जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको मौसममा तीन प्रणालीको प्रभाव देखिएको छ।
नेपालको मौसम प्रणालीमा पाँच दिनदेखि अरब सागर आसपास बनेको न्यून चापीय (पानी पार्ने) प्रणालीको प्रभाव रहेको थियो। त्यसको प्रभाव मत्थर भइसकेको छैन। त्यस्तै यसबीचमै स्थानीय प्रणाली पनि बनेको छ।
बिहीबार बिहानदेखि बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव पनि देखिएको छ।
यी तीनै वटा मौसम प्रणालीको प्रभावले काठमाडौं उपत्यका सहित देशका मध्यदेखि पूर्वी भूभागसम्म बिहानैदेखि वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार बिहान छिटपुट वर्षा भए पनि अहिले मध्यम वर्षा भइरहेको छ।
पछिल्लो २४ घन्टामा उदयपुरगढी केन्द्रमा ४५.२, मुर्कुची बजारमा ४३.८, कमला रिभर केन्द्रमा ३९, गोलबजारमा ३७.४, तुर्केघाटमा ३६.८, धनकुटाको त्रिवेणीमा ३६.४, तुम्लिङटासमा ३२.४ मिलिमिटर वर्षा भएको छ। वर्षा गण्डकी, बागमती, कोशी, र मधेसका अधिकांश जिल्लामा भइरहेको छ।
मौसम सम्बन्धी जानकार उज्ज्वल उपाध्यायले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहीबार बिहान ४ बजेदेखि वर्षा भइरहेको बताएका छन्। अहिले भइरहेको वर्षा बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको असरभन्दा पनि पश्चिमी वायुकै गतिविधिले भएको उनको भनाइ छ।
‘बाहिरिन बाँकी रहेको यस वर्षा प्रणालीमा ‘मोन्था’ आँधीको आंशिक प्रभाव मिसिनाले वर्षा अझै ठूलो भएको हो,’ उनले भने।
मोन्था आँधीको प्रभाव आज बिहीबार अपराह्न मात्रै पूर्ण रूपमा सक्रिय हुने उनले बताए। जसका कारण मेचीदेखि गण्डकीसम्म ठूलो वर्षा प्रक्षेपण गरिएको छ। उच्च हिमाली भेगमा भारी हिमपात हुने उनले बताएका छन्।
‘आज र भोलि यात्रा नगर्नु हुन अनुरोध छ। आज अपराह्नदेखि हवाई सेवाहरू पनि प्रभावित हुन सक्नेछ,’ उनले भनेका छन्।
मौसमविद् विनोद पोखरेलले मोन्था चक्रवातको प्रभावले बुधबार बेलुकादेखि पूर्वी नेपाल र बिहानदेखि गण्डकीदेखि पूर्वका सबै भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताए।
‘यो त ट्रेलर मात्र हो है, न्यून चापीय प्रणाली अझै नेपालबाट धेरै टाढा छ। यो प्रणालीले आज रातिदेखि भोलिसम्म धेरै ठाउँमा भरी वर्षा गराउने सम्भावना राम्रै छ,’ उनले भनेका छन्।
उनका अनुसार काठमाडौंमा लगभग २४ घन्टासम्म पानी पर्ने प्रक्षेपण छ। मधेस र कोशीमा ३६ घन्टासम्म वर्षा हुने विभिन्न मोडलले देखाएको उनले बताएका छन्।
विपदविद् धर्म उप्रेतीले पनि मोन्थाको प्रभाव सुरू भएको बताएका छन्।
काठमाडौं लगायत पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले बताएका छन्।
‘अब लगातार वर्षा हुन्छ। दिउँसो र राति थप सक्रिय हुनेछ। शुक्रबार बिहानैदेखि वर्षा अझ बढ्ने देखिन्छ। मनसुनकै झझल्को दिनेछ,’ उनले भने।
जल तथा मौसम विज्ञान विभागले बिहीबार कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्ने बताएको छ। त्यस्तै गोरखा, नवलपुर, नवलपरासी, रूपन्देहीमा सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ।
विभागले कपिलवस्तु, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्लामा मौसम सम्बन्धी सूचनामा अद्यावधिक रहन सुझाव दिएको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा अधिकांश बदली रही तराई भू–भागमा साधारणतया बदली रहने बताएको छ।
कोशी, मधेस, बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रहनेछ।
तराई भू–भागमा अधिकांश बदली रहने छ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ।
बिहीबार देशका सबैजसो सहरहरूमा पानी पर्ने विभागको भनाइ छ। जसका कारण अधिकांश स्थानमा चिसो बढ्ने देखिएको छ।
बिहीबार सबैभन्दा बढी तापक्रम धनगढीमा (३१ डिग्रीसम्म) पुग्न सक्छ भने सबैभन्दा कम आज राति जोमसोममा (एक डिग्रीसम्म) पुग्ने देखएको छ।