इसराइलको हवाई हमलाबाट गजामा एक सयजना भन्दा बढी मानिसको मृत्यु भएको छ।
बुधबार र बिहीबार इसराइलले गजा सिटी, खान युनिस, बेतलाहिया लगायत विभिन्न भूभागमा हवाई हमला गर्दा १०४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
उत्तरी गजामा हमासले हतियार भण्डारण गरेको र त्यसलाई निस्तेज पार्नका लागि हवाई आक्रमण गरेको भनेको छ।
इसराइलले गजामा हमास लक्षित हवाई हमला गर्नुमा अर्को कारण पनि बताएको छ।
गजामा युद्धविराम घोषणा भएपछि इसराइली सेनाले गजा छाडेको छ। उनीहरूले सीमानामा नियन्त्रण रेखा कायम गरी त्यहाँबाटै गजामा भइरहेका क्रियाकलापहरू नियाल्दै आइरहेका छन्।
हमासका एक लडाकूले गोली हानेर एक इसराइली सैनिकको हत्या गरेकाले त्यसको जबाफमा हमासमाथि कारबाही गरेको आइडिएफले जनाएको छ।
इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले नै हमासले युद्धविराम उल्लंघन गरेको भन्दै ऊमाथि आक्रमण गर्न निर्देशन दिएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इसराइलले गजामा हमासलक्षित कारबाही गर्नु अनुचित नहुने बताएका छन्।
'उनीहरुको सेना मारिदिएको छ। जबाफी कारबाही गर्न पाउँछन्। त्यो उनीहरुको अधिकार हो। हमास सानो आकारमा छ त्यसकारण उसले आफ्नो गतिविधि सोचविचार गरेर अघि बढाउनुपर्छ,' ट्रम्पले भनेका थिए।
गजामा हवाई हमला गरेको इसराइलले अमेरिकी मध्यस्थतामा भएको युद्धविराममा भने आफू प्रतिबद्ध रहेको बताएको छ। यद्यपि उसले युद्धविरामको मर्मविपरीत गजामा हमला भने गरिरहेको छ।
ट्रम्पले पनि हमासलक्षित कारबाहीका कारण युद्धविराम नबिथोलिने बताएका छन्।
गजामा युद्धविराम भएपछि लाखौं प्यालेस्टिनीहरू गजामा फर्किएका छन्। इसराइलले हमला गर्न थालेपछि उनीहरूले असुरक्षित महसुस गर्न थालेका छन्।
युद्धविरामपछि हमासले सबै जीवित बन्धकहरू हस्तान्तरण गरिसकेको छ। मृत्यु भएकाहरूको शव पनि हस्तान्तरण गरेको थियो। मृत्यु भएका २८ मध्ये अझै धेरैको शव फिर्ता गर्न बाँकी छ।
इसराइलले ती शवहरू चाँडै हस्तान्तरण गर्न भनिरहेको छ भने हमासले भने शवको पहिचान र खोजीका लागि समय लाग्ने बताउँदै आएको छ।
यसलाई पनि इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।
त्यस्तै इसराइलले गजामा हमासका कमान्डरलाई लक्ष्य गरेर हमला गरेको दाबी पनि गरेको छ। इसराइलले सन् २०२३ को अक्टोबर ७ मा इसराइलमाथि हमला गर्नेमध्येका एक जना गजामा रहेको र यसलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ।
हमासले भने इसराइलको उक्त दाबी खण्डन गरेको छ।
इसराइली आक्रमणबाट गजामा झन्डै ७० हजार मानिसहरूको मृत्यु भइसकेको छ।