्रमाथि आफ्नो स्वामित्व दाबी गर्दै आएको छ, जुन विषयमा अन्तर्राष्ट्रिय अदालतले पहिले नै चीनको दाबी अस्वीकार गरिसकेको छ।
गत दुई दशकमा चीनले सो क्षेत्रमा सैन्य पूर्वाधारहरू निर्माण गर्दै आएको छ।
जसले अमेरिकी नौसेनाको स्वतन्त्र आवागमनको प्रयासलाई चुनौती दिएको बताइन्छ। अमेरिकी नौसेनाका अभ्यासहरू पनि चीनको समुद्री प्रभावलाई सन्तुलनमा राख्ने वाशिङ्टनको दीर्घकालीन रणनीतिसँग जोडिएका छन्।
यी दुर्घटनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एशिया भ्रमणकै बीचमा भएका हुन्।
ट्रम्पले यस साता चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार केन्द्रित वार्ता गर्ने तय भइसकेको छ।
यसअघि वसन्त ऋतुमा पनि अमेरिकी नौसेनाका दुई सुपर हर्नेट जेट रेड सागरमा हराएका थिए।
एक सुपर हर्नेटको मूल्य करिब ६ करोड अमेरिकी डलर पर्ने नौसेनाले जनाएको छ।
विश्वकै सबैभन्दा ठूलो युद्धपोतमध्ये एक मानिने ‘यूएसएस निमिट्ज’ अमेरिकी नौसेनाको सबैभन्दा पुरानो विमानवाहक युद्धपोत हो। यसलाई आगामी वर्ष सेवा निवृत्त गरिने तयारी रहेको सिएनएनले जनाएको छ।