जाडो छल्न विगतमा झैं यस वर्ष पनि पर्यटक चरा नेपाल आइपुगेका छन्। उत्तरी ध्रुवमा हिमपातको सुरूआतसँगै हिउँदे यामको बढ्दो जाडो छल्न त्यहाँका कतिपय चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा सयौँ प्रजातिका चरा नेपाल आइपुगेका छन्।
विगतका विवरण हेर्दा असोज दोस्रो सातादेखि यहाँ आउन थालेका पर्यटक चरा करिब छ महिना नेपाल रहने र त्यसपछि फर्कने चिनियाँ विज्ञान प्रतिष्ठानका उपप्राध्यापक एवं चरा अनुसन्धानकर्ता डा हेमबहादुर कटुवालले बताए। ‘बर्सेनि करिब १५० प्रजातिका चरा रुस, कीर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेका छन् । त्यसमध्ये केही प्रजातिका चरा नेपालको बाटो हुँदै दक्षिण भारतसम्म जाने गर्दछन्,’ उनले भने।
नेपाललाई आकर्षक र सुरक्षित गन्तव्य मानेर आउने पर्यटक चरा विगतका वर्षमाभन्दा घट्दो क्रममा रहेकाले बासस्थान सुरक्षित र व्यवस्थित गर्न सबै सरोकार भएका निकाय लाग्नुपर्नेमा उपप्रध्यापक कटुवालले जोड दिए। उनका अनुसार सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान मानिन्छ ।
कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउनेक्रम थपिए पनि विगतका वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। उनका अनुसार विशेष गरी जाडो छल्न र बच्चा कोरल्न पाहुना चराको आकर्षक गन्तव्य नेपाल बन्ने गरेको छ। हजारौँको संख्यामा आउने बार हेडेड गुस (खोया हाँस) को संख्या भने पछिल्लो समय घट्दै गएको उनको भनाइ छ।
जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा प्रायः रहने प्रमुख गौतमले जानकारी दिए।
उनका अनुसार जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । खाया हाँस, सुनजुरे हाँस, कैलो टाउके हाँस, मादक हाँस, खडखडे हाँस, हरियो टाउके हाँस, लक्ष्मण सारस, क¥याङकुरुङ सारस, राजहुटिट्याउलगाउत चरा यहाँ आउने उनले जानकारी दिए। अन्य प्रजातिमा सिकारी तथा मांशहारी चरामा गोमायु महाचिल र श्येनबाज पर्दछन् भने थलचर चरामा हिमाली भद्राई, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, बगाले बगेडीलगायत पर्दछन्।
‘गर्मी याममा आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन्। यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ। नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले आफ्नो गुँड बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन्। उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ,’ प्रमुख गौतमले भने।
नेपाल आउने अन्य चरामा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायत रहेका उनले जानकारी दिए। ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान वन, आसपासका घाँसे मैदान, कृषि भूमिलगायत क्षेत्र हुने कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले उल्लेख गरे।